सेडा कपको दोस्रो संस्करण हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ मंसिर ।
सेडा फुटसल कपको दोस्रो संस्करण आगामी शुक्रवारदेखि सुरु हुने भएको छ । सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतको आयोजनामा अन्तरविद्यालयस्तरीय दोस्रो सेडा अन्तरविद्यालय फुटसल कप हुन लागेको हो ।
प्रतियोगिता यही मंसिर २८ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सिनियर छात्र तथा छात्रा र जुनियर छात्रबीच छुट्टाछुट्टै खेल हुने सेडाका प्रिन्सिपल रूपेश भण्डारीले जानकारी दिए । सिनियरतर्फ कक्षा ७ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यस्तै जुनियरतर्फ कक्षा ३ देखि ६ सम्मकाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । विद्यार्थीहरूको फुटसल खेल क्षमता उजागर गर्नका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
‘बालबालिकाहरूलाई खेलकुदमा सहभागी गराउनुका साथै सुर्खेतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पु¥याउनका लागि हामीले प्रतियोगिताको सुरुवात गरेका हौं’ प्रिन्सिपल भण्डारीले भने । उनका अनुसार प्रतियोगितामा जिल्लाका जुनसुकै सामुदायिक तथा संस्थागत विद्यालयहरूले सहभागिता जनाउन सक्नेछन् । ५० वटाभन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ ।
सहभागिता जनाउन चाहने विद्यालयहरूका लागि विद्यालयबाट फाराम वितरण भइरहेको जनाइएको छ । जसमा सिनियर छात्रका लागि दुई हजार तथा छात्रा र जुनियर छात्रका लागि समान एक हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको छ । प्रतियोगितामा ५० हजार रूपैयाँ बराबरको पुरस्कार वितरण गरिनेछ । ट्रफी, मेडेल्स, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ ।
विद्यार्थीहरूलाई पाठ्यक्रममा आधारित ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराउन प्रतियोगिताको आयोजना गरिएको सेडाका अध्यक्ष माधवप्रसाद खनालले बताए । उनले अहिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा प्रदेशस्तरीय र राष्ट्रिय बनाउने लक्ष्य लिइएको समेत जनाए । फुटसल कपको दोस्रो संस्करण केही समयअघि दुर्घटनामा परी निधन भएका सोही विद्यालयका विद्यार्थी प्रदिप अधिकारीको सम्झनामा आयोजना गरिएको
जनाइएको छ । सेडाले गत वर्षदेखि यो प्रतियोगिताको सुरुवात गरेको हो ।

प्रकाशित मितिः   २६ मंसिर २०७५, बुधबार १५:३४