६ दिनदेखि सुरक्षा घेरामा ‘एमयू’
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ मंसिर ।
शैक्षिक संस्थालाई शान्ति क्षेत्रको रूपमा घोषणा गरिएको छ । जहाँ कुनै राजनीतिक गतिविधिदेखि बन्द, हड्ताल लगायतका कार्य गर्न पाइदैंन । तर सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) भने विगत पाँच दिनदेखि विद्यार्थी आन्दोलनको चपेटामा मात्र परेको छैन, प्रहरीको सुरक्षा घेरामा छ । गत आइतवारदेखि विश्वविद्यालयमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ललाई पदबाट निलम्वन गरिएको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गत आइतवारदेखि आन्दोलनको घोषणा गरेको छ । उक्त आन्दोलनका क्रममा झडप हुने अवस्था सिर्जना भएपछि विश्वविद्यालयमा प्रहरी परिचालन गरिएको हो । त्यसयता निरन्तर प्रहरीले एमयूलाई सुरक्षा प्रदान गरिरहेको छ ।
शैक्षिक संस्थामा लामो समयदेखि प्रहरी परिचालन गर्नु उपयुक्त नहुने विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन् । ‘शैक्षिक संस्थामा सुरक्षाकर्मी तैनाथ गरिनु राम्रो होइन’ एक उप–प्राध्यापकले भने, ‘यसले विद्यार्थीहरूको मनोविज्ञानमा समेत नकारात्मक असर पार्दछ ।’ आन्दोलनमा उत्रिएका विद्यार्थी र प्राध्यापकहरू पनि संयमित हुनुपर्ने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले विश्वविद्यालयमा झडप हुनसक्ने अवस्था सिर्जना भएकाले त्यसलाई रोक्न प्रहरी खटाएको बताए । ‘विश्वविद्यालयमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी खटाएको हो,’ उनले भने, ‘विश्वविद्यालयमा भइरहेको आन्दोलन सकिएपछि प्रहरी खटाउन आवश्यक नै छैन ।’ आन्दोलनकै क्रममा प्रहरीले १४ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर छोडेको थियो ।
आन्दोलनले पढाइ प्रभावित
विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र पूर्व रजिस्ट्रार मल्लबीच मनमुटाव भएपछि रजिस्ट्रार मल्ललाई कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् निलम्बन गरिएको थियो । उक्त निर्णयको विरोधमा नेपाल विद्यार्थी संघले आइतवारदेखि विश्व–विद्यालयमा पठन–पाठन ठप्प पार्दै आन्दोलनको सुरुवात गरेका छ । तर त्यसको विरोधमा नेकपा समृद्ध विद्यार्थी संगठनहरूले पठन–पाठनको सञ्चालनको माग राख्दै विरोध जनाएका छन् । नेविसंघमा आवद्ध विद्यार्थीहरूले रजिस्ट्रार मल्ललाई निलम्बन गरेको विरोधमा तालाबन्दीसहित पठन–पाठन ठप्प पारेपछि नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) निकट विद्यार्थीहरूले त्यसको विरोधमा नाराबाजीसमेत गरेका थिए । पढाइ नै रोक्ने नेविसंघको आन्दोलन र पढाइ सञ्चालन गर्नुपर्ने अन्य विद्यार्थीहरूको माग जारी छ । जसले गर्दा विश्वविद्यालयको पढाइ ६ दिनदेखि नै प्रभावित हुँदै आएको छ ।
उपकुलपति कोइरालाले मनलाग्दी रूपमा निर्णय गरेकाले आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघ मप विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका सभापति राजन केसीको आरोप छ । उनले नेकपाको बहुमत दम्भले रजिस्ट्रारलाई निलम्बन गरेको विरोधमा आन्दोलन गर्नुपरेको समेत बताए । ‘दुई महिनादेखि हामी आन्दोलनमा उत्रेका हौं’ केसीले भने, ‘रजिस्ट्रारको उपस्थितिमै नियुक्ति गर्नुपर्नेमा उपकुलपतिले एकलौटी कार्यकर्तालाई नियुक्ति दिँदा विरोध सुरु गरेका हौं ।’ विश्वविद्यालयको रातो किताबअनुसार नियुक्ति नभएको ठहर केसीको छ । रजिस्ट्रार मल्ललाई निलम्बन गर्नु गलत भएको भन्दै नेविसंघ र कांग्रेस निकट प्राध्यापक संगठनले पनि उनको पुनर्वहालीको माग गरेको छ । अर्कोतर्फ रजिस्ट्रार निलम्बनको निर्णयलाई लिएर विश्वविद्यालयको पढाइ नै रोक्न नहुने भन्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थीहरूले विरोध जनाएका छन् ।
अनेरास्ववियुका नेता निकुञ्ज पाण्डेले पठन–पाठन नै रोक्नु गलत भएको बटाए । पाण्डेले भने, ‘गुण्डागर्दी शैलीमा पठन–पाठन बन्द गर्न आन्दोलन थालेपछि त्यसको विरुद्धमा हामी लागेका छौं ।’ मंसिर २० गते रजिस्ट्रार मल्ललाई निलम्बित गरी सह–प्राध्यापक यामबहादुर कार्कीलाई रजिस्ट्रारमा नियुक्त गरिएको थियो । नवनियुक्त रजिस्ट्रार कार्कीले सपथ लिएर पदभार ग्रहणसमेत गरिसकेका छन् ।
साझा बिसौनी ।