खुल्ला चौरमा पढ्दै विद्यार्थी

साझा बिसौनी संवाददाता
हुम्ला, २४ मंसिर ।
चिसो बढेपछि कर्णाली नदी छेउछाउका विद्यालयहरूले घाम लाग्ने खाली जग्गा तथा चौरमा पढाइ गर्न थालेका छन् । कक्षाकोठामा पठन–पाठन गराउन चिसोको कारण नसकिने भएपछि यसरी खाली जग्गामा पढाइ गर्न थालिएको हो ।
विद्यालयसँगै जोडिएको खाली जग्गामा पठन–पाठन हुन थालेको विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्र बालकृष्ण फडेराले बताए । कर्णाली नदीको छेउमै रहेको विद्यालयमा सात वटा भवन भए पनि घाम नलाग्ने भएको कारण सबै कक्षाका विद्यार्थीहरूले खाली जग्गामा पठन–पाठन गर्नुपरेको उनले बताए । विद्यालय १० बजे मात्र घाम लाग्ने भएको कारण चिसो हुने भएको कारण विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर खाली जग्गामा धुलोसँगै पढिरहेको उनले बताए । यसरी धुलोमा पढ्ने विद्यार्थी तथा शिक्षकहरूलाई रुघाखोकीले सताउने गरेको उनले बताए ।
बालबालिका र शिक्षकहरूलाई चिसोको कारण जग्गामा ढुङ्गा राखेर पढ्नु असहज भएको अभिभावक कुलबहादुर महताराले बताए । यो विद्यार्थी र शिक्षकको बाध्यता भएको र खाली जग्गामा
पढ्नाले पढाइमा समेत असर पारेको उनले बताए । कक्षा नौ मा अध्ययन गर्ने छोरालाई रुघा लागेर उपचार गर्न खर्च गर्नुपरेको उनले बताए । चिसो पढेपछि कार्तिक महिनाबाट कक्षा कोठामा पठन–पाठन गर्न छोडिएको सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को लालिगुराँस मावि लिप्नेका प्रधानाध्यापक काली महताराले बताए । कक्षा ६ देखि १० सम्म पठन–पाठन हुने विद्यालयमा १० बजेदेखि तीन बजेसम्म पठन–पाठन भइरहेको भए पनि खुल्ला ठाउँ भएको कारण एक अर्काको पढाइमा बाधा पर्ने गरेको भए पनि आफूसँगै विकल्प नभएको उनले बताए ।
सबै कक्षामा एक सय ३५ जना विद्यार्थी रहेको विद्यालयमा एक जना राहत शिक्षकका भरमा मावि चलिरहेको छ । विद्यालयसँग भवन धेरै भए पनि कुनै भवनमा घाम नलाग्ने भएको चिसोको माटोसँग खेलेर पनि पढाउनु पर रहेकोले सबै विद्यार्थी र शिक्षकलाई दैनिक जसो रुघाले सताउने गरेको उनले बताए । दिउँसो साढे एक बजेपछि घाम नलाग्ने भएको कारण विद्यार्थी र शिक्षकहरूले पाले हालेर दाउरासमेत ल्याएर बाल्दै पठन–पाठन गरि रहनुपरेको प्रधानाध्यापक महताराले बताए ।
केही दिनपछि सञ्चालन हुन गइरहेको वार्षिक परीक्षा पनि खाली जग्गामा नै सञ्चालन गर्ने विद्यालयले योजना बनाएको छ । विद्यालयको सिरानमा अग्लो डाँडा भएको कारण विद्यालयमा दुई पटक घाम लाग्ने गरेको छ । बीचमा विश्राम गर्नुपर्ने अवस्था भएको कारण दाउरा बालेर भए पनि पढाइ गर्नुपरेको शिक्षकहरूको भनाई रहेको छ ।
हुम्ला जिल्लाका कर्णाली नदी छेउछाउका आधा दर्जन विद्यालयहरूको अवस्था लालिगुराँस मावि कै जस्तो रहेको छ । यो क्रम यस वर्ष मात्र नभएर वर्षौ देखि यसरी चलि रहेको शिक्षकहरूको गुनासो रहेको छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७५, मंगलवार १३:५३