हेलिकोप्टरबाट सुत्केरीको उद्धार

साझा बिसौनी संवाददाता
जाजरकोट, २४ मंसिर ।
उच्च रक्तश्राव भइ थलिएकी जाजरकोटको बारेकोट गाउँपालिका–२, रोकायगाउँकी ४२ वर्षीया मैसरी थापालाई बारेकोट गाउँपालिकाले हेलिकोप्टरमार्फत् उद्धार गरेको छ । उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको थाहा पाएपछि गाउँपालिकाले हेलिकोप्टरको प्रबन्ध गरी पोखरास्थित मनिपाल अस्पताल पु¥याइएको हो ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लासँग सीमाना जोडिएको बारेकोट गाउँपालिकाको लिम्सास्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा केही दिनदेखि उपचार गराइरहेकी मैसरी सुत्केरी हुन नसकी उच्च रक्तश्रावका कारण थला परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । जनचेतना अभाव र गरिबीका कारण वर्षेनी यहाँका महिलाहरू सुत्केरी हुन नसक्दा उच्च रक्तश्रावका कारण ज्यान गुमाउने गरेका छन् । भौगोलिक विकटताका कारण समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा पनि सुत्केरी महिलाहरूको मृत्यु हुने गरेको छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७५, मंगलवार १३:५१