‘विश्वविद्यालयले बाटो बिरायो’

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ मंसिर ।
डेढ दशक लामो संघर्षपछि सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भयो । पटक–पटकको नागरिक दबाब र आन्दोलनबाट स्थापित विश्वविद्यालय यतिबेला अनेक विवादको केन्द्र बनिरहेको छ । भागवण्डाका आधारमा हुने नियुक्तिदेखि आर्थिक अनियमितता लगायतका विवाद खेप्दै आएको एमयूमा देखिएको अन्यौलताले यहाँका नागरिक समाजलाई निराश बनाएको छ । विश्वविद्यालयले बाटो बिराएको भन्दै नागरिकले समेत असन्तुष्टि जनाइरहेका छन् । यसै सन्दर्भमा हामीले केही प्रतिनिधिमूलक प्रतिक्रिया यहाँ समावेश गरेका छौंः

‘राजनीति गर्ने ठाउँ होइन’
भूषणकुमार मानन्धर/अध्यक्ष, वि.वि. स्थापना मूल समिति

केही मान्छेहरूको व्यक्तिगत स्वार्थले सिङ्गो विश्वविद्यालय नै प्रभावित बन्यो । जनताले निकै ठूलो संघर्ष गरेर ल्याएको विश्वविद्यालय हो । तर स्थापना भइसकेपछि नेतृत्वमा पुगेकाहरूले यसलाई जनचाहना अनुसार सञ्चालन गर्न सकेनन् । न बाहिरबाट आएकाले सोचे र न यहींकाले सोचे ।
दुई पल्ट विश्वविद्यालयको रजिस्ट्रार बनेका डा. महेन्द्र मल्ल यहीको स्थानीय पनि हुनुहुन्छ । त्यति मात्र होइन विश्वविद्यालय स्थापनार्थ गठन गरिएको मूल समितिका सदस्य सचिव पनि हुनुहन्छ । उहाँले त कम्तीमा विश्वविद्यालयका बारेमा सकारात्मक सोच्नुपथ्र्यो । तर उहाँमा पनि विश्वविद्यालयप्रतिको त्यो गाम्भीर्यता देखिएन । यसले मलाई अत्यन्तै दुःखी बनाएको छ । विभिन्न बहानामा तालाबन्दी, हड्लाल र झडपहरू भइरहेका छन् । सुन्दै पनि लाजमर्दो भएको छ । कसैका व्यक्तिगत स्वार्थ पूरा गरौंला, पूरा नभए हड्ताल गरौंला भनेर विश्वविद्यालय ल्याइएको होइन । जनताले दुःख गरे, अरुले नै रजाईं गरे ।
विश्वविद्यालयका लागि संघर्ष गर्ने हामी त अहिले सडकछाप नै भइहाल्यौं । न कसैले सोधपुछ गर्छ, न सहयोग माग्छ । सबै आफ्नै स्वार्थ अनुसार चलेका छन् । नागरिक समाजलाई वेवास्ता गरिएको छ । अनेक प्रकारका विवादहरू भइरहेका छन् । विश्व–विद्यालयमा देखिएका समस्या समाधानका लागि सबै पक्षसँग छलफल गरेर अगाडि बढ्नुपथ्र्यो । कम्तीमा डा. महेन्द्रकुमार मल्लले देखिएका समस्या जनतासामु ल्याउनुपथ्र्यो । उहाँले विश्वविद्यालयको हितमा काम गर्न मलाई असहयोग भयो भनेको भए समस्या समाधान गर्न हामी पनि पहल गथ्र्यौं । तर त्यसो भएन । त्यसैले मेरो गुनासो उहाँसँग छ । विश्वविद्यालय शिक्षा आर्जन गर्ने थलो हुनुपर्ने हो तर यहाँ राजनीति गर्ने, कमाइ खाने, आफ्नालाई जागिर खुवाउने ठाउँ बनाइएको छ ।

‘नेतृत्व नै बदल्नुपर्छ’
कालीप्रसाद पाण्डे/पूर्व उपकुलपति

विश्वविद्यालयको नेतृत्व गरिरहेकाहरूले सुर्खेती जनताको सपना चकनाचुर बनाए । विश्वविद्यालय नै डुबाए । अति नै निकृष्ट रूपमा राजनीति भइरहेको छ । राजनीति गर्नका लागि भनेर जनताले संघर्ष गरेका थिएनन् । आफ्ना सन्ततिले सर्वसुलभ रूपमा आफ्नै घरआँगनमा उच्च शिक्षा हासिल गर्न पाउन भनेर लडेका थिए । जनताको लडाईंले स्थापित विश्वविद्यालय अहिले केही व्यक्तिहरूलाई राजनीति गर्ने थलो भएको छ । जुन अत्यन्तै दुःखद् छ ।
नेतृत्वको अक्षमताले विश्वविद्यालयको साख गुम्दै गएको छ । प्राज्ञिक गतिविधि केही देखिदैंन, सधैं झगडा र विवाद मात्रै भएको छ । पठन–पाठन नियमित छैन । विद्यार्थीहरूको भविष्य अन्धकारमय बनााइएको छ । भ्रष्टाचार मौलाएको छ । आफूलाई केन्द्रमा राखेर काम गर्ने नेतृत्वका कारण विश्वविद्यालयमा समस्या निम्तिएको हो । विश्व–विद्यालयको वर्तमान नेतृत्वलाई हटाएर नयाँ नेतृत्व नल्याएसम्म विश्वविद्यालयले गति लिदैंन । नियतमै खोट भएपछि विश्व–विद्यालयमा समस्या नै समस्या निम्तिएका छन् ।

‘भविष्य नै अन्यौलमा’

मुकुन्दश्याम गिरी/नेता, राप्रपा

सुर्खेती जनताको संघर्षबाट स्थापित तर सीमित केही पार्टी र व्यक्तिहरूको दबदबाबाट थिचिएको, मिचिएको र निचोरिएको मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा जुन प्रकारका नाटकहरू मञ्चन हुन्छन् त्यसबाट आम सुर्खेती मात्र हैन शिक्षा क्षत्रका जानकार, हलो जोतेर छोरा–छोरीको भविष्यको आशा पालेका आम नागरिकसमेत अवाक रहनुपरेको छ ।
विश्वविद्यालयमा नहुनुपर्ने जुन गतिविधि भइरहेका छन् ती दुःखद् छन् । योग्यता र क्षमता भन्दा पनि पार्टीको कोटालाई योग्यताको मापदण्ड बनाउने परिपाटी जसबाट सिङ्गो देश पिल्सिएको छ, त्यसैको उपज मात्र हो । साथै पहिले मेलमिलाप हुँदाको उपलब्धिबाटै हिस्सेदारीमा चित्त नबुझेर हुने तानातानले अन्तमा
खोसाखोस र हानाहान पछि छिन्न–भिन्न पारेको हुनुपर्छ । यही अवस्था रहेको विश्वविद्यालयको भविष्य झन् अन्यौलग्रस्त बन्नेछ । विश्वविद्यालय जनताको संघर्षबाट स्थापना भएको हो, यसमा कसैले ‘हकदावी’ गर्न पाउँदैन । झगडाको बीऊ राजनीति हो । शैक्षिक क्षेत्रलाई राजनीतिबाट सञ्चालन गरिनु हुँदैन । नेतृत्वले पार्टीभन्दा माथि उठेर विश्वविद्यालय सञ्चालन गर्न आवश्यक छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७५, मंगलवार १३:५४