कोरियन भाषा परीक्षा असार ४ र ५ मा, एमआरपी अनिवार्य
काठमाडौं २२ चैत । दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी असारको ४ र ५ गते हुने भएको छ । सोमबार बसेको इपीएस(कोरिया निर्देशक समितिको बैठकले २०१७ मा कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो । यसका लागि बैशाखको १५ देखि १८ गतेसम्म आवेदन फारम खुला गरिने इपीएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि भदौमा परीक्षा लिने भनिएपनि कोरियाको मानव संशाधन विभागले असारमै परीक्षा लिन आग्रह गरेपछि परीक्षा गत वर्षहरु भन्दा छिटो गर्न लागिएको हो । यसअघि असोज महिनमा परीक्षा हुने गरेको थियो ।
उपत्यका बाहिर ५ वटा संकलन केन्द्र भाषा परीक्षाको आवेदन फारम संकलनका लागि काठमाडौंमा ५ वटा केन्द्र राख्ने निर्णय गरिएको छ । उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा पनि आवदेन संकलन हुनेछ । संकलन केन्द्रहरु केही दिनमै तोकिने बास्तोलाले बताए ।
गत वर्ष भाषा परीक्षाका लागि ४० हजार भन्दा बढीले आवदेन भरेका थिए । यसवर्षदेखि अनलाइन फारम बुझ्ने भनिएपनि पूर्वनिर्धारित समयभन्दा पहिले नै परीक्षना गर्नुपरेका सम्भव नभएको उनले बताए ।
कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार माग्नेछ । आवदेन फारममा नै परीक्षार्थीले आफुले काम गर्न चाहेको क्षेत्र खुलाउनुपर्नेछ ।
एमआरपी अनिवार्य
यस वर्षदेखि इपीएस भाषा परीक्षाको आवदेन दिन मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० अनिवार्य गरिएको छ । परीक्षालाई विश्वसनीय बनाउन र नक्कली परीक्षार्थीको प्रवेश हुन नदिन यस्तो निर्णय भएको बास्तोलाले बताए ।
अब भाषा परीक्षाका लागि आवेदन दिनुअघि नै एमआरपी बनाउनुपर्ने भएको छ । यसअघि नागरिकताका आधारमा फारम संकलन हुने गरेको थियो ।
काठमाडौंमा र पोखरामा परीक्षा
भाषा परीक्षा काठमाडौं र पोखरा गरी दुई ठाउँमा सञ्चालन हुनेछ । पोखरामा आवेदन भरेकाहरुले त्यहीँबाटै परीक्षा दिन पाउनेछन् भने त्यसबाहेकाका ठाउँबाट आवदेन भर्नेहरु काठमाडौंमै आउनुपर्नेछ ।
परीक्षा केन्द्रलाई विकेन्द्रिकरण गर्ने नेपाल र कोरियन सरकारको नीति अनुरुप पोखरामा पनि परीक्षा लिने निर्णय भएको निर्देशक बास्तोलाको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।