कार्यक्रम हेर्न जाँदा युद्धमै होमिएँ

पञ्चा सिंंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय उनी अहिले पार्टी राजनीतिमा पनि क्रियाशील छिन् । पूर्व नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षसमेत रहेकी सिंहको जन्म वि.सं. २०४३ मंंसिर २० गते बुबा स्यानु सिंह र आमा कमला सिंहको सन्तानका रूपमा कालिकोटको महावै गाउँपालिका–४ सिमखेतमा भएको हो । माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत होमिएकी पञ्चाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः


छोरी पढाउन हुन्न भन्ने समाजमा जन्मिए पनि सानै उमेरदेखि पढ्ने अवसर पाएँ । छोरी जन्मिए घरको काममा सघाउने र ठूलो भएपछि विवाह गरेर पराइ घर पठाउने समाजमा मेरो बुुबाआमा अलि चेतनशील हुनुहुन्थ्यो । त्यसैले पनि होला मलाई पढ्न पठाउनुभयो । बुबा विद्यालयको प्रध्यानाध्यापक भएर पनि म सानै उमेरमा पढ्न जान अवसर पाएँ ।
प्राथमिक तहसम्म घर नजिकैको विद्यालयमा पढें, देव प्राथमिक विद्यालय ओदामा । ‘हेड सरकी छोरी’ भनेर सबैले माया गर्नुहुन्थ्यो । सबै शिक्षक, साथीभाइहरूले माया गर्नुहुन्थ्यो । पढाइमा म राम्रो थिएँ । प्रथम या दोस्रो भइरहन्थें ।
बुबाले आफू स्कुल जाँदा मलाईसँगै लिएर जानुहुन्थ्यो । हामी गाउँमा दुई जना मात्र केटी साथीहरू थियौं । एक जना मेरो दिदी पर्ने हुनुहुन्थ्यो । त्यसभन्दा अगाडि एसएलसी पास गरेका, पढेको कोही महिलाहरू भेटिनुहुन्थेन । कक्षामा दुई जना मात्र छात्रा पढ्थ्यौं । आमाहरूलाई गाउँमा छोरीलाई आफ्नो काममा सघाउन छोडेर किन स्कुल पठाएको भनेर भन्ने गर्थे । तर आमाले छोरीलाई पढाउने नै हो भन्नुहुन्थ्यो । अभिभावक शिक्षित हुँदा मलाई फाइदा भयो, पढ्ने अवसर पाएँ ।
हजुर आमा हुनुहुुन्थ्यो घरमा । म उहाँसँग धेरै नजिक थिएँ । हजुर आमाले धेरै नै माया गर्नुहुन्थ्यो । बाल्यकालमा ठूलै बदमासी त केही गरिनँ । तर बुबाले विश्वास गरेर पैसाको कारोबारमा मलाई जिम्मा दिनुहुन्थ्यो । बुबाले चौमासिक तलब बुझ्ने । आमाले घर चलाउनेदेखि लिनेदिने ठाउँमा सबै हेर्नुहुन्थ्यो । तर हिसाब किताब भने म आफैले गरिदिन्थें । पैसा राख्न बुबाले मलाई दिनुहुन्थ्यो । बुबाले आवश्यक पर्दा पैसा त दिनुहुन्थ्यो । तर पनि म अलिअलि पैसा झुक्याएर विद्यालयमा खाने खर्च निकाली हाल्थें ।
म सानैदेखि धेरै नबोल्ने, चाहिने काममा मात्र बोल्ने अलि लजालु स्वभावको थिएँ । कसैले मलाई घमण्डी पनि भन्थे । तर सबै साथीहरूसँंग झगडा भने गर्दिन थिएँ । मिलनसार नैै थिएँ । घर भन्दा बाहिर धेरै निस्कदैन्थें । गाउँघरमा हुने रमाइलो, जात्राहरूमा जान खासै रुचि लाग्दैनथ्यो । पढाइमा नै बढी समय जान्थ्यो । पढ्नुपर्छ भन्ने हुन्थ्यो ।
गाउँमा प्राथमिक तह पढेपछि निम्नमाध्यमिक तह पढ्न त्रिवेणाी डिल्लीकोटमा गएँ । घरबाट डेढ घण्टा हिँडेर जानुपथ्र्यो । आउँदा एक घण्टा लाग्थ्यो । जाँदा उकालो जानुपर्ने र आउँदा ओरालो हिँड्नुपर्ने हुन्थ्यो । सधैं घरबाट नै जानुपथ्र्यो । मेरा रुचि बढी खेलकुदमा छ । भलिबल खेल्थें । तर अहिलेको जस्तो सेवा सुविधा थिएन । फुटबल भन्ने त नामनै सुनेको थिएन । पछि ९÷१० मा पढ्न थालेपछि बल्ल थाहा भयो, खेलहरूका बारेमा । यस बोहक विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी बढी  हुन्थें । वादविवाद प्रतियोेगिता, निबन्ध लेखनहरूमा बढी भाग लिन्थें ।
बाल्यकालमा चाडपर्व विशेष लाग्थे । दशैंका बेलामा जेठो हजुरबुबाको घरमा सबै जम्मा भएर टिका लगाउने गर्थियौं । सबैभन्दा जेठोको घरमा टिका लगाउने चलन हुन्थ्यो । चाडपर्वमा नयाँ कपडा भनेपछि छुट्टै उमंग हुन्थ्यो । तिहारमा सबै भाइबहिनी एकै ठाउँमा बसेर टिका लगाउने गथ्र्यौं ।
सानोमा यो बन्छु वा त्यो बन्छु भन्दा पनि छोरीबुहारी माथि हुने विभेदका बारेमा बोल्छु भन्थें । तर आमाले मलाई स्टार्फ नर्स बनाउने भन्नुहुन्थ्यो । म नजन्मिदै आमा नेपालगन्ज जानुभएको थियो रे । त्यहाँ स्टार्फ नर्स पढ्दै गरेका एउटै पोसाक लगाएका धेरै केटीहरूलाई देख्दा म छोरी जन्माएर यस्तै बनाउँछु भनेर भन्नु भएको रहेछ । पछि पनि भनिरहनु भएको थियो । तर राजनीतिमा प्रवेश गरेें । ८ कक्षा पढ्दादेखि नै विद्यार्थी इकाइ समितिमा बसेर पार्टीका गतिविधिका बारेमा बुझ्ने पनि गर्थे । तर यसरी राजनीति गर्छु भन्ने सोचेको थिइनँ ।
वि.सं. २०५८ सालमा त्यस वर्ष मेरो एसएलसीको परीक्षा थियो । तर मेरो डकुमेन्ट पुरा नभएकोले परीक्षा दिन पाइनँ । घरमा त्यसै बसेको थिएँ । बुबाले अब सुर्खेतमा गएर बस्ने उतै पढ्ने भन्नुभएको थियो । द्वन्द्व बढ्दै थियो देशमा । एक दिन गाउँमा माओवादीको कार्यक्रम छ जाउँ रमाइलो हुन्छ भनेर साथीहरू आए । म जान्न, मलाई जान मन पर्दैन भनेको थिएँ । आमाले पनि जा भनेपछि गएँ । कार्यक्रममा गएको साथीहरूरुले आउँनै दिएनन् । अभियानमा जानुपर्छ भने । म उनीहरूसँगै गएँ । घरमा आमा त तीन दिनसम्म बेहोस नै हुनु भएछ । गएको तीन महिनापछि घर फर्कने सोच गराएको थिएँ । फेरी आत्मसमर्पण गर्नुपर्ने । यस्तो बेलामा नेपाली सेना र प्रहरीले नराम्रो व्यवहार गर्छन् महिलाहरूलाई भन्ने सुनें । पछि विद्यार्थी राजनीति गर्छु भनेर पार्टीमा लागें ।
सुरुमा कलाकार बन्नुपर्छ भन्थे । तर मैले विद्यार्थी राजनीति रोजें । एसएलसीसम्म रोकिएको पढाइ शान्ति सम्झौतापछि निरन्तरता दिएँ । अहिले मास्टर्स गर्दैछु । पार्टीको गाउँमा एरिया इन्चार्ज, कालिकोट जिल्लाको सदस्य पनि भएँ । विद्यार्थीको केन्द्रीय उपाध्यक्ष भएँ । यहाँको समृद्धि र विकासका लागि काम गर्ने लक्ष्य छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७५, सोमबार १३:४६