सर्वसम्मत् नेतृत्वको पक्षमा व्यवसायी

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ मंसिर ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदैं गर्दा यहाँका व्यवसायीहरू माझ आगामी नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । विगतमा जस्तो राजनीतिक रूपमा ध्रुवीकरण नभएर सर्वसम्मत् नयाँ नेतृत्व चयन गर्नुपर्ने आवाज पनि उठिरहेका छन् ।
वि.सं. २०५१ सालमा टेकबहादुर भण्डारी सर्वसम्मत् रूपमा अध्यक्ष चयन भएयता निर्वाचनमार्फत् नै नेतृत्व छनौट हुँदै आएको छ । तर पार्टी राजनीतिको प्रभावले गर्दा संघले उल्लेख्य काम गर्न नसकेको भन्दै यतिबेला भने व्यवसायीहरू नै सर्वसम्मत् नेतृत्व छनौटको वकालत गर्न थालेका छन् । अहिले संघको नेतृत्व गरिरहेका व्यवसायीहरूदेखि विगतमा संघसँग असन्तुष्ट भएर बाहिर निस्किएका व्यवसायीहरूसम्म सर्वसम्मत् नेतृत्व छनौटका लागि वकालत गरिरहेका छन् । जसले गर्दा यही मंसिर २९ गते हुने अधिवेशनले दुई दशकपछि पुनः संघलाई सर्वसम्मत् नेतृत्व प्रदान गर्ने अपेक्षा आम व्यवसायीहरूले समेत गरेका छन् ।
तीन वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितका ११ वटा दल निकट व्यवसायीहरूको गठनबन्धनलाई पराजित गरेर अध्यक्ष बनेका संघका वर्तमान अध्यक्ष प्रकाश अधिकारी नै यतिबेला सर्वसम्मत् नेतृत्व चयनको लागि वकालत गरिरहेका छन् । व्यवसायीहरूको हितका लागि स्थापना भएको उद्योग वाणिज्य संघलाई सबै व्यवसायीहरूको छाता संस्था बनाउन पनि सर्वसम्मत् नेतृत्व छनौटको विकल्प नभएको उनी बताउँछन् । व्यवसायीहरूबीचको लडाइँले स्वयम् व्यवसायी र संस्था दुवैलाई फाइदा नहुने अधिकारीको तर्क छ । ‘संघलाई सबैको संस्था बनाउने उपयुक्त समय आएको छ’ अधिकारीले साझा बिसौनीसँग भने, ‘यदि सर्वसम्मत् रूपमा आगामी नेतृत्व चयन गर्न सक्ने हो भने त्यसले समग्र रूपमा यहाँका सबै व्यवसायीहरूको हित हुन्छ ।’
उद्योग वाणिज्य संघलाई कुनै एक राजनीतिक दलको भ्रातृ संगठन मात्र बनाउन खोजिएको भन्दै असन्तुष्ट बनेर बाहिरिएका व्यवसायीहरू पनि सर्वसम्मत् नेतृत्व छनौट गरेर सबैको सहभागिता गराउनुपर्ने पक्षमा देखिएका छन् । व्यवसायी कलाधर उपाध्याय
(केदार शर्मा) संघमा सबैको अपनत्व हुने गरी अगाडि बढ्न आफूहरू पनि तयार रहेको बताउँछन् । उनले कुनै एक पक्षले मात्र नेतृत्व गरेर वा व्यवसायीहरू नै विभाजित भएर कसैको हित नहुने भएकाले सबैको सहभागिता हुने गरी आगामी नेतृत्व छनौट गर्नुपर्ने बताए ।
राजनीतिक लडाईंले संघलाई नै नोक्सान हुने भएकाले सबै पक्षलाई समेटेर योग्यता र क्षमताका आधारमा सर्वसम्मत् रूपमा नेतृत्व छनौट गर्नु नै अहिलेको आवश्यकता भएको शर्माको तर्क छ । ‘कसैको स्वार्थ पूरा गर्नका लागि नभइ सबै व्यवसायीहरूको हितमा काम गर्नका लागि सर्वसम्मत् नेतृत्व चाहिन्छ’ उनले भने । नेतृत्व चयनमा हुने राजनीतिक लडाईंले संघप्रति आम व्यवसायीहरूमा वितृष्णा पैदा भएको भन्दै शर्माले यसलाई चिर्नका लागि पनि सर्वसम्मत् नेतृत्वको विकल्प नभएको बताए । जिल्लाको सबै क्षेत्र र विभिन्न वस्तुगत व्यवसायीहरूलाई समेत समेटेर नेतृत्व छनौट गर्न उनले आग्रह गरे ।
अर्का व्यवसायी प्रवल शाही पनि यस पटक सबैलाई सर्वसम्मत् नेतृत्व चयनको कुरा महसुस भएको बताउँछन् । ‘संघभित्र भएका र बाहिर भएका दुवै पक्षलाई त्यो महसुस भएको छ’ शाहीले भने, ‘राजनीति गर्ने क्षेत्र फरक छ, यो व्यवसायीहरूको हितमा काम गर्ने संस्था हो । यसपटक सर्वसम्मत् नेतृत्व चयन हुने कुरामा म विश्वस्त छु ।’
उद्योग वाणिज्य संघ अन्तर्गतका विभिन्न वस्तुगत समितिहरू पनि सर्वसम्मत् नेतृत्व छनौटकै पक्षमा रहेका छन् । वस्तुगत समिति अन्तर्गतको क्यान वस्तुगत समितिका अध्यक्ष पूर्णदेव अधिकारी राजनीतिक दलको छत्रछायाँमा हुँदा सुर्खेत उद्योग वाणिज्य संघमा सबै व्यवसायीहरूको अपनत्व हुन नसकेको बताउँछन् । ‘संघमा सबै व्यवसायीहरूको सम्मानजनक प्रतिनिधित्व गराएर सबैको साझा संस्था बनाउनु पर्दछ’ उनले भने । राजनीतिक विचार र आस्थाका आधारमा कुनै पनि व्यवसायीलाई संघभन्दा बाहिर राख्न नहुने उनको तर्क छ । ‘हिजो दुवै पक्षका व्यवसायीहरू मिलेर पनि संघ चलाए, कांग्रेस निकट व्यवसायीहरूले एकलौटी रूपमा पनि चलाए’ अधिकारीले भने, ‘व्यवसायीको हितमा एकलौटी भन्दा पनि सबैको बनाउँदा फाइदा हुन्छ । अरुकै रिमोटबाट चल्ने होइन, सबै व्यवसायीको हितमा काम गर्ने नेतृत्व चाहिएको छ ।’
फेन्सी व्यवसायी प्रेम पाण्डे पहिलो प्राथमिकता सर्वसम्मत् नेतृत्व चयन नै भएको बताउँछन् । उनले सर्वसम्मत् रूपमा छनौट गर्दा सबैको हित हुने बताए । तर सर्वसम्मत्का नाममा कसैप्रति पूर्वाग्रह राख्न नहुने उनको तर्क छ । सबै व्यवसायीहरूलाई समेटेर लैजान सक्ने योग्य व्यक्ति नै नेतृत्वमा हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७५, सोमबार १३:४५