अस्पतालको लापरबाहीले गर्भवती महिलाको मृत्यु

1साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ जेठ ।
अस्पतालको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथाले च्यापेपछि वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी ती महिलाको मृत्यु भएको हो । आफै हिँडेर अस्पताल पुगेकी वीरेन्द्रनगर–२२ गुप्तीपुरकी २६ वर्षीया तिला गन्धर्माको अस्पतालमै मृत्यु भएको
हो । मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीका कारण तिलाको ज्यान गएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
सुत्केरी व्यथाले च्यापेपछि तिला आइतवार दिउँसो अस्पतालमा भर्ना भएकी थिइन् । घरमा सुत्केरी गराउँदा जोखिम हुने भन्दै आफन्तले अस्पतालमा भर्ना गराएका थिए । सोही क्रममा तिला र उनको गर्भमा रहेको बच्चाको सोमवार बिहान अस्पतालमै मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरबाहीले गर्दा तिलाको ज्यान गएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अस्पतालमा भर्ना भएपछि डाक्टरहरूले कुनै चासो नदिएको र रातभरी बेवास्ता गरेकै कारण मृत्यु भएको आफन्तको आरोप छ । तिला कमजोर रहेको र शल्यक्रिया गरेर बच्चा निकाल्न बारम्बार आग्रह गर्दा समेत अस्पतालले बेवास्ता गर्दा बच्चा जन्माउन नसकेर तिलाको मृत्यु भएको आफन्तको भनाइ छ ।
बच्चा जन्माउने क्रममा तिला र उनको पेटमा रहेको बच्चाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । मृतक तिलाका श्रीमान् बलबहादुर गन्धर्माले भने, ‘अस्पतालको लापरबाहीले गर्दा श्रीमती गुमाएँ, घरमा खतरा हुन्छ भनेर अस्पताल ल्याएको थिएँ । तर डाक्टरहरूले बेवास्ता गरे, अप्रेशन गरेर बच्चा निकाली देउ भन्दा पनि मानेनन् ।’ उनले रातभर अस्पतालमा डाक्टर नभएको र बिहान फोन गरेर बोलाउँदा समेत डाक्टर समयमा नआएको गुनासो गरे । श्रीमतीको मृत्यु भएपछि मात्र डाक्टर अस्पतालमा आएको उनको आरोप छ । अस्पतालमा समेत समयमा नै उपचार नपाउँदा श्रीमती र गर्भमा रहेको बच्चाको मृत्यु भएको उनको भनाइ छ । उनले थपे, ‘रातभरी अस्पतालको बेडमा कसैले वास्ता गरेनन्, बिहानसम्म उनी छट्पटाउँदै थिइन् । एक्कासी उनको मृत्यु भयो, प्राण गइसकेपछि मात्र डाक्टर आए ।’ साथै उनले लापरबाही गर्ने डाक्टर र अस्पताल प्रशासनमाथि कारबाही हुनुपर्ने माग गरे ।
यता अस्पताल प्रशासनले भने लापरबाही भएको भन्ने आरोप अस्वीकार गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेट डाक्टर डम्बर खड्काले तिलालाई बचाउन खोज्दा खोज्दै मृत्यु भएको बताए । आफूहरूले बचाउनका लागि हरसम्भव प्रयास गर्दा समेत सफल नभएको उनको भनाइ छ । आफन्तहरूले अप्रेशन गरेर बच्चा निकाल्न आग्रह गरेको भए पनि अवस्था सामान्य भएकाले त्यसो नगरिएको अस्पतालले स्पष्ट पारेको छ । डाक्टर खड्काले भने, ‘लापरबाहीले तिलाको मृत्यु भएको होइन, हामीले सकेजति प्रयास गरेकै हो । सुत्केरी हुने बेलामा एकदमै कममा देखिने समस्या यो घटनामा पनि देखियो, हामीले प्रयास गर्दागर्दै तिलाको मृत्यु भयो ।’ अस्पताल र डाक्टरको लापरबाहीले आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै पीडितका आफन्तहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।