जिम्मेवारीले अब्बल बन्दै महिला जनप्रनितिधि
सविता जिसी
सुर्खेत, २२ मंसिर ।
भेरीगंगा नगरपालिका–४ कि वडा सदस्य भूमिसरा सुनार नगर कार्यपालिका सदस्य पनि हुन् । जनप्रतिनिधि हुनु अघि उनी स्वयमसेविका थिइन् । सानो कार्य क्षेत्र थियो, जिम्मेवारी पनि कम थियो । घरधन्दा गरेर पनि स्वयम्सेविकाको जिम्मेवारी सजिलै निर्वाह गर्थिन् । निश्चित सयममा काम गर्ने भएकाले घरबाट बाहिर निस्कन सबैलाई सोध्नु पर्दैनथ्यो । तर अहिले जनप्रतिनिधि भएपछि भूमिसराको कार्यक्षेत्र फराकिलो भएको छ ।
उनी भन्छिन्, ‘सानो टोलमा काम गर्दा परिवारबाट सहयोग नै थियो, घरबाट सजिलै निस्किन पाइथ्यो तर अहिले कुनै ठाउँमा जानुप¥यो भने अकस्मात खबर हुन्छ, त्यसैले जाने वातावरण नै मिल्दैन । गर्न लागेको काम छोडेर हिँडौं भने घरबाट मिल्दैन, काम सकेर जाउँ भनेर कार्यक्रम सकिसकेको हुन्छ ।’ भूमिसराको अनुभवमा महिला भएकै कारण जनप्रतिनिधि महिलाहरूले
भोग्नुपर्ने चुनौती थुप्रै छन् ।
भौगोलिक विकटता रहेका सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नै वडा भित्र एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता छ । भूमिसराको अनुभवले भन्छ, ‘महिलाहरूलाई सक्षम बनाउनका लागि परिवारका सदस्यको सहयोग चाहिन्छ । महिला बाहिर जाने भए पछि घरको काम पुरुषले पनि गर्नुपर्छ । घरव्यवहार सँगसँगै बाहिरको काम पनि गर्नुपर्ने भएकाले सामाजिक रूपमा महिला पछि परेका छन् ।’
वीरेन्द्रनगर नगरपालिका–२ की वडा सदस्य सरिता चौधरी कृषि पेशा सँगसँगै तत्कालीन नेकपा एमालेको राजनीतिमा सक्रिय थिइन् । स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएपछि राजनीतिमा लागेको एउटा सिंढी चढेको महसुस भयो । सामाजिक सेवामा चासो राख्ने सरितालाई अब झनै सजिलो भयो । वडामा निर्वाचित भए पनि सरितालाई घरबाहिर निस्कनका लागि परिवारले सधैं साथ दियो । उनी भन्छिन्, ‘बिहानै घरबाट निस्कनुपर्छ भनेर भोलिका काम अघिल्लो दिन रातीसम्म पनि गर्छु’ उनले भनिन् । घरबाहिरका काममा नजाँदा म पछि परे कि भन्ने अनुभव हुने सरिताको भनाइ छ ।
वडा सदस्यमा निर्वाचित भए पनि समाजमा सरीताले आफ्नो मर्यादा पहिले भन्दा माथि उठेको पाइन् । उनी भन्छिन्, ‘महिलाहरू पुरुष भन्दा कमजोर भन्ने कुरा गलत सावित गर्न महिलाहरू आफै पनि सचेत हुनुपर्छ ।’
भेरीगंगा नगरकार्यपालिका सदस्य खीमकुमारी राना सामान्य नागरिक थिइन् । वि.सं. २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भेरीगंगा नगरपालिका वडा नं. ८ मा वडा सदस्यको उम्मेदवार बनिन् । निर्वाचनको नतिजा उनको पक्षमा आयो, अर्थात् उनी जनप्रतिनिधिको कुर्सीमा पुगिन् । त्यति मात्र होइन्, उनको यात्रा नगर कार्यपालिका सदस्यसम्म पुग्यो ।
एउटा सामान्य दैनिकीमा रहेकी खीमकुमारीको अब जिम्मेवारी बढ्यो । घर परिवारको काम त छँदैछ, नयाँ अभ्यासकै क्रममा रहेका स्थानीय तहको जिम्मेवारी पूरा गर्नु पनि उनको जिम्मेवारी भयो । वडा समितिको बैठकमा उपस्थित हुनु, जनताका माग र आवश्यकता पहिचान गरेर कार्यान्वयनका लागि पहल गर्नु, विकासका हरेक काममा सरिक हुनु खीमकुमारीको दैनिक कार्यहरू भए ।
जनप्रतिनिधि भइसकेपछिको अनुभव सुनाउँदै खीमकुमारीले भनिन्, ‘चुलोचौकोमै सीमित थिएँ, निर्वाचनमा भाग लिएर विजयी हुँदासम्म के गर्नुपर्छ भन्ने केही पनि थाहा थिएन, विस्तारै सिक्दै गएँ ।’
अहिले समाजमा उनको परिचय पनि बदलिएको छ, पहिले पहिले ‘हलानी–फलानी’ भन्नेहरूले पनि ‘हजुर’ तपाईं’ भन्छन् । पहिला नबोल्नेहरू अहिले ‘नेता ज्यू यस्तो गरिदिनुप¥यो, उसो गरिदिनुप¥यो’ भन्छन् । यसले उनलाई आफ्नो जिम्मेवारी पनि बढेको महसुस हुन्छ । अब महिलाहरू कसरी आत्मनिर्भर बनाउने र कसरी उनीहरूलाई अघि बढाउने भन्ने योजना बनाउँदै गरेको भूमिसरा बताउँछिन् । समाजमा महिलाहरू पुरुष भन्दा कमजोर छन्, भन्ने मानसिकतालाई गलत सावित गर्न भूमिसरा प्रतिबद्ध छिन् ।
हरिकला सारु साविक गढी गाविस वडा नं. २ मा स्वास्थ्य स्यमम्सेविकाको रूपमा कर्यरत थिइन् । स्थानीय तहको निर्वाचनमा उनलाई पार्टीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ को वडा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेपछि उनी उम्मेद्वार बनिन् ।
उनी वडा सदस्यमा निर्वाचित भइन् । स्वास्थ्य स्वयम्सेविका भएर गाउँमा परिचित हरिकलाको पहिचानसँगै जिम्मेवारी पनि पूर्णरूपमा परिवर्तन भयो । सरकारले दिएको जिम्मेवारी अनुसार स्वास्थ्यको क्षेत्रमा क्रियाशील रहेकी हरिकला अब नीति बनाउने ठाउँमा पुगिन् । उनी भन्छिन्, ‘महिलाहरू घरबाट बाहिर निस्किनु हुँदैन भन्ने अझै पनि छ तर मलाई त्यस्तो गाह्रो भएन । पहिले पनि घरबाहिरै हुन्थे, अहिले पनि घर बाहिर नै हुन्छु ।’ हरिकलाले वडा कार्यालयको बैठकमा महिलाहरूलाई माथि उठाउने विषयमा छलफल गर्ने गरेकि छन् ।
यसरी आफ्नो भूमिका र जिम्मेवारीको बारेमा जानकारी नहुँदा नहुँदै उम्मेद्वार बनेर जनप्रतिनिधि भएका महिलाहरू आफ्नो भूमिकालाई कुशलता पूर्वक निर्वाह गर्न प्रतिबद्ध छन् । वडामा एक जना महिला सदस्य र एक जना दलित महिला सदस्य अनिवार्य रूपमा निर्वाचित हुने कानुनी व्यवस्था अनुसार गाउँ तथा नगर परिषद्को जिम्मेवारी सम्हाली सकेका छन् ।
यस्तै प्रमुख र उप–प्रमुखमध्ये एक जना महिला अनिवार्य हुनै पर्ने व्यवस्था अनुसार पनि महिलाहरू नेतृत्व तहमा आएका छन् । केही महिलाहरू वडा सदस्यमा निर्वाचित भएपछि गाउँपालिका र नगरपालिकाको कार्यपालिकामा समेत प्रतिनिधित्व गरिरहेका छन् । यसरी स्थानीय तहको निर्वाचनले महिलाहरूको जिम्मेवारी र समाज प्रतिको दायित्वलाई अझै बढी बोध गराएको छ ।
यसरी स्थानीय तहमा निर्वाचित हुने अधिकांश महिलाहरूको पृष्ठ भूमि कमजोर छ । चुलोचौकोमै सीमित भएका महिलाहरू जनप्रतिनिधिको रूपमा निर्वाचित हुँदा उनीहरूको भूमिकालाई परिवारले बुझ्न नसक्दा कतिपय अवस्थामा महिलाहरूलाई असहज भएको छ । वडा सदस्यमा निर्वाचित भएका महिलाहरूलाई अहिले पनि घरबाट निस्कन त्यति सजिलो छैन । एकातिर घरमै सीमित महिलाहरूलाई एक्कासी घरबाहिर निस्कंदा परिवार र समाजले के भन्ला भन्ने डर छ भने अर्को घरधन्दा सकेर बाहिर निस्कौंला भन्दा पनि असहज हुने गरेको छ ।
अधिकांश महिलाको राजनीतिक यात्रा वडामा निर्वाचित भएको सुरु भएको हो । स्थानीय तह निर्वाचनमा केही हिमाली तथा सहरी वडामा दलित महिला उम्मेदवार नपाइएकाले ती पदमा प्रतिस्पर्धा नै भएको थिएन । झन् दलित समुदाय नै राजनीतिक रूपमा पिछडिएको स्थितिमा राजनीतिमा अग्रसर बनेर सामाजिक कार्यमा आउनु एउटा महŒवपूर्ण उपलब्धी हो । अन्याय र मार खेप्नेमा सबैभन्दा बढी महिला नै छन्, यो अवस्थामा न्यायिक समितिको नेतृत्वमा महिला नै हुँदा पनि न्यायमा महिलाहरूको पहुँचमा सुधार ल्याउन झनै मद्दत पुगेको छ ।
चुनावमा जुन–जुन क्षेत्रबाट प्रतिनिधित्व गरेको भए पनि जितेर आएपछि म पूरै अधिकार सम्पन्न प्रतिनिधि हुँ भन्ने सोच विकास हुनुपर्ने देखिन्छ ।
समग्र वडा र पालिकाको विषयमा जिम्मेवारी छँदैछ, त्यो भन्दा बढी उनीहरू पछाडि पारिएको र भेद्भावका पारिएको गरीब विपन्न समुदायको हितमा काम गर्नुपर्ने जिम्मेवारी पनि छ ।
साझा बिसौनी संवाददाता ।