शिक्षा प्रणाली सुधारका दुई विकल्प

जेबी गाउँले
शिक्षा विकासको मेरुदण्ड हो । जहाँ शिक्षा छ, त्यहाँ विकास हुन्छ । जहाँ विकास छ, सायद त्यहाँ शैक्षिक अवस्था पनि राम्रो छ भन्ने प्रस्ट हुन्छ । जुन मुलुकले शिक्षा र स्वास्थ्य क्षेत्रमा फड्को मारेका छन ती मुलुक विकासमा पनि फड्को मारेका हामी देखिरहेका छौं । अन्य भौतिक विकास भएको छैन भने त्यति फरक पर्दैन तर शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भएको छैन भने यसले ठूलै उथुल पुथुल ल्याउँछ । यसबाट हामी एक युगपछि धकेलिन पुग्छौं । जहाँ शिक्षा स्वास्थ्यमा विकास भएको छ त्यहाँ जनताहरू स्वस्थ चेतनशील हुन्छन् । जब जनताहरू स्वस्थ र चेतनशील हुन्छन् त्यहाँ जुनसुकै बेला पनि भौतिक विकासले फड्को मार्नेछ किनकी त्यहाँ हरेक नागरिक शिक्षित, चेतनशील र सक्रिय हुन्छन् । तर भौतिक विकास मात्र भएको ठाउँमा शिक्षा र स्वास्थ्यको विकास नहुन पनि सक्छ ।
हाम्रो देशको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ हुनुपर्छ, यदी हामी विकास र समृद्धि चाहन्छौं भने । ‘पहिलो पटक प्रधानमन्त्री बन्दा अब तपाईंको प्राथमिकता के–के हुन्छन् ?’ भन्ने पत्रकारहरूको जिज्ञासमा बेलायती प्रधानमन्त्री डेबिड क्याम्ब्रोनले हाँस्दै भनेका थिए रे ‘शिक्षा ! शिक्षा ! शिक्षा !’ किनकी उनलाई राम्रोसँग थाहा थियो कि शैक्षिक विकास विना समृद्धि असम्भव छ । अहिले बेलायत संसारमै उदाहरणीय पनि बनेको छ । हामीले पनि यसबाट सिक्न सक्छौं त्यसकारण शिक्षालाई बेवास्ता गरेर पन्छिन नखोजौं ।
हाम्रो देशको शैक्षिक अवस्था सबैलाई जानकारी भएकै कुरा हो । अहिले शिक्षा अस्तव्यस्त र गन्जागोलको स्थितिमा छ । सरकारी नीति नियम एकातिर, शिक्षक–विद्यार्थी र पाठ्यक्रमबीच तालमेल मिलिरहेको छैन । यस्तै गन्जागोलको बाबजुत पनि हामीलाई गुणस्तरीय शिक्षा चाहिएको छ । अब त्यो कसरी सम्भव छ त ? एक त शिक्षामा चाहिए जत्तिको लगानी छैन । भएको पनि विनासित्ती खेर गैरहेको छ । सरकारी नीति नियम पनि समयानुकूल भएनन् । वि.सं. २०२८ सालको शिक्षा ऐन नियमावलिमा टेकेर हामी शिक्षाको आमूल परिवर्तन खोज्दैछौं । पाठ्यक्रम कोरा सैद्धान्तिक छ । शिक्षक राजनीतिक कार्यकर्ता बनेका छन् । क्षमता भन्दा पनि पहुँच र राजनीतिक आडमा शिक्षक भएका छन् । शिक्षक सबै असक्षम छन भन्न मिल्दैन । विद्यालय सबै बिग्रेका मात्र छन भन्ने पनि हैन । राम्रा शिक्षक र नमुना विद्यालयहरू पनि छन् तर ती एमदमै थोरै । राम्राहरूलाई नराम्राले छायाँमुनी पारेका छन् । जस्तो हजारौं भेडाहरूका बीचमा दुई÷चार बाख्रा मिसिदा हुन्छ, त्यस्तै भइरहेको छ यतिबेला ।
शिक्षा प्रणालीको सुधार नै गर्ने हो भने दुई कुरा अनिवार्य छ । एउटा राज्यको शिक्षा नीति समय परिवेश सुहाउँदो र शिक्षामा लगानी पनि बढाउनुप¥यो । अर्को शिक्षक छनौट र शिक्षकको सक्षमता वृद्धि । हामी यी दुवै कुरामा फेल भयौं । हाम्रो शिक्षा नीति नै परिवेश सुहाउँदो छैन, कोरा सैद्धान्तिक । विगतमा माओवादीले भने जस्तो बुर्जुवा । शिक्षक छनौट पनि त्यस्तै । अहिले शिक्षा आयोगले शिक्षक छनौट गर्छ, त्यो राम्रो पक्ष हो । तर त्यहाँबाट पनि उत्कृष्ट शिक्षक आए भनेर गर्व गरिहाल्ने अवस्था छैन । योग्य र सक्षम शिक्षक आउने बाटो हामिले माथि नै छेकिदिएका छौं, शिक्षा शास्त्र संकायको पर्खाल लगाएर । शिक्षा शास्त्र संकाय छ । यहाँ शिक्षक शिक्षा सम्बन्धी केन्द्रित भएर नै सिकाइन्छ पढाइन्छ अनि कसरी असक्षम शिक्षक छनौट हुन्छन् भन्ने प्रश्न पनि उठ्ला । जवाफ प्रष्ट छ, शिक्षा शास्त्र संकाय स्थापना हुन मात्र ठूलो कुरा हैन, त्यहाँ के भइरहेको छ भन्ने कुरो महŒवपूर्ण हुन्छ । शिक्षा शास्त्र संकाय भएर योग्य शिक्षक आउने होइन यो संकाय स्थापना हुनु अगाडि पनि त नेपालमा शिक्षक थिए त्यतिबेला नि शिक्षण हुन्थ्यो । तर यसको स्थापना हुँदा शिक्षामा कस्तो प्रभाव प¥यो भन्ने हो । त्यो त हाम्रो सामु छर्लङ्ग छ । कारण, शिक्षा शास्त्र जुन मिसन र भिजनका साथ स्थापना गरिएको थियो त्यो पूरा भएन । शिक्षा शास्त्र ठगिखाने र झुक्याइ खाने भाँडो भयो । त्यहाँ शिक्षक शिक्षा सम्बन्धी पढाइन्छ त भनियो तर जे जति पढाउनु थियो पढाइएन ।
अहिले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरूले शिक्षाशास्त्र संकायको बीएड र एमएड तहका विद्यार्थिलाई शिक्षण कला सिकाउने उद्देश्यले पाठ्यक्रममै अभ्यास शिक्षण च्याप्टर राखेका छन् तर अभ्यास शिक्षणमा के गरिन्छ ? छात्र शिक्षकले पाठयोजनाको ठेली बनाउछन । फुर्सद भएकाले स्कुलमा गए जस्तो पनि गर्छन् नत्र पाठयोजना सके आफैंले बनाउलान । नसके कसैको सार्लान् । अन्तिम दिन बाह्य परीक्षणको दिन सुपरीवेक्षणमा आउने शिक्षकलाई चियापान गराएर खुशी पारे नम्बर पायो, पास भइयो, सकियो । यसबाट के फाइदा भयो ? बस पढाइको बोझ सकियो मामला खत्तम । अब शिक्षकसेवाले यिनैबाट शिक्षक छनौट गर्छ । त्यहाँ कति योग्य सक्षम शिक्षक आए आफैं विचार गरौं । किनकी अरु संकाय पढेकाले त त्यहाँ प्रवेश नै पाउदैनन् । तिनीहरूलाई पढाउने अधिकारपत्र लाइसेन्स नै दिइएको छैन । अर्को कुरा शिक्षाशास्त्र भद्रगोल संकाय हो र यो सबैभन्दा कम्जोर फ्याकल्टि पनि किनकी अन्य संकाय पढ्न प्रवेश नपाएका जम्मै यतैतिर खाँदिन्छन् । शिक्षक बन्नकै लागि हैन योग्यता बढाउन । उनीहरूको सोचाइ हुन्छ शिक्षक बन्न सकियो भने त राम्रै भइगो नत्र के छ र योग्यता बढाउने काम त हुन्छ । यस्तै सोचाइका आवश्यकता भन्दा बढी विद्यार्थीलाई प्रवेश लिएर पढाइ गन्जागोल हुन्छ । प्रभावकारी शिक्षाको कुरो त छाडौं बराबर पढाइ नै हुन्न । अनि शिक्षा शास्त्र संकायले शिक्षक शिक्षा पढाएर दक्ष र सक्षम जनशक्ती उत्पादन गरिरहेका छौं भन्ने भनाइप्रती कसरी विश्वस्त हुने हामी ?
हुन त म कुनै शिक्षाविद्व हैन । समस्या विद्वानले मात्र देख्छन भन्ने पनि छैन । सामान्य व्यक्तिहरूले पनि देखेका हुन्छन् । विद्वानहरूका समस्या समधान गर्ने अर्कै तरिका होलान हाम्रा अर्कै होलान । जसका जे जस्ता तरिकाहरू भएपनि हाम्रा सामु यसलाई कसरी सुल्झाउन सकिन्छ यो मात्र एउटा दुरदृष्टी हुनुपर्छ । म त भन्छु अब शैक्षिक सुधार गर्न दुइवटा विकल्प छन् । एउटा शिक्षा शास्त्रलाई परिपार्जन गरेर र नयाँ ढङ्गले सञ्चालन गरौं अनि अर्को शिक्षाशास्त्र संकाय नै खारेज गरिदिउँ । यदि यसलाई परिमार्जन गरेर नयाँ ढङ्गले सञ्चालन गर्ने हो भने अब शिक्षामा कति जनशक्ती आवश्यक छ त्यतिलाई मात्र शिक्षा संकायमा भर्ना लिने । भर्ना त लिने कसलाई भन्दा सबैभन्दा उत्कृष्ट मानिएकाहरूलाई मात्र । अन्य क्षेत्रबाट फिल्टरिङ्ग भएर आएकालाई शिक्षामा समायोजन गरेर लाने हैन शिक्षामा फिल्टरिङ्ग भएकालाई अनेत्र तिर व्यवस्थापन गर्ने ऐन कानुन नै बनाऔं । शिक्षक विद्यालय तहलाई मात्र चाहिने होइन हरेक क्षेत्रमा शिक्षक आवश्यक हुन्छ । विज्ञान संकायलाई पनि चाहिन्छ । मानविकिलाई पनि चाहिन्छ । चिकित्सा शिक्षाको लागि पनि चाहिन्छ । इन्जिनियरिङ्गको लागि पनि चाहिन्छ । जुनजुन क्षेत्रलाई शिक्षक चाहिन्छ, हरेक क्षेत्रका लागि शिक्षक प्राध्यापक उत्पादन गर्ने जिम्मा शिक्षा शास्त्रलाई दिऔं । अरु सरकारबाट हुने लगानी बढाउँदै जाऔं । शिक्षा प्रणालीमा चार वर्षमा आमूल परिवर्तन हुनेछ ।
दोस्रो कुरा कि त शिक्षा शास्त्र संकाय नै खारेज गरिदिऔं । विद्यालय तहदेखि नै शिक्षा विज्ञान तथा प्रविधि शिक्षाको अध्ययन अध्यापन अनिवार्य गरिदिऔं । यसको अर्थ १÷२ कक्षाबाटै कसरी पढाउने भनेर सिकाउने भनेको हैन, शिक्षा र शिक्षण सम्बन्धी सामान्य जानकारी तलबाटै दिने गरौं । माथिल्लो तहमा हरेक संकायमा शिक्षक शिक्षासम्बधि एउटा विषय अनिवार्य गरिदिउँ, त्यसपछि शिक्षा आयोगबाट शिक्षक छनोट गरौं त हरेक तह र संकायमा दक्ष योग्य र उत्कृष्ट शिक्षक आउनेछन अनि चार वर्षपछि हेरौं शैक्षिक गुणस्तर कस्तो हुन्छ ?
हामी सधैंभरी त्यही विरोधाभासको कुरो गरिरहन्छौं । शैक्षिक गुणस्तर खस्कियो, शिक्षक असक्षम भए, शिक्षकले पढाउन जानेनन् भन्दै शिक्षकलाई गाली पनि गरिरहने व्यवस्था परिवर्तन गर्न पनि नखोज्ने । यी दुवै कुरा एकसाथ कसरी हुन्छन् ? जस्तो घाम र जुन एकैसाथ आकाशमा देखिदैनन् । त्यस्तै हो यो तर्क पनि । त्यसैले यहाँ एक÷दुई जना व्यक्ति बदलेर हाम्रो शिक्षा प्रणाली सुध्रिदैन पुरै व्यवस्था बदल्नुपर्ने अवस्था छ यतिबेला । यसका लागि हामीमा दृढ इच्छाशक्ति र कामप्रतिको लगाव मात्र हुनुप¥यो ।

प्रकाशित मितिः   २३ मंसिर २०७५, आईतवार १६:५१