एक वर्षमा चार सय जना पीडित

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ मंसिर ।
कर्णाली प्रदेशमा उल्लेख्य संख्यामा मानवअधिकार उल्लंघनका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) कर्णाली प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा कर्णालीमा तीन सय ८७ वटा मानवअधिकार विरुद्धका घटना भएका छन् । जसमा चार सय ४७ जना पीडित भएको जनाइएको छ ।
इन्सेकको तथ्यांक अनुसार राज्य पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा ३६ र गैर राज्यपक्षबाट भएका घटना चार सय ११ जना पीडित भएको पाइएको छ । त्यसमध्ये सबै भन्दा बढी महिलासँग सम्बन्धित घटना परेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताएका छन् । यो वर्षमात्रै कर्णाली प्रदेशका दुई सय ३४ जना महिलाहरू कुनै न कुनै हिंसाको सामना गर्न बाध्य भएको उनको भनाइ रहेको थियो । कर्णााली प्रदेशका १० जिल्लामध्ये विभिन्न क्षेत्रमा भएका बालअधिकार, अमानवीय व्यवहार, आर्थिक सामाजिक अधिकार,महिला अधिकार, जातीय विभेद, गिरफ्तारी, कुटपिट, यातना, धम्की, हत्या लगायतका शीर्षकमा कर्णाली प्रदेशमा चार सय ४७ मानवअधिकार हनन्का घटना भएका हुन् ।
शुक्रवार इन्सेक कर्णाली प्रदेशको आयोजनामा कर्णाली प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक कमल लम्सालले राज्यले निर्माण गरेको नीतिका कारण समेत जनता मानवअधिकारबाट वञ्चित भएको बताए । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले मानवअधिकारसँग आधारभूत अधिकार जोडिने भएकोले पहिले ती आवश्यकता पूर्तिका लागि पहल गर्नुपर्ने बताए । त्यस्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले कुनै पनि कारणले प्रहरीले मानवअधिकार हनन् हुने खालको व्यवहार नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने ‘प्रहरीले पनि आफ्नो व्यवहार सुधार्नु जरुरी छ । हामीले मानवअधिकार हनन् हुने खालका काम गरेका छैनौं र गर्ने छैनौं । ’