ज्येष्ठ नागरिकलाई कम्बल वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ मंसिर ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को आयोजनामा ज्येष्ठ नागरिकहरूलाई न्यायो कम्बल वितरण गरी सम्मान गरिएको छ । आफ्नै वडा कार्यालयको आन्तरिक श्रोतबाट ज्येष्ठ नागरिकहरूका लागि छुट्याइएको बजेटमार्फत् वडाका ३७ वटा टोल विकासबाट ६ जनाको दरले दुई सय २२ जनालाई वितरण गरेको हो ।
वडा अध्यक्ष बलबहादुर रोकायले सबै भन्दा पहिलो ८५ वर्षीयाद्वय वशु कमिनी र बलवीर रावत क्षेत्रीलाई कम्बल दिएर सुरुवात गरेको वडा सचिव नारायणदेव गिरीले जानकारी दिए । यसैक्रममा ज्येष्ठ नागरिकहरूका लागि उत्तरगंगा स्वास्थ्यचौकीले पनि निःशुल्क चेकजाँच गरेको छ । चेकजाँचमा उच्च रक्तचाप, मधुमेह तथा सुगर जाँच गरिएको वडा सदस्य टोपबहादुर रास्कोटीले जानकारी दिए ।
वडा अध्यक्ष बलबहादुर रोकायको अध्यक्षतामा भएको वितरणको कार्यक्रममा नगर कार्यपालिका सदस्य सरिता चौधरी, वडा सदस्यहरू बालकुमारी सुनार, रत्नबहादुर सुनार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २२ मंसिर २०७५, शनिबार १६:४८