सामाजिक परिवर्तन गर्ने अठोट

ताजाकोट गाउँपालिका–२ हुम्लाका रत्न शर्मा वि.सं. २०५० साल पुस २३ गते बुबा कृष्णचन्द्र जैसी र आमा पूर्णकला जैसीको कोखबाट जन्मिएका हुन् । घरको जेठो छोराको रुपमा जन्मिएका रत्न सानैदेखि चञ्चल स्वभावका थिए । भविष्यमा कुशल नेता बन्ने लक्ष्य बोकेका उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा ईन्जिनियरिङ्ग पढ्दैछन् । तर उनलाई जागिरको मोह छैन । नपढेकाहरुले राजनीति गर्ने परिपाटीलाई तोड्नको लागि नेता बन्ने लक्ष्य बोकेका रत्नले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

म फरक धारको नेता बन्न चाहान्छु
म एकदमै विकट गाउँमा जन्मिएको भएर पनि म फरक किसिमले राजनीति गर्न चाहन्छु । हाम्रो क्षेत्र धेरै विकट छ । मलाई त्यो देख्दा नरमाइलो लाग्छ । छुवाछुत, छाउपडी, अशिक्षा र विकटताको त कुरै नगरौं । आजभोलि महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा सहरमा मात्रै चल्छ । हाम्रो क्षेत्रका महिलाहरू जहाँ हरेक रात हिंसा सहन बाध्य छन् । न मिडिया जान्छ न राजनीति गर्नेहरूले सांस्कृतिक परिवर्तन गर्न चाहान्छन् । उनीहरू त केबल आफ्नो दुनो सोझाउन चाहान्छन् ।
विकट क्षेत्रमा जन्मिएको भएर होला मलाई राजनीति गर्न मन छ । समाज परिवर्तनको लागि राजनीति नै ठूलो कुरा रै’छ जस्तो मलाई लाग्छ । म द्वन्द्वकालमा १२ वर्षको उमेरमा भूमिगत समेत भएको हुँ ।

कलेजको पहिलो दिन
धर्मोदय माध्यमिक विद्यालय हुम्लाबाट २०६७ सालमा एसएलसी पास गरें । मेरो बुबा पेसाले हुलाकमा जागीरे र आमा घरायसी काम गर्नु हुन्छ । हामी घरमा चार भाइबहिनी हौं ।
म घरको जेठो छोरा । मेरो बुबाआमाले मलाई स्थायी जागीर खाओस् भन्ने चाहानुहुन्थ्यो । एसएलसी उत्तीर्ण गरेपछि रातापानी क्याम्पस मुगुमा नाम लेखाइदिनु भएको थियो । तर मैले अमरज्योति नमुना माध्यमिक विद्यालय सुर्खेतमा साइन्स पढें । कक्षा १० सम्म एकदमै दुःख गरियो । हुम्लामा फागुनमा शैक्षिक शत्र सुरु हुन्छ । चैत्रमा एसएलसी हुन्छ तर पढाइ हुँदैन । शिक्षकले चिट चोराउने मात्र हो । कामको लागि बिदा, वर्षा बिदा, जाडो बिदा गरेर लगभग तीन महिना पनि राम्रोसँग विद्यार्थी पढ्न पाउँदैनन् । म त्यसरी दुःख गरेर हुम्लाबाट सुर्खेत झरेको मान्छे कलेजको पहिलो दिन नै साथीहरूसँग झगडा पर्‍यो ।
हुम्लाबाट आएको विद्यार्थी साथीहरूले मात्रै होइन शिक्षकले पनि हेपाहा प्रवृति देखाएकै हुन् । साथीहरूले गरेको नराम्रो व्यवहारले मलाई पढाइप्रति उत्प्रेरित बनायो । दिनमा म त्यस्तै ६ घण्टा जति पढ्थे । आजभोलि अली राजनीतिले छोएको छ । मलाई कलेजको पहिलो दिनमा मै नरामाइलो महसुस भयो ।
मलाई कलेजको पढाइ र विद्यालयको पढाइमा धेरै फरक लाग्यो । विकट क्षेत्रमा नेपाली माध्यममा पढेको तर पनि विद्यालयमा कहिल्यै दोस्रो भइनँ, सधैं प्रथम हुन्थें । म हुम्ला जिल्लाबाट सरकारी विद्यालय मध्ये जिल्ला प्रथम भएको हुँ । त्यही भएर पनि कलेजमा धेरै मेहेनत गर्नुपर्ने भयो । उच्च माध्यमिक शिक्षा परिषद्बाट जेहेन्दार विद्यार्थी छात्रवृत्ति पनि पाएँ ।
कलेजमा धेरै किसिमका विद्यार्थी हुनाले धेरै कुराको चुनौती हुने रै’छ । कलेजमा क्लास बंक कहिल्यै गरिनँ । घुम्न एकदमै मनपर्ने भएकोले घुम्न गइन्छ । फिल्म हेर्न साथीहरू भए जान्छु तर पनि मलाई आफ्नो कामप्रतिको इमान्दारिता मनपर्छ ।
अन्यायमा परेकाहरूलाई सहयोग गर्नु पे्रम हो । मलाई दुःख परेका र कु–संस्कृत समाजसँग वैचारिक लडाईं गर्न मनपर्छ । तर मैले प्रेमीकासँग भने प्रेम गरेको छैन । मेरो प्रेम भनेको सांस्कृतिक परिवर्तन, राजनीतिक परिवर्तन गर्न चाहान्छु । र न्यायको लागि लड्न चाहान्छु । गाउँमा पनि मलाई एकदमै अप्ठ्यारो परिस्थिति आइपर्छ । म कुरीतिलाई चिर्न चाहान्छु तर बुद्धिजीवि सर्कलबाटै छुवाछुत, छाउपछि प्रथालाई बढावा दिने काम हुन्छ ।
मलाई राजनीतिमा उत्प्रेरणा हुनुको एउटै कारण छ । ठूलाबडा भनौदाहरूले महिला र दलितलाई यतिसम्मको हिंसा गर्छन् कि त्यहाँका महिलाहरू हरेक रात बलात्कृत हुन्छन् । मानसिक रूपमा महिलाहरू पीडित छन् । त्यो कारण पनि मलाई राजनीतिबाटै परिवर्तन गर्ने रहर छ ।
विश्वविद्यालयमा ईन्जिनियरिङ्गको प्रवेशिका परीक्षा दिएँ । नाम निक्लियोे । मलाई पढाइ खर्चका लागि तत्कालीन गाउँ विकास समितिले आर्थिक सहयोग गरेको हो । मेरो पढाइ अहिले आएर बिग्रिएको छ । विश्वविद्यालयको राजनीतिक खिचातानी धेरै छ । जस्तोसुकै परिस्थितिमा पनि मैले मेरो समाज परिवर्तन गर्ने अठोट बोकेको छु ।

प्रकाशित मितिः   २२ मंसिर २०७५, शनिबार १६:४७