२१ दुर्घटनाः १३ को मृत्यु, ९२ घाइते

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ मंसिर ।
सुर्खेत जिल्लामा पाँच महिनाभन्दा कम अवधिमै सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो साढे चार महिनामा मात्र जिल्लामा २१ वटा सवारी दुर्घटना भएका छन् । जसमा परेर १३ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन् ।
कार्यालयका अनुसार साउन महिनामा जिल्लामा एउटा मात्रै दुर्घटना भएको थियो । जसमा एक जनाको मृत्यु भयो । त्यसैगरी भदौमा पाँच वटा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए भने २४ जना घाइते हुन पुगे । असोज महिनामा भएका सात वटा दुर्घटनामा परी तीन जनाको मृत्यु हुँदा १२ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार कार्तिक महिनामा चार वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना नै घाइते भएका छन् । मंसिर १६ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा चार वटा दुर्घटना हुँदा चारले ज्यान गुमाएका छन् भने ५३ जना घाइते भएका छन् ।
जिल्लामा हुने गरेका सडक दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिएको छ । अधिकांश दुर्घटना चालकहरूको लापरबाहीका कारण हुने गरेका छन् । सवारी साधनको दुर्घटनाको दोस्रो कारकको रूपमा तीव्र गति देखिएको छ । यहाँको भौगोलिक अवस्था, कमजोर सडक नीति, चालकको लापरबाही नै सडक दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

जति कारबाही, त्यति उल्लंघन
जिल्लामा ट्राफिक नियम उल्लंघनका घटना बढ्दै गएको पाइएको छ । नियमित कारबाही गरे पनि नियम उल्लंघन गर्ने प्रवृत्ति भने रोकिएको छैन । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक हेर्ने हो भने हरेक महिना ट्राफिक नियम उल्लंघन बढ्दै गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउनमा एक हजार चार सय ४१ वटा ट्राफिक नियम उल्लंघनका घटना भएका थिए भने भदौमा त्यो संख्या बढेर एक हजार ६ सय ९७ पुगेको छ । यस्तै असोजमा एक हजार आठ सय १४ र कार्तिकमा दुई हजार दुई सय ९० वटा नियम उल्लंघन भएको ट्राफिक प्रहरीले जनाएको छ । मंसिरको १६ गतेसम्ममा मात्रै एक हजार एक सय ३४ वटा घटना भएका छन् ।
ट्राफिकले नियम उल्लंघन गर्नेहरूलाई गरेको कारवाहीबाट उल्लेख्य राजश्व संकलन गर्न सफल भएको छ । साढे चार महिनामा ५१ लाख ४९ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । साउनमा आठ लाख ५२ हजार, पाँच सय, भदौमा १० लाख ३७ हजार, असोजमा १० लाख ४२ हजार र कार्तिकमा १४ लाख ४८ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको जनाइएको छ । मंसिर १६ सम्म सात लाख ६९ हजार पाँच सय रूपैयाँ संकलन भइसकेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीलाई ब्लू बुक दिने, सवारी दर्ता खारेज गर्नसक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्नसक्ने अधिकार छ । तर विभागले पनि भने जसरी काम गर्न सकेको छैन । चालकहरूले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन् । चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरी चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरू सुधार्ने, यात्रु तथा पैदल यात्रीहरू सचेत हुने हो भने दुर्घटना न्यूनीकरण हुने सरोकारवालाहरू बताउँछन् ।

जनचेतना जगाउँदै
नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्न थालेपछि ट्राफिक प्रहरीले जनचेतना जगाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । विद्यालयहरूमा पुगेर ट्राफिक नियम सम्बन्धी अन्तरक्रियासमेत गर्ने गरिएको छ । चालु आर्थिक वर्षमा जिल्लाका ३२ विद्यालयका चार हजार दुई सय ७७ जना विद्यार्थीलाई यस सम्बन्धी जानकारी गराइएको छ ।
यस्तै हरेक महिनामा दुई पटक गरी १० वटा अन्तरक्रिया गरिएको छ भने सवारी चालकहरूलाई प्रत्येक दिन ट्राफिक नियमबारे जानकारी दिने गरिएको छ । यस अन्तर्गत एक सय ६० पटकमा सात हजार ६७ जना सवारी चालकलाई यसबारे जानकारी गराइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २० मंसिर २०७५, बिहीबार ११:४२