‘उद्यमीलाई प्रोत्साहन गर’

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ मंसिर ।
जिल्लामा रहेका उद्यमीहरूले आफूहरूलाई प्रोत्साहन हुने गरी योजना ल्याउन सरकारलाई आग्रह गरेका छन् । आयोन नेपालको आयोजना तथा भीएसओ नेपाल, हुरेक नेपाल र विभिन्न संघ–संस्थाहरूको समन्वयमा बुधवार वीरेन्द्रनगर आयोजित कार्यक्रमका सहभागी उद्यमीहरूले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा सहभागी युवा उद्यमी भानुभक्त खड्काले आफूले गार्मेन्ट उद्योग सञ्चाल गर्दै आएको भए पनि बाहिरबाट जनशक्ति र कच्चा पदार्थ ल्याउनु पर्दा समस्या भएको बताए । उनले भने ‘हामी युवाहरू उद्यममा उत्साहित हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको छैन । जसले गर्दा व्यवसाय नै नगरौं कि जस्तो लाग्छ ।’ त्यस्तै कार्यक्रममा बोल्दै युवा उद्यमी तथा थारु होमस्टे सञ्चालक जीतबहादुर चौधरीले सरकारले विकासका पूर्वाधारहरूको निर्माण समेत समयमै गर्न नसक्दा आफूहरूको व्यवसायलाई अप्ठ्यारो परेको बताए । उनले भने ‘वीरेन्द्रनगर–१० नयाँ गाउँमा मेरो होमस्टे छ । तर नजिकैको काँक्रेविहार घुम्न जाने रहर बाहिर जिल्लाबाट आउने पर्यटकले गर्दछन् । सरकारले योजना अनुसार रिङ्गरोड निर्माण गर्न नसक्दा पर्यटकहरू निरास भएर फर्किको अवस्था छ ।’ कम्तीमा पनि पर्यटक आउने क्षेत्रहरूमा विकासका गर्ने हो भने पर्यटक भिœयाएर नै मनग्य आम्दानी सरकारले गर्नसक्ने चौधरीको भनाइ रहेको थियो ।
त्यस्तै वीरेन्द्रनगर–१३ मा रहेको आफर होमस्टेकी सञ्चालक रचना बाठाले महिला उद्यमीका लागि समेत सरकारले बजेटको व्यवस्था गरिदिनुपर्ने बताइन् । कार्यक्रममा उपस्थित युवाहरूले उद्यमलाई कसरी स्वयम्सेवामा जोड्न सकिन्छ भन्ने सवालमा समेत छलफल गरेका थिए । अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको छलफलमा युवाहरूले स्थानीय सरकारको पहलबाटै स्वयम् सेवकको लागि सम्मानको कार्यक्रम, स्वयम्सेवक नीति निर्माण, चार्डवार्डको अवसर पारेर जनचेतनाको कार्यक्रम, लगायतका कामहरू तत्काल गर्नुपर्नेमा जोड दिएका थिए । उद्यमीहरूको प्रश्नमा जवाफ दिँदै कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले उद्यमीहरूका लागि सम्मानको वातावरण सिर्जना हुनेगरी काम गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता व्यक्त गरिन् । आयोन नेपालका केन्द्रीय सदस्य जगदिशकुमार आयरले कार्यक्रमबाट आएका युवाका सुझावहरूलाई सम्बन्धित निकाय समक्ष पु¥याउन सहयोग गर्ने बताए ।

प्रकाशित मितिः   २० मंसिर २०७५, बिहीबार ११:२९