अख्तियारको ‘स्टिङ अपरेशन’

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ मंसिर ।
अस्थायी प्रहरी पोष्ट बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ गत असोज २८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको ‘स्टिङ अपरेशन’को फन्दामा परे । सेवाग्राहीबाट १५ हजार रूपैयाँ घुस लिएर भाग्दै गर्दा उनी रङ्गेहात पक्राउ परेका थिए ।
चालु आर्थिक वर्ष २०७५÷०७६ मा अख्तियारद्वारा रङ्गेहात पक्राउ पर्ने श्रेष्ठ पहिलो व्यक्ति हुन् । तर सुर्खेतमा अख्तियारको कार्यालय स्थापना भएयता २८ जना अख्तियारको स्टिङ अपरेशनको फन्दामा परिसकेका छन् । सुर्खेतमा कार्यालय स्थापना भएको पहिलो वर्ष २०७१/०७२ मा नौ जनालाई रङ्गेहात पक्राउ गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा ११ जना, आर्थिक वर्ष २०७३/०७४ मा तीन जना र आर्थिक वर्ष २०७४/०७५ मा चार जनालाई घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले रङ्गेहात पक्राउ गरेको कार्यालयले जनाएको छ । सरकारी निकायमा घुस खाने क्रम बढेको देखिएपछि आयोगले विशेष अपरेशन नै सञ्चालन गरेर कारबाही थालेको हो । आयोगले घुस खानेहरू विरुद्ध स्टिङ अपरेसन नै सञ्चालन गरिरहेको छ ।
सरकारी कार्यालयमा लिइने घुस मात्र होइन अन्य सार्वजनिक स्थानमा हुने आर्थिक अनयमितता लगायतमा पनि अख्तियारले निगरानी बढाएको छ । जसले गर्दा सुर्खेतस्थित कार्यालयमा पनि ठूलो संख्यामा उजुरी पर्ने गरेका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म कर्णालीका दस जिल्लाबाट पाँच सय तीन वटा उजुरी परेका छन् ।
सबैभन्दा बढी सुर्खेतबाट एक सय ६ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । त्यसैगरी दैलेखका ८५, जाजरकोटका ७३, कालिकोटका ५८, जुम्लाका ४२, हुम्लाका ४०, रुकुम पश्चिमका ३५, सल्यानका ३३, मुगुका २१ र डोल्पाका ६ वटा उजुरी परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए । उजुरी परेका पाँच सय तीनमध्ये एक सय १२ वटा फछ्र्यौट भइसकेका छन् भने तीन सय ९१ वटा फछ्र्यौट हुन बाँकी छन् ।

प्रकाशित मितिः   २० मंसिर २०७५, बिहीबार ११:२८