‘महिलामाथि धेरै हिंसा’

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ मंसिर ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि महिलाहरू सशक्त हुनपर्ने बताएकी छिन् । वीरेन्द्रनगरमा आयोजित लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले लैङ्गिक हिंसा अन्तर्गतका बढी जसो घटना महिलासँग सम्बन्धित भएकोले महिला सशक्तीकरण अनिवार्य रहेको उनले औंल्याइन् ।
संघीयतापछि देशमा तीन तहका सरकार निर्माण भएकाले हिंसा न्यूनीकरणमा ती सरकारको भूमिका अपरिहार्य भएकोमा जोड दिँदै मन्त्री थापाले संघीय सरकार यस्ता विषयमा तल्ला तहका सरकारलाई सशक्त बनाउने काममा लागिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा सभ्यता कायम राख्न सके लैङ्गिक हिंसा न्यूनीकरण हुने बताए । समाजमा रहने केही नागरिकमा आपराधिक क्रियाकलाप गर्न प्रेरित मानसिकता रहेको भन्दै उनले हिंसा विरुद्धको अभियानका क्रममा दिमागमा भएको फोहर हटाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
सामाजिक विकास मन्त्री दल रावलले हिंसाजन्य क्रियाकलाप अन्त्य गर्न सामाजिक कुरितीका संरचना भत्काउनुपर्ने बताए । ‘महिलाहरू विभिन्न खालका हिंसाबाट पीडित हुनुहुन्छ’ उनले भने, ‘सामाजिक कुरितीका संरचना भत्काउन सकेमा हिंसा अन्त्य हुन्छ, त्यसका लागि तीन तहका सरकारले काम गर्नु आवश्यक छ ।’ प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक समितिका सभापति निरदेवी पालले हिंसाका घटनाहरू बाहिर ल्याउनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७५, बुधबार ११:२०