दृष्टिविहीन छात्राहरूलाई सेनेटरी प्याड वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ मंसिर ।
दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतले २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा दृष्टिविहीन छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको छ । पूर्वी सुर्खेतको राकममा सिम्ता गाउँपालिकामा रहेको बागेश्वरी सामुदायिक विद्यालयमा अध्ययनरत आठ जना छात्राहरूका लागि ३० थान सेनेटरी प्याड र अन्य तीन जना दृष्टिविहिन छात्रलाई एमपी थ्री प्लेएर अपाङ्ग उत्थान केन्द्र राकम सिम्तालाई वितरण गरेको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले जानकारी दिए ।


दृष्टिविहीन विद्यार्थीहरूका लागि फेसबुक लगायत विभिन्न माध्यमद्वारा सहयोग जुटाई हाल १२ जना दृष्टिविहीन छात्र–छात्रालाई छात्रवृत्ति प्रदान गरिरहेको अध्यक्ष शाक्यले बताए । वीरेन्द्रनगर सुर्खेतस्थित एञ्जल स्टोरका सञ्चालक कमल चालिसे र अन्जु सिक्देलले एक सय थान सेनेटरी तथा केन्द्रका आजीवन सदस्य ज्वाला कम्प्युटर सप्लायर्सका सञ्चालक सुदिपकुमार केसीले तीन थान एमपी–थ्री प्लेएर सहयोग गरेका हुन् ।
कार्यक्रममा अपाङ्ग उत्थान केन्द्र राकम सिम्ताका अध्यक्ष योगेन्द्र शाहीले दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतले दृष्टिविहीन विद्यार्थीहरूका क्षेत्रमा गरेको कार्यहरूको प्रशंसा गरे । त्यस्तै कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतलाई सम्मान तथा कृतज्ञता ज्ञापन गरिन् । बाँकी रहेको सेनेटरी प्याड अन्य क्षेत्रका दृष्टिविहीन विहीन छात्राहरूलाई वितरण गरिने केन्द्रले जनाएको छ ।
कार्यक्रममा दृष्टिविहीन हेरविचार केन्द्रका सचिव सोमना खड्काले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष दृष्टिविहीन मेनका आचार्यले आफ्नो भनाइ राखेकी थिइन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७५, बुधबार ११:१७