अनियमित शिक्षकलाई लगाम

जगतदल जनाला बिक
पञ्चपुरी, १८ मंसिर ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगाम सुर्खेतमा मंगलवारदेखि विद्युतीय हाजिरी प्रणाली सुरु गरिएको छ । विद्यालयका शिक्षक, कर्मचारीहरूलाई नियमित र समयमा उपस्थिति गराउन यो प्रणालीलाई सदुपयोग गरिएको विद्यालयका प्रधानाध्यापक लालबहादुर थापाले बताए ।
शिक्षकहरू कार्यालय समयमा नआउने र विद्यार्थीहरूको पठन–पाठनमा समस्या देखिने भएको हुँदा यो प्रणालीको आवश्यक रहेको थापाले बताए । अरु बेला मनोमानी आउने–जाने शिक्षक विद्युतीय हाजिरी सुरु भएपछि बिहान १० बजेभित्र र साँझ ४ बजेसम्म शिक्षकहरू विद्यालयमै उपस्थित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह विकले बताए । दिनमा दुई पटक बिहान १० र अपरान्ह ४ बजे हाजिर लाग्ने र प्रत्येक महिना प्रिन्ट आउट गरी शिक्षकहरूको पूरा विवरण राखिने भएकोले समितिले शिक्षकहरूको मूल्यांकन गर्न र पठन–पाठनलाई प्रभावकारी बनाउन २३ हजारको लागतमा विद्युतीय हाजिरी मेसिन जडान गरेको अध्यक्ष विकले बताए ।
यसअघि समयमै शिक्षक नआउँदा कैयौं दिन पहिलो घण्टी पढाइ नै नहुने गरेको कक्षा १० मा अध्ययनरत जयन्ती विकले गुनासो गरिन् । विद्युतीय हाजिरी प्रणाली लागू गरेपछि यस्ता समस्यामा सुधार आउनेमा उनी विश्वस्त छिन् । शिक्षकहरू महिनामा केही दिन मात्र उपस्थित हुने र हाजिर पूरै महिनाको लगाइ तलब बुझ्ने स्थितिलाई यो प्रणालीले नियन्त्रण गर्ने शिक्षक–अभिभावक संघका अध्यक्ष पदम बान्तोलाले बताए । यो प्रविधिको प्रयोग पश्चिमका बराहताल, पञ्चपुरी र चौकुनेकै सरकारी कार्यालयमा समेत लागू गरिएको छैन ।

प्रकाशित मितिः   १९ मंसिर २०७५, बुधबार ११:१७