आफूलाई आम्दानी, अरुलाई पनि रोजगारी

रोजगारीको लागि कैयौं युवाहरू भौंतारिरहेको अवस्था छ । सबैलाई समाजले सम्मान गर्ने पेसा चाहिएको छ । त्यसैको पछाडि लाग्दा–लाग्दा युवाहरू निराशसमेत हुने गरेका छन् । कतिपय युवाहरू स्वदेशमा रोजगारी नपाएपछि विदेशिने गरेका छन् । केही युवायुवतीहरू समृद्ध भनिएका राष्ट्रमा जान सफल भए पनि धेरै जसो युवाहरू खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । तर हाम्रै समाज केही यस्ता युवाहरू पनि छन्, जसले आफ्नै परिश्रमले ‘सुन फलाउन’ सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् ।
वीरेन्द्रनगर–४ भैरवस्थानका विनोद कँडेल पनि यस्तै एक उदाहरणीय युवा हुन् । बुबा टिकाराम कँडेल र आमा लिलावती कँडेलको कोखबाट जन्मिएका उनी पेसाले युवा उद्यमी भनेर चिनिन्छन् । सँगसँगै वीरेन्द्रनगर नगरपालिकामा नगर कृषि विकास शाखामा प्राविधिक पदमा समेत उनले काम गर्दै आएका छन् । घरका जेठा छोरा विनोदले साहारा क्याम्पसमा बीबीएस पढ्दैछन् । सानैदेखि डाक्टर बन्ने सपना देखेका उनलाई परिवारले व्यवसाय गर्ने भनेपछि व्यवस्थापन विषय लिएर अध्ययन गरे । विभिन्न संघ–संस्थाहरूमा आवद्ध हुँदाहुँदै उनलाई कृषि पेसामा आकर्षण बढ्यो । रोजगारीको खोजीमा भौंतारिनु भन्दा आफैले अरुलाई रोजगारी दिनुपर्छ भन्ने सोच बोकेका युवा उद्यमी कँडेलले आफ्नो पेसागत जीवनका कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटेः

बुबाआमा पहिल्यैदेखि व्यवसाय गर्नुहुन्थ्यो । म घरको जेठो छोरा । मलाई सानैदेखि डाक्टर बन्ने मन थियो । तर बुबाआमा व्यवसाय गर्ने भएकोले व्यवसायीको छोराले व्यापार नै गर्नुपर्छ भन्ने दबाबका कारण मैले व्यवस्थापन विषय लिएर पढें । जब म एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्न थालें । मैले धेरै संघ–संस्थाहरूमा आवद्ध भएँ । जसले गर्दा मलाई कृषिप्रति एकदमै आकर्षण बढ्यो ।
व्यवसायी विनोद चौधरीको प्रशिक्षणमा बस्ने मौका पाएको थिएँ । उहाँले रोजगारी खोज्ने होइन अरुलाई दिनसक्ने क्षमता बनाउनुपर्छ भन्नु भएको थियो । त्यो कुराबाट म बढी प्रभावित समेत भएको हुँ । मैले वि.सं. २०७० सालदेखि नै कृषि गर्न थालेको हुँ । तरकारी खेती र कुखुरापालनबाट मेरो उद्यम सुरु भएको हो ।
मेरो घरको दुई कट्टा जग्गामा मैले कृषि गर्न सुरु गरेको भए पनि हाल १६ कट्टा जग्गा भाडामा लिएर उद्यम सञ्चालन गरेको छु । पाँच वटा टनेलमा तरकारी गरेको छु र एक हजार कुखुरा अटाउने खोर पनि तयार गरेको छु । नेपाल कृषि तथा पशुपालन फर्म २०७४ सालमा विधिवत रूपमा दर्ता गरी उद्यम सञ्चालन गर्दै आएको छु । म सँग अहिले ओजेटीमा १६ जना कृषि जेटिए तथा कृषि विज्ञान पढेका विद्यार्थीहरू छन् ।
विशेषगरी अर्गानिक तरकारी उत्पादनमा मेरो जोड हो । मलाई सुरु–सुरुमा त परिवारमा पनि कृषि नगर भन्नु भएको हो । तर कृषिबाटै मैले मेरो भविष्य देखेपछि कृषि गर्नकै लागि मैले कृषि प्राविधिक पढें । त्यसपछि व्यवसायिक कृषि गर्न सुरु गरें । मलाई समाजमा पनि यत्रो पढेको छोरो जागिर खान नसकेर तरकारी र कुखुरा पाल्न थाल्यो भन्ने खालका कुराहरू पनि गर्नुहुन्थ्यो । तर मैले उहाँहरूको कुरालाई मानिन् । अहिले मेरो उद्यममा दुई जनालाई रोजगारी दिएको छु । सँगसँगै ओजेटी गर्ने विद्यार्थीहरूका लागि पनि केही आम्दानी हुनेगरी काम अगाडि बढाएको छु ।
सबै खर्च कटाएर मैले मासिक ३० हजार रूपैयाँ बचाउने गरको छु । सुरुमा मैले दुई लाखको लगानी गरको हुँ । अहिले मेरो कृषि फर्म लगभग २० लाख भन्दा बढीको भएको छ । मसँग कृषि सामग्रीसमेत सबै छ ।
मेरो भविष्यको उद्देश्य भनेको कर्णाली प्रदेशकै नमुना र अर्गानिक कृषक बन्न उद्देश्य छ । सकेसम्म बढी भन्दा बढी युवाहरूलाई रोजगार दिने मेरो उद्देश्य छ । म मेरो पेसाप्रति एकदमै सन्तुष्ट छु । मैले दिनभरी नै मेरो कृषि फर्मलाई पनि दिएको छैन । वीरेन्द्रनगर नगरपालिकामा नगर कृषि विकास प्राविधिक रूपमा समेत काम गर्दै बिहान बेलुकी कृषिमा काम गर्दै आएको छु ।
नेपालमा कृषि गर्नेहरूलाई सम्मान त गरिंदैन । म चाहान्छु कि नेपाली युवाहरूको सोच बदलियोस् र मेरो उद्यम देखेर उहाँहरू पनी कृषिमा आकर्षित हुनुहोस् । जसले गर्दा नेपाली युवाहरू रोजगारको खोजीमा खाडीमा जानु नपरोस् ।

प्रकाशित मितिः   १९ मंसिर २०७५, बुधबार ११:०८