पुरुषसत्ताको संकथनमा महिला अस्तित्व

रेशम विष्ट
‘हेर हेर छोरी मान्छे भएर कति चर्को बोल्न सकेकी…’
‘छोरीले भात–भान्साको काम सिक्नु पर्छ….’
‘साँझ अबेर नगरी घर फर्क है छोरी…’
‘छोरो भै’दिए देश–परदेश गथ्र्यो होला, बाआमालाई पाल्थ्यो होला, छोरीहरू मात्र भए । विचारा । बाबुआमा बुढेसकालमा …’

यी र यस्तै थुप्रै अभिव्यक्ति मौलिक नेपाली समाजका साझा अभिव्यक्ति हुन् । जुन नेपाली पुरुष प्रधान समाजले निर्माण गरेका संकथनका उपज हुन् । शिक्षित परिवारका सदस्यहरू पनि छोरीको दैनिक जीवनका तगारा यी र यस्तै थुप्रै मान्यताहरूलाई तारबार गरिरहेका छन् । मानिस जन्मेको सामाजिक परिवेशले उसको चिन्तन, आनीबानी र व्यवहार निर्माण गर्न ठूलो भूमिका खेलेको हुन्छ ।

नेपाली समाजमा हुर्के–बढेका धेरै नेपालीमा पुरुषप्रधान चिन्तन पनि सँगै हुर्कन्छ । पुरुषवादी प्रवृत्ति र व्यवहारहरू पनि समाजका हरेक इकाईहरूमा हुर्कदै जान्छन् । अनि समाजका हरेक सदस्यहरूमा पुरुषत्वको इगोले महिलामैत्री आचारण प्रकट गर्न सक्दैनन् । त्यही पुरुषबादी अहंकारले महिलाहरू समाजका हरेक क्षेत्रमा पछौटे पनको शिकार भइरहेका छन् ।

सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा महिलाहरू पुरुषको दाँजोमा कतै धेरै पछाडि छन् । गाउँटोलका सामान्य बैठकहरूमा समेत महिलाहरू नगन्य मात्रमा उपस्थित हुन्छन् । सहभागी भइहाले पनि उनीहरू पुरुष सरह आफ्ना विचारहरू राख्न पाइरहेका छैनन्, सकिरहेका हुँदैनन् । सरकारी अड्डामा महिलाको उपस्थिति हे¥यो भने पुरुषको दाँजोमा न्यून नै छ । त्यतिमात्र हैन राज्यको नीति निर्माणको तहमा समेत महिलाको पहुँच पर्याप्त छैन । संख्यात्मक रूपमा महिलाहरू पुरुषहरू भन्दा बढी छन् तर भूमिकामा पुरुषको दाजोमा आधा पनि छैनन् । तर पनि यो सब सबैलाई ठीक लागिरहेछ । समाजका हरेक पठित वा अपठित पुरुषहरू सोचिरहेका छन् कि महिलाहरू जुन भूमिकामा छन् त्यो नै पर्याप्त छ । त्यो भन्दा उदेक लाग्दो पक्ष त अझ के छ भने कतिपय महिला स्वयम् नै ठानिरहेका छन् कि महिलाहरूले जे प्राप्त गरेका छन् त्यो नै पर्याप्त छ । मानौं उनीहरू यति प्राप्तीका मात्र लायक छन् बाँकी राज गर्ने प्राकृतिक अधिकार सबै पुरुषको नै हो ।

सीमित महिलाहरू मात्र अधिकार, पहुँच र अवसरका नजिक छन् । तर अधिकांश नेपाली ग्रामीण बस्तीका महिलाहरूका लागि अधिकार र अवसर त एका देशको कथा नै हुन् । उनीहरू सामान्य मानिसले पाउने खुशी र सुखको जीवन जिउनबाट समेत वञ्चित छन् । पुरुषप्रधान अहंकारको शासनले थला परेका ग्रामीण महिलाहरूको जीवन नारकीय छ भन्दा अतियुक्ति हुँदैन होला । अधिकांश महिलाहरू घर धन्दा, भात भान्सा र मेलापातका काममा सरिक हुन्छन् । सँगै सन्तानको लालनपालन, पोषण र हुर्काउन समेत विशेष भूमिकामा हुन्छन् । जिम्मेवारीले थिचिएका महिलाहरूलाई पुरुषत्वको शासनले अझ बढी प्रताडित बनाएको छन् । तिनी महिलाहरू पुरुष अहंकारले दिनहुँ घरेलु हिंसाको सिकार भइरहेका छन् ।

पुरुषहरूको मानसिक, शारीरिक, यौनिक तथा आर्थिक यातनाको शिकार भइरहेका छन् । महिलालाई बोक्सीको आरोपमा अपमान गरिन्छ, कुटपिट गरिन्छ । दुःख, कष्ट झेलेर गृहस्थी गरिहरेकी श्रीमती घरमा हुँदा हुँदै अर्को विवाह गरिन्छ । दाइजो नल्याएको निहुँमा महिलाहरू कुटिछन्, जलाइन्छन् । किशोरीहरू लुटिछन् । समाजका विभिन्न कु–संस्कारको घुम्टो, देउकी, झुमा, छाउपडी आदि प्रथाहरूले महिलालाई मानिस भएर बाँच्न दिएका छैनन् । महिलाले पाइलैपिच्छे सहने अपमान, दुव्र्यवहार र तिरस्कार अनगिन्त छन् । यी र यस्तै घरेलु हिंसाले नेपालका हरेक क्षेत्रका महिला उत्पीडित छन् । हामी बाहिरी आवरणमा देखिरहेझैं सहर बजारका पठित कूल घरानाका महिलाहरूको अवस्था पनि त्यति राम्रो छैन । उनीहरू पनि कुनै कुनै किसिमको घरेलु हिंसाबाट पीडित भइरहेका छन् । संख्यात्मकरूपमा ग्रामीण महिला भन्दा सहर बजारका महिलाहरूमा पुरुषत्वको उत्पीडनको ग्राफ कम होला तर पुरुषप्रधानको अहकारले दबिएका र थिचिएका महिलाहरू नेपाली समाजमा व्याप्त छन् । पुरुषको चेतले ठानिरहेको छ कि महिला माथिको नियन्त्रण पुरुषको अधिकार हो । अनि महिलाहरू सोच्दछन् यो सबै महिला भएकैले गर्नु परेको हो । उनीहरूलाई लाग्छकी सबैले यसरी नै सहनु पर्छ जसरि आजसम्म हरेक महिलाहरूले सहदै आए ।

महिला र पुरुष एक अर्काका परिपूरक हुन् । आदिकालदेखि महिला र पुरुष एकाकार भएर संसार चलिरहेको छ । तर पनि केही अपवादका घटना बाहेक मूलरूपमा महिला सधैं पुरुषकै उत्पीडनको शिकार भइरहेको यथार्थ हाम्रा सामु छ । हुन त महिलामाथि हुने हिंसाका प्रकृति फरक होलान । देखिने र नदेखिने अरु थुप्रै कारणहरू होलान । तर नेपाली समाजको चरित्र हेर्दा महिला हिंसाको प्रमुख कारण नेपाली समाजको पुरुष प्रधान सत्ता हो । पुरुष प्रधान समाजले निर्माण गरेका थुपै अवयवहरू महिलाको अधिकार मैत्री छैनन् । महिला उत्पीडनका थुप्रै आयामहरू छन् तथापि सबै आयामहरूको मूल जरो भनेको पुरुष प्रधानताले निर्माण गरेको आदर्श र इगोको वरिपरि छ ।

पुरुष र महिला बीचको विभेदको खाडललाई पुर्नका लागि थुप्रै प्रयासहरू भइरहेका छन् । सरकारी र निजीस्तरबाट महिलामाथिका घरेलु हिंसालाई न्यूनीकरण लागि अनिगिन्ती कदमहरू चालिएको छ । तर पनि अपेक्षाकृत सफलता भने हात लागेको छैन । समस्याको समधान सतहमा खोजिएको छ । यसको गहिराइलाई मापन गर्ने हो भने समस्या सामाजिक संरचनामा छ । समाजमा जो मानिस शक्तिशाली हुन्छ उसले नीति–विधिहरू निर्माण गर्छ र उक्त नीति–विधिहरूलाई कमजोर माथि थुपार्छ । समाजको उपल्लो वर्गका मानिसले निर्माण गरेका नीति नियमहरू कमजोरमाथि शासन गर्ने उद्देश्यले निर्माण गरेको हुनाले ती सारा नीतिहरू आफ्नो वर्गमैत्री हुन्छन् । त्यस्तो मानिसले समाजमा शक्ति आर्जन गर्छ, बाठो हुन्छ, ज्ञान आर्जनमा अगाडि हुन्छ । ज्ञान, बुद्धि, बेबेक र चतुर्ताले आर्जन गरेको शक्तिको आडमा मानिस नीति र विधि निर्माण गर्ने तहमा पुग्छ । तिनै समाजका शक्तिशाली वर्गका मानिसले निर्माण गरेको उनीहरूको अनुकूलको आदर्श विस्तारै समाजको सङकथन बन्छ । पछिका पिढीहरू त्यही निर्मित संकथनलाई आत्मसात् गर्छन् । अनि समाजका हरेक अध्यायहरूमा शक्तिशालीले निर्माण गरेका संकाथनहरूद्वारा समाज संरचित हुन्छ र सोही अनुरूप समाज अगाडि बढ्छ ।

आजको समाजको संकथन पुरुषवादी चिन्तनको उपज हो । हिजोदेखि आजसम्म निर्माण भएका हरेक समाजका इकाईहरूमा पुरुषवादी संकथन हावी छन् । कला, साहित्य, ज्ञान, विज्ञान, खेलकुद, शिक्षा लगायत सामाजका हरेक अवयवहरूमा पुरुष प्रधान संकथनहरू व्याप्त छन् । पौराणीककाल रचित रामायण र महाभारतमा वर्णन गरेको पुरुष पात्रका बहादुरी र महिला पात्रको निरीहता पढ्दै र सुन्दै आएको हाम्रो समाजले सोही अनुरूप नारी र पुरुषका जीवन बुझाइका स्पष्ट धारणा बनायो । समाजको हरेक इकाईमा अगुवा पुरुषहरूले आफू अनुकूल संकथनहरू निर्माण गर्दै गए । महिलालाई घर आँगन र भात भान्सामा सीमित गरिदिए । जन्मदा महिलाको रूपमा जमिएको एउटा लिंगलाई पुरुष सत्ताले निरीह नारी बनाउँछ । सँगै नारीका लागि समाजका नीति विधिहरू निर्माण गर्छ । जसले वास्तविक रूपमा महिलालाई महिला भएर बाँच्न पाउने अधिकार विमुख गराइदियो । आदिकालदेखि अहिलेसम्म हामी हरेक महिला वा पुरुषको मनमा लाग्ने गर्छ पुरुष शक्तिशाली, शासक, देव–महादेवरुसबै पुरुष । नारी त अबला, विचरा, पुरुषको कृपामा बाँच्ने परजीवी जस्तै ।

धर्म संस्कृतिमा समेत शिवलिंगको ‘महानता’ का अघिल्तिर नारीहरूलाई नतमस्तक परिन्छ । धर्मकर्म, पाठ पूजा सबका सब पुरुषत्व स्थापित गर्न आयोजित हुन्छन । पुरुषको शक्ति र भक्तिको मोहमा डुबाएर लाखौं नारीलाई तीजको व्रत बस्न लगाइन्छ । महिलालाई घरमा सिमित गरेर निरिह बनाउनका लागि हाम्रा संस्कार र सामाजिक मूल्य मान्यताहरू निर्माण भएका छन् । तिनै पुरुष प्रधान संकथनले जबर्जस्त हरेकको दिमागमा यही यथार्थ भरिदिएको छ । उच्च पठित कूल घरनाका मानिसले समेत महिलामैत्री व्यवहार देखाउन सक्दैनन्, कारण पुरुषवादी संकथनले हरेकको दिल दिमागमा जरा गाडेको छ । आजका युगका फिल्महरूमा महिला पात्रको प्रस्तुतिदेखि बहुराष्ट्रिय कम्पनीका उत्पादन सामग्रीका प्रचारहरू सबैमा पुरुषसत्ताले कुटिलता पूर्वक महिलालाई उपभोग गरेको देखिन्छ । महिलाका लागि घरमा यातना र उत्पीडन, समाजमा तिरस्कार र अपमान, राजनीति र आर्थिक क्षेत्रमा पर्निभरता यी सबका सब पुरुषत्वले अख्तियार गरेको नीतिका उपजहरू हुन् ।

साँच्चिकै महिलामाथि हुने विभेद, उत्पीडन र हिंसालाई समधान गर्न र महिला र पुरुषको समान अस्तित्वको लागि आदिकालदेखि निर्मित महिला विरोध संकथनकाबारे सबै सचेत हुनु जरुरी छ । महिलामैत्री नीति निर्माणका लागि उपस्थिति राज्यको माथिल्लो तहमा महिलाको सम्मानजनक भूमिकाको खाचो छ । परम्परा, सामाजिक रीतिरिवाज, मूल्य मान्यताका नाममा हुने सबै प्रकारका महिला विभेद र हिंसाका घटनालाई प्रश्रय हुने गतिविधिमा नियन्त्रण गर्नुपर्छ । महिला पनि स्वयम् सचेत र जागरूप भएर हिंसा र विभेदका विरुद्ध आवाज उठाउनुपर्छ । यी सबैका लागि शिक्षा महत्वपूर्ण पक्ष हो, त्यसैले सबै नेपाली महिलालाई शिक्षाको सजिलै पहुँच पु¥याउनुपर्छ । महिलाविरुद्ध हुने हिंसा र विभेद हटाउनका लागि सामूहिक प्रयासको खाँचो छ । जसका लागि सबै वर्ग र क्षेत्रका मानिसले सभ्य सामाज निर्माणका लागि महिलामा हुने विभेद लगायत समाजमा हुने सबै प्रकारका विभेदहरूको उन्मूलनका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ ।

(लेखक मप विश्वविद्यालयका उप–प्रध्यापक हुन् ।)

प्रकाशित मितिः   १८ मंसिर २०७५, मंगलवार १३:४३