‘कागजी कामले विकास हुँदैन’

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ मंसिर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि खटेर काम गर्नुपर्ने बताएका छन् । कागज मिलाएर मात्रै विकास देखाउने र बजेट खर्चिने प्रवृतिले कर्णाली प्रदेशको चाहे अनुसारको विकास नहुने बताए । ‘कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानीको आवश्यकता छ’ उनले एक कार्यक्रमलाई सम्वोधन गर्दै भने, ‘एशियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुप¥यो । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ ले कर्णालीले चाहेको विकासको गतिमा समृद्धि सम्भव छैन ।’
परम्परागत शैलीको योजना निर्माण गर्दा विकास नभएको भन्दै उनले विकास गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने बताए । कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको उनले बताए । ‘ठूलो रकम लगानी भए पनि परिणाम देखिएको छैन’ उनले भने, ‘अबको लगानी प्रदेश सरकारले प्राथमिकताका क्षेत्र निर्धारण गरेर गर्छ । नेता र पहुँचको आधारमा टुुक्रे योजनामा होइन, कर्णालीको समृद्धिमा हुनुपर्छ ।’ पहिलो चरणमा कर्णाली प्रदेशको पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको उनले बताए । ‘फाष्ट ट्रयाकबाट कर्णालीको विकास र आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको योजना छ । सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरूले लगानी गर्नुप¥यो । योजना आयोगले परियोजना बैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सूची निर्धारण गर्छ’ उनले भने ।
एसियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरूसँगको छलफल तथा
परामर्श कार्यक्रममा उनले देखिने गरी पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गरे । ‘कम्तीमा कोहलपुर–सुर्खेत सडक ६ लेनको बन्यो भने पनि थुप्रै सम्भावनाको ढोका खुल्नेछ’ एशियाली विकास बैंकलाई आग्रह गर्दै उनले भने, ‘कर्णालीको गरिबी र विकटता बेचेर व्यक्तिगत समृद्ध हुने प्रवृत्ति हावी भयो । दाताहरूको लगानीको सुरक्षा प्रदेश सरकारले दिन्छ ।’ एशियाली विकास बैंकका नेपाल आवासीय नियोग राष्ट्रिय निर्देशक मुख्तोर हामुदखानोभले कर्णाली प्रदेशको विकासबारे साझेदारी गर्न तयार रहेको बताए । कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १८ मंसिर २०७५, मंगलवार ११:०४