घरेलु मदिरा नष्ट

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ मंसिर ।
नगर प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतले घरेलु मदिरा नष्ट गरेको छ । आइतवार र सोमवार वीरेन्द्रनगर–६ बाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो । घरेलु मदिरा बिक्री वितरण भएको सूचनाका आधारमा प्रहरीले दुई सय लिटर मदिरासहित भाँडा बरामद गरेको थियो । मुख्य बजार क्षेत्रबाट बरामद गरिएको मदिरा वडा अध्यक्ष मोतिप्रसाद कँडेलको रोहवरमा नष्ट गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा घरेलु मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने अभियान वडापालिकाबाट थालिने उनले बताए । उनले घरेलु मदिराका कारण दैनिक जसो घर झगडा हुने र पारिवारिक विचलन आउने भएकाले बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए ।
नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका प्रहरी नायव निरीक्षक ढुण्डीराज अधिकारीले प्रहरीमा आउने अधिकांश विवादहरूको कारण भनेकै मदिरा भएको बताए । उनले वीरेन्द्रनगर नगरपालिका
भित्रका वडाहरूमा घरेलु मदिराविरुद्धको अभियान नै सञ्चालन गरिने बताए । प्रहरीले नागरिकसँग सहकार्य गरेर अभियान थाल्ने भएको छ । वडास्तरमा गठन भएका सुरक्षा समितिहरूसँग समन्वय गरेर प्रभावकारी रूपमा मदिराविरुद्ध लाग्ने उनले जानकारी दिए ।
यता, नगरपालिकामा पालिकास्तरीय सुरक्षा समिति गठन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा २३ सदस्य समिति गठन गरिएको हो ।

प्रकाशित मितिः   १८ मंसिर २०७५, मंगलवार ११:०२