खर्च विवरण बुझाउन अटेर

रोकियो दोस्रो किस्ता, मंसिर २५ सम्म बुझाउन निर्देशन


साझा बिसौनी संवाददाता
सुर्खेत, १६ मंसिर ।
सुर्खेतका चार वटा स्थानीय तहहरूले पहिलो त्रैमासिकको खर्च विवरण बुझाउन आलटाल गरेका छन् । पहिलो चौमासिक सकिएको दुई हप्ता बितिसक्दासमेत ती स्थानीय तहले त्रैमासिक खर्च विवरण नबुझाएको पाइएको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ सुरु भएसँगै तीन महिनाका लागि चालु र पूँजीगत खर्चका लागि अनुदान लिएको बजेटको खर्च विवरण पेश गर्नुपर्ने हुन्छ । तर, यहाँका स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयमा खर्च विवरण पेश गरेका छैनन् । पहिलो त्रैमासिक खर्चको विवरण कार्तिकको एक गतेसम्म बुझाइसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सुर्खेतका चार वटा स्थानीय तहले खर्च विवरण पेश गरेका छैनन् । नौ वटा स्थानीय तह रहेको सुर्खेतमा हालसम्म पाँच वटा स्थानीय तहले खर्चको विवरण पेश गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको अभिलेखमा छ । सुर्खेतको सिम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका र लेकवेशी नगरपालिकाले पहिलो त्रैमासिक खर्चको विवरण बुझाएका छैनन् । पहिलो त्रैमासिक खर्च विवरण पेश नगरेपछि ती स्थानीय तहको दोस्रो किस्ताको निकासा रोकिएको छ ।
स्थानीय तहले गरेको खर्च विवरण पेश सम्बन्धी संघीय सरकारले आवश्यक कानुन लागू गर्न नसके पनि बजेट विनियोजन गर्दा त्रैमासिक रूपमा खर्च विवरण पेश गर्नुपर्ने शर्त तोकेको छ । विगतमा चौमासिक खर्च विवरण बुझाउनुपर्नेमा संघले कानुन नबनेकाले त्रैमासिक रूपमा पेश गर्न परिपत्र गरेको थियो । तर, संघले तोकेको शर्तअनुसार स्थानीय तहले विवरण बुझाएका भने छैनन् । संघीय सरकारको परिपत्र अनुसार पहिलो त्रैमासिक खर्च विवरण पेश गरे मात्रै दोस्रो चौमासिकका लागि खर्च लिन पाउने छन् । स्थानीय तहले पहिलो तीन महिनाका लागि निकासा भएको खर्च विवरण समयमै नबुझाउँदा दोस्रो किस्ता वापतको बजेट निकासा नपाउने गरी रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । पहिलो किस्ताको खर्च विवरण प्राप्त भएपछि मात्रै दोस्रो किस्ताका लागि रकम निकासा गरिने प्रमुख कोष नियन्त्रक गोविन्द्रप्रसाद सुवेदीले बताए । पहिलो किस्ताको विवरण नबुझाएका चार वटा स्थानीय तहले दोस्रो त्रैमासिकका लागि बजेट पाउने छैनन् ।
दोस्रो चौमासिक सुरु भए पनि खर्च विवरण पेश नभएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले मंसिर २५ गतेभित्र पेश गर्न समय सीमा तोकेको छ । यो अवधिमा अनिवार्य रूपमा पेश गर्न निर्देशन दिइएको हो । कर्मचारी अभावको कारण देखाउँदै स्थानीय तहले खर्च विवरण पेश गरेका छैनन् ।
हालसम्म चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, गुर्भाकोट नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाले मात्रै खर्च विवरण बुझाएका छन् । यी पाँच वटै स्थानीय तहलेसमेत ढिलो गरी खर्च विवरण बुझाएका हुन् । हालसम्म सुर्खेतका पाँच वटा स्थानीय तहले ३२ करोड ६३ लाख रूपैयाँ खर्च गरेका छन् । ३८ करोड आठ लाख रूपैयाँ निकासा गरेको ती स्थानीय तहले चालु र पूँजीगत गरी उक्त रकम खर्चिएका हुन् । पाँच करोड ४५ लाख रूपैयाँ पहिलो त्रैमासिक अवधिमा खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । पहिलो त्रैमासिक बजेट खर्चिन नसकेका नगरपालिका र गाउँपालिकाले दोस्रो त्रैमासिक अवधिमा खर्चिनुपर्ने हुन्छ । उक्त बजेट खर्च गर्नुपर्ने भएकाले पनि कतिपय स्थानीय
तहले विवरण नबुझाएको नियन्त्रक सुवेदीले बताए । कार्यालयका अनुसार चिङ्गाड गाउँपालिकाले चार करोड १३ लाख रूपैयाँ निकासा लिएको थियो । जसमा चार करोड ६ लाख रूपैयाँ खर्च गरेको छ ।
चौकुने गाउँपालिकाले एक करोड रूपैयाँ खर्च गर्न सकेको छैन । गाउँपालिकाले पेश गरेको फाँटवारी अनुसार पहिलो त्रैमासिकमा चार करोड १९ लाख रूपैयाँ मात्रै खर्च भएको छ । १३ करोड ९९ लाख रूपैयाँ निकासा लिएको वीरेन्द्रनगर नगरपालिकाले १० करोड बजेट खर्च गरेको छ । नगरपालिकाले तीन करोड रूपैयाँ खर्च गर्न नसकेको विवरण पेश गरेको छ । ६ करोड १० लाख रूपैयाँको निकासा लिएको बराहताल गाउँपालिकाले पाँच करोड ६९ लाख रूपैयाँ खर्च गरेको छ । ४१ लाख रूपैयाँ बजेट गाउँपालिकाले खर्च गर्न सकेको छैन । गुर्भाकोट नगरपालिकाले पहिलो त्रैमासिकका लागि आठ करोड ६९ लाख रूपैयाँ निकासा लिएको सबै रकम खर्च भएको विवरण पेश गरेको छ ।

प्रकाशित मितिः   १७ मंसिर २०७५, सोमबार १२:२४