निर्मलालाई न्याय माग्दै प्रदर्शन

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ मंसिर ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा प्रदर्शन गरेको छ । घटना भएको चार महिनासम्म पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेकपाका कार्यकर्ताहरूले आइतवार वीरेन्द्रनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।


मंगलगढीचौकबाट सुरु भएको विरोध ¥याली नेताचौक, बुद्धपथ, लक्ष्मी चलचित्र हल, हटिया, गोदामलाईन हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा दलित जनजाति विभाग प्रमुख धनबहादुर नेपालीले निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरे । उनले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप पनि लगाए ।
यस्तै अखिल नेपाल महिला संगठनका केन्द्रीय सदस्य गोमा ओली, सुर्खेतका इन्चार्ज धु्रव बोगटी, पार्टी सेक्रेटरी यामराज खड्का लगायतले दोषीलाई सरकारले कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मितिः   १७ मंसिर २०७५, सोमबार १२:२३