तीन महिनामा ६ सय पर्यटकको आगमन

साझा बिसौनी संवाददाता
डोल्पा, १६ मंसिर ।
डोल्पा जिल्ला कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ । जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएसँगै आकर्षक गन्तव्य बन्न थालेको हो । असोज यता मात्रै आन्तरिक र बाह्य पर्यटक गरेर करिब ६ सय पर्यटकको आगमन भएको शे–फोक्सुण्डो निकुञ्जले जनाएको छ ।
भौगोलिक हिसाबमा विकट भए पनि पर्यटकीय सम्भावनाका हिसाबमा सम्पन्न भएकै कारण डोल्पा घुम्ने पर्यटकमा वृद्धि भएको पर्यटन व्यवसायी बताउँछन् । नेपालकै गहिरो ताल शे–फोक्सुण्डो, त्रिपुरा सुन्दरी मन्दिर, शे–गुम्बा, सुलिगाड झरना, विश्वकै अग्लो मानवबस्ती धो–तराप, पुथा हिमाल, मष्टा मन्दिर छल, मष्टा मन्दिर गल्ली जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य हुन् । यस्ता क्षेत्रको अवलोकन भ्रमणका लागि प्याकेज बनाएरै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको पाइएको छ ।
एकवर्ष अगाडिसम्म गुमनाम डोल्पा पर्यटन प्रवद्र्धनका क्रियाकलाप बढ्न थालेसँगै ब्यूँझिन थालेको हो । गत बुधवार मात्रै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा फोक्सुण्डो ताल परिसरमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए । त्यस्तै पूर्वमन्त्री सत्या पहाडी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको उपस्थिति थियो । कर्णाली प्रदेशको समृद्धि पर्यटन क्षेत्रमै लुकेको बताउँदै यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मुख्यमन्त्री शाहीले बताए ।
यस्तै गतिविधिका कारण पर्यटन क्षेत्रको ऊजागर हुँदै गएको सरोकारवालाको भनाइ छ । डोल्पा हिराको डल्लो भए पनि प्रचार–प्रचार हुन नसक्दा ओझेलमा परेको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद सत्या पहाडीले बताइन् । डोल्पा पुग्ने पर्यटकलाई लक्षित गर्दै संरचनागत विकासमा केन्द्र तथा प्रदेश सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । डोल्पालाई प्रमुख गन्तव्य बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।
कर्णाली प्रदेशका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को सुरुवात गरिसकेकाले पर्यटकीय क्षेत्रको विकास तथा प्रचार–प्रचारका लागि कुनै पनि कसुर बाँकी नराख्ने मन्त्री बुढाले बताए । पर्यटकको संख्यामा भएको वृद्धिसँगै दुनै, जुफाल, त्रिपुराकोट लगायतका स्थानीय बजारमा चहल–पहल बढ्न थालेको छ ।
पर्यटक भित्रन थालेपछि व्यापार, व्यवसाय फस्टाएको त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटका व्यापारी विष्णु हमालले बताए ।
फोक्सुण्डो ताल नेपालकै गहिरो तालको परिचित फोक्सुण्डो ताल डोल्पाकै आकर्षक पर्यटकीय गन्तव्य हो । कर्णाली चिनाउने प्रमुख पर्यटकीय गन्तव्यमा रारा तालसँगै फोक्सुण्डो तालको नाम आउने गर्दछ । शे–फोक्सुन्डो गाउँपालिका अन्तर्गत रिग्मो गाउँमा पर्ने फोक्सुण्डो ताल वाइ अनि फोक्सो आकारको भएको अवलोकनकर्ता बताउँछन् ।
तीन हजार ६३५ मीटर उचाईमा अवस्थित फोक्सुन्डो ताललाई बिदेशी पर्यटक ‘ब्लु डायमण्ड’ को रूपमा समेत चिन्ने गर्दछन्। झट्ट हेर्दा आकाशे निलो रङको जस्तो देखिने भएता पनि यसको रङ छिनछिनमा बदलिने गर्दछ। तालले समयअनुसार रङ बदल्ने भएकै कारण रङ बदल्ने तालको रूपमा समेत परिचित छ। तालको चारैतीर बिशाल हिम श्रृंखलाहरू छन्। ताल वरिपरि पर्ने हिउले सेताम्य हिमाल कारण तालको सुन्दरता थप मनमोहक बनाइ दिएको छ।

प्रकाशित मितिः   १७ मंसिर २०७५, सोमबार १२:२१