…त्यो समय फर्किदिए हुन्थ्यो
लंका योगी बाल शिक्षा शिक्षक हुन् । उनी वीरेन्द्रनगर–६ स्थित बालविकास केन्द्रमा कार्यरत छिन् । वि.सं. २०३३ साल असोज १५ गते बुबा लालुनाथ योगी र आमा लिलानाथ योगीको कोखबाट सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर १ बजेडामा जन्मिएकी उनी वीरेन्द्रनगर नगर प्रारम्भिक बाल विकास सुधार समितिको अध्यक्षसमेत हुन् । बुबाको सपना पूरा गर्न शिक्षण पेसामा आवद्ध भएकी योगीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः
मेरो जन्म सिम्तामा भयो । तर म चार/पाँच वर्षको हुँदा हाम्रो परिवार बसाइँ सरेर भेरीगंगा नगरपालिकाको छिन्चुमा आयो ।
मैले पाँच वर्षको उमेरमा नै विद्यालय पढ्ने अवसर पाएँ । पहिला छोरीहरूलाई स्कुलमा पढाउन पठाउँदैन्थे । कोही विद्यालय पढ्न थाले पनि सानै उमेरमा विवाह गरिदिन्थे । चार/पाँच कक्षा पढे भने विवाह भइहाल्थ्यो । हामीले पढ्ने बेलामा औंलामा गन्ने केटी साथीहरू थियौं ।
म सानैदेखि मिलनसार, धेरै नबोल्ने स्वभावको थिएँ । साथीहरूसँग झगडा गर्दैनथें । बरु कहिले काहीं साथीहरू म सँग रिसाउँथे । उनीहरू मसँग रिसाउनुको कारण थियो । छिन्चुमा हाम्रो पसल थियो । पसलमा मिठाइ, चक्लेट, विस्कुटहरू पाइन्थ्यो । साथीहरूलाई जब ती चिजहरू खान मन लाग्थ्यो तब म सँग रिसाउँथे । मैले बोलाउँदा, ‘चक्लेट, बिस्कुट दिएपछि मात्र बोल्छौं’ भन्थे । सधैं यही मात्र भन्ने गर्थे । चक्लेट खानेबेलासम्म उनीहरू मिलेको झैं गर्थे । फेरि चक्लेट लिएर आइज अनि बोल्छु भन्थे । मसँग साथीहरू रिसाएपछि मलाई नरमाइलो लाग्थ्यो । त्यसैले साथीहरूलाई फकाउनका लागि भए पनि मैले पसलबाट चक्लेट चोर्थें र साथीहरूलाई बाँड्थें । बचपनमा मैले गरेको बदमासी यत्ति हो । त्यस बाहेक बाहिर बदमासी गरिनँ ।
बुबा पञ्चायतकालमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ सामाजिक कार्यहरूमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीलाई पनि सामाजिक कार्यमा सक्रिय हुनुपर्छ भन्ने भावना आउँथ्यो । मैले शारदा माध्यमिक विद्यालयमा पढ्दा सात कक्षा मात्र थियो । त्यसपछि बाहिर पढ्न जानुपर्ने हुन्थ्यो । गाउँका अगुवा लगायत मेरो बुबाहरूले त्यहाँ कक्षा १० सम्म पढाउनका लागि छलफल गर्नुभयो ।
हामीलाई बुबाले नेपालगन्ज, वीरेन्द्रनगरसम्म राखेर पढाउन सक्ने अवस्था थियो । तर पनि उहाँले पहिला आफ्ना छोराछोरीले पढे भने अरुले पनि पढ्छन् भन्नुहुन्थ्यो । त्यसपछि हामीले शारदा माविमा नै पढ्यौं । शारदा माविको एसएलसी पहिलो ब्याज हामी नै हो । बाल्यकालको रमाइलो क्षण पनि म एसएलसीमा उत्तीर्ण भएको दिन नै हो । हामी एसएलसी दिने १३ जना मध्ये ७ जना मात्र पास हुन सफल भयौं । छात्रामा म मात्र पास भएको थिएँ । तीन जना केटी साथीहरू मात्र पढ्थ्यौं । त्यसबेलामा आफ्नै ठाउँमा टेष्ट परीक्षासमेत हुन्थेन । दशरथपुर पुगेर परीक्षा दिनुपथ्र्यो । एसएलसीको परीक्षा वीरेन्द्रनगर आएर दिनुपथ्र्यो ।
बाल्यकालमा चाडपर्वमा रमाइलो लाग्थ्यो । चाडपर्वको बेलामा नयाँ कपडा लगाउन पाइन्थ्यो । आफन्तहरूको घरमा जसकोमा गएपनि मिठो–मिठोे खान पाइने । बाल्यकालका चाडपर्व विशेष लाग्ने गर्दथे ।
तीजको दिन, दशंैको दिन र तिहारको दिन कति बेला बिहान उज्यालो होला र नुहाएर नयाँ कपडा लगाउँला भनेर छटपटी हुन्थ्यो । मामाको घरमा टीका लगाउन जाँदा छुुट्टै रमाइलो हुन्थ्यो । हिँडेर जानुपर्ने हुन्थ्यो । दिदीहरूको विवाह भइसकेको थियो । बाहिनी सानै । म र दाई मामाको घर दशैंमा टीका लगाउन जान्थ्यौं ।
विद्यालयमा हुने अतिरिक्ति क्रियाकलापहरूमा पनि म उत्तिकै सक्रिय हुन्थें । हामी स्काउटमा आवद्ध थियौं । हामीले विभिन्न कार्यक्रमहरू गथ्यौं । शिक्षकहरूले सामाजिक कामहरूमा सक्रिय हुन प्रेरणा दिनुहुन्थ्यो । कसैले केही भयो भने सहयोग गर्ने गथ्र्यौं । म खेलकुदमा पनि सहभागी हुन्थें ।
वि.सं. २०४५ सालतिर हो । राजा वीरेन्द्रको सुर्खेतमा सवारी भएको थियो । त्यसबेलामा भेरीमा पुल बनिसकेको थिएन । फेरिबाट वारपार गर्नुपर्ने हुन्थ्यो । स्काउटबाट विद्यार्थीहरूले राजाको सम्मानका लागि राजालाई केही न केही देखाउनुपथ्र्यो । हामीले स्कुलबाट नाचगान लगायतका विभिन्न कार्यक्रम देखाउने भनेर भेरीको नदीसम्म हिडेर गयौं । र, फेरीबाट तरेर पछि ट्रकमा चढेर वीरेन्द्रनगरमा आयौं । पाँच दिनसम्म हामी वीरेन्द्रनगर बस्यौं । जन मावि वीरेन्द्रनगरमा राजाको स्वागत सम्मानको कार्यक्रम रहेको थियो । म खेलकुदमा सहभागी हुने भएका कारण हाम्रो एउटा टोलीले राजालाई पिटी खेलेर देखाएका थियौं ।
बुबाले मलाई सानैदेखि तिमी शारदा माविमा नै प्रध्यानाध्पक भएर आउनुपर्छ भन्नुहुन्थ्यो । पढ्नुपर्छ भनेर जहिले पनि उत्साहित गर्नुहुन्थ्यो । त्यसैले एसएलसीमा पास भएको दिन नै सबैभन्दा खुशी भएको थिएँ । त्यसपछि म प्लस टू पढ्न वीरेन्द्रनगर आएँ । शिक्षा क्याम्पसबाट प्लस टू पास गरें । अहिले त बुबा हुन–हुन्न । तर उहाँको सपना आफू पढेको स्कुलमा शिक्षक नभए पनि अहिले बाल विकास केन्द्रमा शिक्षण पेसा अघि बढाइरहेको छु । बाल्यकाल सम्झिदा फेरि पनि त्यो समय आइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
साझा बिसौनी संवाददाता ।