बस दर्घटना हुँदा दुई जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ मंसिर ।
वीरेन्द्रनगरको कटकुवा नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कटकुवाबाट वनभोज खाएर फर्कदै गर्दा बस दुर्घटना भएको हो ।
भे १ ख ८५९ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरी प्रमुख एसपी बसन्त रजौरेले दिएको जानकारी अनुसार सुर्खेतको लेकवेशी नगरपालिका–८ बाट वनभोज खानका लागि कटकुवा गएर फर्किदै गर्दा बस दुर्घटना भएको हो । दुर्घटनामा परी कुइनेपानीकी ४० वर्षिया जानकी दर्लामी र २४ वर्षीया देउकी पुलामीको मृत्यु भएको हो । दुर्घटनाबाट ५० जना घाइते छन् । घाइतेहरूमध्ये ११ जनाको अवस्था गम्भीर छ ।
उनीहरू लेकवेशी–८ को जनजागृति युवा क्लबमार्फत् वनभोज खान गएका थिए । दुर्घटनाका घाइतेहरूको स्थानीय माया नर्सिङ्ग होम र कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।