चार सयको आँखा जाँच

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ मंसिर ।
गुर्भाकोट नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरबाट चार सय जनाले सेवा लिएका छन् । गुर्भाकोट नगरपालिकाले सञ्चालन गरेको दुई दिने आँखा उपचार शिविरमा चार सय जनाले सेवा लिएका हुन् ।
‘घर–आँगनमै उपचार सेवा’ अन्तर्गत नगरपालिकाले शुक्रवार र शनिवार वडा नम्बर १३ र १४ मा आँखा उपचार शिविरको आयोजना गरेको थियो । गुमी स्वास्थ्य चौकी र शहरी स्वास्थ्य चौकी पण्डीतकान्लामा आयोजना गरिएको आँखा उपचार शिविरमा आएका सेवाग्राहीमध्ये ६१ जनामा मोतियाविन्दु देखिएको छ । गुमी स्वास्थ्य चौकीका इन्चार्ज पूर्ण घर्तीका अनुसार आउने १८ गते ६१ जनाको मोतियाविन्दुको अप्रेशन गरिने छ । आँखा
उपचार शिविरमा ८० जना सेवाग्राहीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । शिविरमा सामुदायिक आँखा अस्पतालका वरिष्ठ आँखा प्राविधिक सन्त शेर्पाले आँखा जाँच गरेका थिए ।
गाउँपालिकाका प्रमुख हस्त पुनले जनतालाई घर आँगनमै सेवा दिने योजना अनुसार आँखा उपचार शिविरको आयोजना गरिएको
बताए । स्वास्थ्य चेकजाँचका क्रममा समस्या देखिएकाहरूलाई विशेषज्ञ सुविधा भएका अस्पतालमा रिफर गर्ने गरिएको छ ।