‘कर्णाली सुहाउने पाठ्यक्रम आवश्यक’
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ मंसिर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा नयाँ पाठ्यक्रमको आवश्यकता भएको बताएका छन् । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव संकलन कार्यशालामा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
शाहीले कर्णालीको सामाजिक र आर्थिक अवस्थाको अध्ययन गरी यहाँको आवश्यकतामा आधारित रहेर नयाँ पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले ठाउँ अनुसारको शिक्षा अहिलको आवश्यकता भएको बताएका छन् । अहिलेको अवस्थामा कर्णालीको कुन ठाउँमा के शिक्षाको सम्भावना छ, त्यसको अध्यान गरेर त्यही अनुसारको शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
मुख्यमन्त्री शाहीले कर्णालीको स्रोत र साधनको उपयोग गर्ने गरी जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै अब परम्परागत पाठ्यक्रममा आधारित शिक्षाको विकल्प खोज्नुपर्ने बताए । ‘यहाँको जलविद्युत, जडिबुटी, कृषि लगायतका स्रोतहरूको सदुपयोग गरेर समृद्धि अभियानमा सघाउ पु¥याउने जनशक्ति उत्पादनका लागि सोही अनुसारको पाठ्यक्रम आवश्यक छ’ शाहीले भने । अहिलेको अवस्थामा विकास र समृद्धिको लागि सम्भावनाको व्यापक खोजी गर्नुपर्ने उनले बताए । ‘परम्परागत ज्ञानले मानिसहरू गन्तव्यविहीन यात्रामा छन्’ शाहीले भने, ‘सबैभन्दा पहिले आफू के गर्ने, के बन्ने, कहाँ जाने भन्ने योजनाका साथ अघि बढ्न सक्नेगरी ज्ञान दिन जरुरी छ ।’
कुरा गर्ने, सुन्ने मात्रै नभएर त्यसको कार्यान्वयन गर्न लाग्नुपर्ने बताउदै मख्य मन्त्री शाहीले भने, ‘गर्ने एक भन्ने अर्कै भए त्यसको अर्थ रहँदैन ।’ अहिलेको अवस्थामा विकास निर्माणको स्पष्ट खाका तयार गरेर अघि बढ्नुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै सामजिक विकास मन्त्री दल रावलले अहिले आफूहरू समाज परिवर्तनको क्रममा भएको बताए । कार्यक्रममा कर्णाली प्रदेशमा विभिन्न शिक्षा क्षेत्रमा संलग्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । उनीहरूले पाठ्यक्रम निर्माणका विविध सुझाव पेश गरेका थिए ।
साझा बिसौनी ।