गाग्री बोक्ने डोकोमा ओसार्छन् तरकारी
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ मंसिर ।
बिहान उठ्यो कि खानेपानीको चिन्ता । झिसमिस उज्यालो नहुँदै डोकोमा गाग्री बोकेर पानी ल्याउन हिँड्यो । एक गाग्री पानी बोक्न छर्लङ्गै घाम पथ्र्याे । परिवारलाई खानेपानी बोक्न एक जनालाई हम्मे नै हुन्थ्यो । गाग्री पानी ल्याउन दुई घण्टा बढी लाग्ने । घरपालुवा पशुले पर्याप्त पानी पाउँदैन थिए । ‘पानी ल्याउँदैमा एक जनाको दैनिकी बित्थ्यो’ गुर्भाकोट नगरपालिका–९ नादेकोटकी मंगली शाहीले भनिन्, ‘हिउँद लाग्यो कि पानी पाउनै मुस्किल हुन्थ्यो । खाना भन्दा पानी कै बढी चिन्ता हुन्थ्यो ।’ नादेकोट बस्ती माथि छ, पानीका मुहानहरू तल छन् । बस्तीबाट खानेपानीको मुहान भएका आमखोली पुग्नै एक घण्टा लाग्छ । पानीको गाग्री बोकेर हिँडेपछि एक घण्टामा घर पुग्न मुस्किल पथ्र्यो ।
‘फागुनदेखि असारसम्म खडेरी बस्तीभरी खडेरी हुन्थ्यो’ उनले भनिन्, ‘गाई, गोरु र भैंसीलाई पानी बोकेरै खुवाउनुपथ्र्यो । बिहानदेखि बेलुकासम्म एक जनाको काम पानी बोक्ने नै हुन्थ्यो ।’ रुखो माटो भएकाले खडेरीमा लगाएका बालीसमेत फस्टाउँदैन थियो । वर्षात्मा लगाएको मकै राम्रो उब्जनी भए पनि हिउँदमा भने लगाएको बीऊ मात्रै ठीक्कै हुन्थ्यो । उब्जनी राम्रो नभएपछि पेट पाल्नै गाह्यो हुन्थ्यो । भन्छिन्, ‘घरबारीमा लगाएका अन्नले दुई महिना खाना पुग्दैन थियो । धान लगाउनलाई खेत नै थिएन । अर्कोको जग्गामा अंश दिनेगरी अधियाँ लगाउनु पथ्र्यो ।’ आम्दानीको स्रोत केही नभएपछि अधिकांश युवाहरू रोजगारीका लागि ज्याला मजदुरी गर्न भारतकै भर पर्नुपथ्र्याे । शाहीलाई मात्रै होइन्, विगतमा नादेकोटका ३५ घरपरिवारले खानेपानीको समस्या भोग्दै आएका थिए । तर, हिजोआज उनको दैनिकी बदलिएको छ । ग्रामीण सौर्य बहुउद्देश्यीय पानी प्रणाली परियोजना अन्तर्गत लिफ्टिङ्गमार्फत् खानेपानी भान्सामै पुगेको छ । आमखोली गोदेरी सोलार खानेपानी आयोजना निर्माण भएपछि पानी बोक्नुपर्ने बाध्यता विगत नौ महिनादेखि हटेको छ । घरआँगनमा पानी आएपछि विगतमा पानी बोक्ने उनको समय बचत भएको छ । घर, टोलमा धारा जडान भएका छन् । दैनिक उपभोगका लागि पर्याप्त पानी आउँछ । विगतमा पानी बोक्ने समयमा उनका लागि फुर्सदिलो बनेको छ । खडेरीमा नसुक्ने गरी पानी आउन थालेपछि उनले बहुउपयोग गर्न थालेकी छन् । दैनिक उपभोगबाट खेर जाने पानीलाई तरकारी सिँचाइ गरेर बहुउपयोग गरेको उनले बताइन् । खडेरीमा लगाएको कम उब्जनी हुने जग्गामा टमाटर खेती गरेकी छन् । भन्छिन्, ‘विगतमा अन्नबाली भन्दा तरकारीबाट राम्रो आम्दानी भएको छ । पैसा छैन, भन्नुपर्ने बाध्यता हटेको छ ।’ पानी ल्याउँदा लाग्ने समय सदुपयोग भएको छ । बिहान उठेपछि तरकारीबारीमा पस्ने उनी बेलुका पैसा बोकेर घर फर्किन्छिन् । सिजनमा ३० हजार शुद्ध बचत हुने गरेको उनले बताइन् ।
बस्तीमा खानेपानी पुगेपछि दैनिकी बदलिएको महशुस भएको नादेकोटका रुद्रे डाँगीले बताए । सिँचाइ भएपछि उनले पनि झण्डै चार रोपनीमा तरकारी लगाएका छन् । मकै भिœयाएपछि लगाएको टमाटरबाट तीन लाख रूपैयाँ कमाए । घरखर्च चलाउन ज्याला मजदुरीको भरपर्नुपर्ने उनको बाध्यता हटेको छ । भन्छन्, ‘तरकारीबाटै राम्रो आम्दानी हुन्छ भने परिवार बिर्सिएर भारत को जान्छ ?’
मंगली र रुद्रे जस्ता नादेकोटका ३५ घरपरिवारले खानेपानी आँगनमै पाएका छन्, हिजोआज । धारामा पानी आउन थालेपछि नादेकोटबासीले अन्नबाली उत्पादन गर्ने आँगनको जग्गामा तरकारी फलाउन थालेका छन् । एक पटक प्रयोग गरेको पानी करेसाबारी सिँचाइ गर्छन् । एक घर, एक करेसाबारी छ । तरकारीबाटै पछिल्लो समयमा त्यहाँका बासिन्दाहरू आम्दानी वृद्धि गर्न थालेका छन् । बस्तीमा सडक पुगेको छ । तर, सडक गुणस्तर नहुँदा उत्पादन गरेको तरकारीले बजार पाउँदैन् । सडकमा गाडी नगुड्ने भएपछि खडेरीमा पानीको गाग्री बोक्ने डोकोभरी तरकारी लिएर बजार धाउँछन् । स्थानीय बाटेचौर बजारमा रहेको तरकारी संकलन केन्द्रमा उनीहरूले तरकारी बिक्री गर्ने गरेका छन् ।
साझा बिसौनी ।