कारागार भवन जीर्ण

साझा बिसौनी संवाददाता
कालिकोट, १३ मंसिर ।
जिल्ला कारागारको भवन जीर्ण भएपछि कैदी समस्यामा परेका छन् । ठाउँ अभावले गर्दा कैदीका आफन्तलाई भेटघाट गर्न पनि अप्ठ्यारो भएको जनाइएको छ ।
कारागार प्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबीच मनमुटाव हुने गरेको छ । ‘२०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदीबन्दीलाई राख्न कठिनाइ भएको हो’, उनले भने, ‘कारागारको पूरै पर्खाल भूकम्पले चिराचिरा परेकाले कुनै बेला पनि भत्किने हो कि भन्ने डर मानेर बस्नु परेको छ ।’
कारागारमा शुद्ध पिउने पानी, खेलकुद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ । वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ । कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा झन् समस्या भएको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०७५, शुक्रबार १५:५५