सबै स्थानीय तहमा विद्युतीकरण

साझा बिसौनी संवाददाता
दैलेख, १३ मंसिर ।
दैलेखका सबै स्थानीय तहमा सामुदायिक साझेदारीमार्फत् विद्युतीकरण गरिने भएको छ । सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारीमार्फत् दैलेखलाई उज्यालो बनाउने प्रतिबद्धता यहाँका जनप्रतिनिधिहरूले गरेका हुन् ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीका अनुसार कार्यक्रम अन्तर्गत ९० प्रतिशत लगानी सरकारको हुनेछरु। ‘१० प्रतिशत लगानी उपभोक्ताको रहने गरी कार्यक्रम लागू गर्न थालिएको हो,’ उनले भने, ‘कार्यक्रममार्फत् सबै पक्षले लाभ लिनेछन ।’ उनका अनुसार कार्यक्रममा यसअघि स्थानीय समुदायको एक अर्ब ३० करोड रूपैयाँ संकलन भइसकेको छ ।
स्थानीय जनप्रतिनिधिले दुल्लू र आठबीस नगरपालिकाको बीचमा सवस्टेशन निर्माण गर्न माग गरेका छन् । प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले अभियान सफल बनाइ तीन वर्षभित्र दैलेखलाई उज्यालो बनाउन सकिने बताए । ‘आफ्नो जिल्ला आफैं बनाउने हो,’ उनले भने, ‘स्थानीय सरकार अग्रसर भए साझेदारीमा कुनै समस्या छैन ।’
दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारीले विद्युतीकरणका लागि बजेटको अभाव नरहेको जनाए । उनले कार्यक्रम टोल विकास समिति बनाएर पनि अगाडि बढाउन सकिने जनाए । ‘११ वटै स्थानीय तह विद्युत क्षेत्रमा लगानी गर्न तयार छन्,’ उनले भने, ‘सदरमुकामबाहेक धेरै स्थानमा विद्युत पहुँच पुग्न सकेको छैन, त्यसैले कार्यक्रमलाई तीव्रता दिन जरुरी छ ।’ उनका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि टुकी र दियालो बालेर बस्नुपर्ने बाध्यता छ ।
आठबीस नगरपालिका उपप्रमुख दीपा बोहराले विद्युत क्षेत्रमा बजेट विनियोजन गरे पनि प्राविधिक क्षमता नहुँदा धेरै स्थानीय तह अलमलमा रहेको बताइन् । नारायण नगरपालिकाले ११ वटै वडामा केही महिनाभित्र विद्युत पु¥याउने लक्ष्यसहित विभिन्न योजना सञ्चालन गरेको प्रमुख रत्नबहादुर खड्काले बताए ।

प्रकाशित मितिः   १४ मंसिर २०७५, शुक्रबार १५:५४