श्रमिकलाई अब पेन्सन

साझा बिसौनी संवाददाता
काठमाडौं, ११ मंसिर ।
सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने यस योजनाको मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहकाबीच योजना प्रारम्भ भएको घोषणा गरे ।
अब रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । कोषमा जम्मा हुने रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइदैछैन, कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रित परिवारका लागि पनि विभिन्न सुविधा घोषणा भएको छ । कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाको लागि खर्च गर्नेछ । सरकारले कामदारको सामाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।
यो योजनाले सबैको हितमा काम गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । उद्योगी व्यवसायीहरूले पनि योजनामा समर्थन गरेका छन् । ट्रेड युनियनका नेताहरूले पनि सरकारी यो योजनाको स्वागत गरेका छन् । धेरै पहिलेदेखि राख्दै आएको माग सरकारले पूरा गरेकोमा ट्रेड युनियनका नेताहरू खुशी छन् ।

प्रकाशित मितिः   १२ मंसिर २०७५, बुधबार १६:२१