खुशीयालीमा दीप प्रज्वलन

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ मंसिर ।
सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेपछि कर्णाली प्रदेशका मजदुरहरूले खुशीयाली मनाएका छन् । योजना प्रारम्भ भएको घोषणा भएपछि मंगलवार मजदुरहरूले वीरेन्द्रनगरमा ¥यालीसहित दीप प्रज्वलन गरेर खुशीयाली मनाएका हुन् ।
नेपाल ट्रेड युनियन महासंघ
(जिफन्ट) कर्णाली प्रदेशको आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा ¥यालीसहित दीप प्रज्वलन गरिएको हो । ¥यालीपछिको सभालाई सम्बोधन गर्दै जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले सामाजिक, आर्थिक र शैक्षिक रूपमा जोखिममा रहेका मजदुरहरूलाई उचित व्यवस्थापन गरी उनीहरूको भविष्य सुनिश्चित गर्ने गरी ल्याइएको योजना ऐतिहासिक उपलब्धि भएको टिप्पणी गरे ।
यस्तै जिफन्ट महिला कमिटी इन्चार्ज चन्द्रा धामीले लामो संघर्षपछि नेपालमा सामाजिक सुरक्षा योजना लागू भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण श्रमिकहरूलाई यथोचित रूपमा सामाजिक सुरक्षा भित्र समेट्ने कानुनी आधार रहेको बताइन् ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको श्रम, रोजगार कार्यालयका निमित्त वरिष्ठ श्रम अधिकृत श्यामकृष्ण आचार्यले सबैको सहयोग, समन्वयबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पूर्णरूपमा सफल हुने बताए । आचार्यले सामाजिक सुरक्षा कोषमा श्रमिकको मासिक योगदान रकमबाट सरकारले विभिन्न योजनामार्फत् सरकारले श्रमिकलाई सहयोग उपलब्ध गराउने बताए । ¥यालीमा जिफन्ट आवद्ध इम्प्रेशन नेपाल, क्यूपेक नेपाल, नेभा, नाटु, नेष्ट, ब्यूटीसियन, यातायात, फापुन लगायतका सदस्य युनियनहरूका केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय कमिटीका पदाधिकारीहरू र श्रमिकहरूको सहभागिता रहेको थियो ।
यसैक्रममा कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, कालिकोट र जुम्ला सदरमुकाममा पनि दीप प्रज्वलन गरी सामाजिक सुरक्षा दिवस मनाइएको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७५, बुधबार १६:२०