कर्णालीमा ‘मिडवाइफ्री’ अध्ययन थालियो

साझा बिसौनी संवाददाता
जुम्ला, ११ मंसिर ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब स्नातक तहमा नर्सिङ्ग मिडवाइफ्री अध्ययन थालिएको छ । साउनमा नर्सिङ्ग काउन्सिलबाट सम्बन्धन पाएको प्रतिष्ठानले मंगलवारदेखि कोर्ष अध्ययन थालिएको हो । तीन वर्षे कोर्ष अध्ययनका लागि हाल १० जना विद्यार्थी भर्ना लिइएको छ ।
हालै लागू भएको नयाँ कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलवार औपचारिक उद्घाटन गरे । उपराष्ट्रपति पुनले अब कुनै पनि कर्णालीबासीले अकालमा मृत्युको सिकार हुने अवस्थाबाट मुक्ति पाउने बताए । ‘कर्णालीका महिलाहरूको स्वास्थ्य अवस्था एकदमै कमजोर छ’ उनले भने, ‘कर्णालीमा अब स्वास्थ्य उपचारका हिसाबले अभाव झेल्नुपर्ने छैन ।
एमबीबीएस र एमडीजीपी कार्यक्रमका लगत्तै लागू हुनेभन्दै उनले गुणस्तरीय र भरपर्दाे उपचारका लागि काठमाडौं भन्दा कर्णाली आउनुपर्ने सन्देश फैलाउन आग्रह गरे । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा सुधार हुँदै गएको बताए । उनले विगतमा जस्तो अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अबका दिनमा कर्णालीमा नपर्ने बताए ।
स्टाफ नर्स पढेका विद्यार्थीहरूलाई उक्त कोर्ष अध्ययन गर्न पाउँछन् । कर्णालीमा स्नातक तह अध्ययन हुने भएपछि उच्च शिक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । नयाँ कोर्ष पढाइ थालिएसँगै
प्रसूति सम्बन्धी कर्णालीबासीले घरआँगनमै अध्ययन गर्न पाउने बताए ।
उनले वर्षदेखि ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम लागू हुने बताए । स्वास्थ्य व्यवसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीएच कार्यक्रम सञ्चालन गर्नका लागि स्वीकृति दिएको थियो । यसका लागि २० सीट निर्धारण छ । बीपीएच कार्यक्रमको लागि यही मंसिर २२ गते प्रवेश परीक्षा हुने उनले जानकारी दिए ।

प्रकाशित मितिः   १२ मंसिर २०७५, बुधबार १६:१९