संयोगले पढ्न पाउँ

वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतकी भूमिसरा चपाईं पेसाले शिक्षक हुन् । उनीसँग करिब ३२ वर्षको शिक्षण अनुभव छ । वि.सं. २०२५ साल जेठ २९ गते पञ्चपुरी–१ फार्सेकाँडामा उनको जन्म भयो । बुबा खगलाल चपाईं र आमा हरिकला चपाईंकी राइली (पाँचौं) छोरी भूमिसरा सानैदेखि अन्तरमुखी स्वभावकी थिइन् ।
६ बहिनी र दुई भाइ गरी उनीहरू आठ भाइबहिनी थिए । छोरीहरूमा पढ्न पाउने भाग्यमानी छोरी भूमिसरा मात्र थिइन् । छोरीलाई पढाउनै पर्छ भन्ने संस्कार थिएन तर भूमिसराले पढ्न पाउनु संयोग थियो । भैरव माध्यमिक विद्यालय वीरेन्द्रनगर–४ सुर्खेतमा माध्यमिक तहमा अध्यापन गराउँदै आएकी चपाईंले आफ्नो पेसागत जीवनका कथाहरू हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः

म घरकी राइली छोरी । म भन्दा माथिका दिदिहरूले त पढ्न पाउनुभएन । घरकी छोरीहरूमा पढ्न पाउने भाग्यमानी छोरी म नै भएँ । त्यो बेलामा छोरीहरूले पढ्न पाउनु भाग्यको कुरा थियो ।
मैले कक्षा १ देखि ७ कक्षासम्म श्री सूर्यप्रकाश माध्यमिक विद्यालय पलैंटेमा पढें । त्यो बेलामा म कक्षाको एक्लो छात्रा थिएँ । सूर्यप्रकाश माध्यमिक विद्यालय सालकोटबाट पलैटेमा सर्दा घरको एकजना विद्यार्थी पठाउनै पर्ने नियम बनाउपछि मेरो घरबाट विद्यालय उमेरको म मात्रै भएकोले पढ्ने मौका पाएकी हुँ । त्यसैले मैले छोरीलाई पढाउनैपर्छ भन्ने सोचले भन्दा पनि संयोगले पढ्न पाएकी हुँ ।
मेरो बुबा आमा कृषि गर्नुहुन्थ्यो । दाइहरूले माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्नुभएको छ तर दिदीहरूले भने औपचारिक शिक्षा लिनु भएको छैन । मैले कक्षा आठदेखि एसएलसीसम्म जनता माध्यमिक विद्यालय विद्यापुरमा पढें । म पढाइमा पनी तेज दिमागको थिएँ । कक्षा ५, ६ मा प्रथम भएँ । कक्षा ७ मा पनि प्रथम भएको थिएँ तर छोरी भएकै कारण द्वितीय बनाइयो । कक्षा ७ पास गरेपछि सूर्यप्रकाश माविबाट जनता माविमा पढ्न जानुपर्ने भएकोले शिक्षकहरूले मेरो केही अंक घटाएर छात्रलाई प्रथम बनाए, मलाई द्वितीय । त्यो पनि छोरी माथिको विभेद थियो । म शिक्षण पेसामा २०४३ सालबाट आवद्ध भएकी हुँ । २०४५ सालमा स्थायी भएँ । मैले जुन विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गरें त्यही विद्यालयमा शिक्षिका भएर काम गर्ने अवसर पनि प्राप्त गरें । मैले वि.सं. २०४३ सालमा एसएलसी पास गरेकी हुँ । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आइकम लिएर पढें र कक्षा प्रथम पनि भएकी थिएँ । त्यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण थियो ।
त्यति बेला पनि निजामती जागीर खान सक्थें किनभने त्यो बेलामा पढेका महिलाहरू औंलामा गन्न मिल्थे । तर मैले पेसामा शिक्षिका नै रोजें त्यो मेरो रहर थियो । मलाई विद्यालय पढ्दादेखि नै शिक्षकहरूले पढाइरहँदा आफूले पनि पढाउन पाए कस्तो हुँदो हो झै लाग्थ्यो । वास्तवमा शिक्षक पेसा मर्यादित र बौद्धिक पेसा हो । तर पछिल्लो समय पैसासँग पेसालाई हेरिन्छ । शिक्षक पेसा आम्दानीका दृष्टिले समृद्ध छैन । समृद्ध मुलुकमा शिक्षकलाई बौद्धिकतासँग जोडिन्छ । तर हाम्रो जस्तो गरीब देशमा पैसासँग, अनि कहाँबाट शिक्षकको समाजमा मर्यादा हुन्छ ? मैले शिक्षण पेसा अंगाल्नकै लागि व्यवस्थापन विषय छोडेर नेपाली र शिक्षा लिएर स्नातकोत्तर गरेकी हुँ ।
खासमा मलाई यो पेसाप्रति आकर्षण सानैदेखि थियो । त्यसमा पनि एकपटक मैले शिक्षण विधि सम्बन्धी तालिम लिने अवसर पाएकी थिएँ, वि.सं. २०४४ सालमा । त्यो बेलादेखि यो पेसाप्रति झन् मेरो चाहाना बढेको हो । मैले स्थायी जागीर खाइसकेपछि वि.सं. २०५० सालमा डण्डीप्रसाद शर्मासँग विवाह गरें । उहाँ पनि पेसाले शिक्षक हुनुहुन्थ्यो । मेरो दुई जना छोराहरू झन् । एक जना विदेशमा छन् भने एक जनाले डाक्टर पढ्दैछन् । पारिवारिक वातावरण एकदमै सुखी र खुशी छ ।
यो पेसामा दुःख मान्नुपर्ने खास केही छैन । म मेरो पेसाप्रति गौरब गर्छु । तर सरकारी विद्यालयमा अभिभावकको चासो नबढ्ने, राज्यले लगानी गर्न नसक्ने र पछिल्लो समय विद्यार्थीहरूमा उच्छृंखलता आएको देख्दा दुःख लाग्छ । केही वर्ष पहिलेको तुलनामा हाल सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढेको पाइन्छ । तर पनि यो दरलाई बढाउनको लागि राज्यले पहल गर्नुपर्ने देखिन्छ । विद्यार्थी कालमा राजनीति पनि गरियो । पद र प्रतिष्ठामा रहेर त होइन तर संगठनलाई सहयोग खुब गरियो । मेरो शिक्षण अवधिमा सात वर्ष स्रोत व्यक्ति र पाँच वर्षजति भैरव माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेकी छु । अब अवकाश भएपछि समाजसेवा गर्ने मन छ । कलम चलाउने पनि मेरो रुचीको विषय हो । सम्भवत कलमकै माध्यमबाट मेरो समाजसेवा अगाडि बढ्छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७५, बुधबार १६:१९