रोजगारी नीति बनाइदै
साझा बिसौनी संवाददाता
सुर्खेत, १० मंसिर ।
कर्णाली प्रदेश सरकारले प्रादेशिक श्रम तथा रोजगारी नीति निर्माणको तयारी थालेको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले सोमवार वीरेन्द्रनगरमा सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गरेको छ ।
अन्तरक्रियाका सहभागीहरूले श्रमको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्ने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कर्णालीकै सन्दर्भमा यहाँको प्राकृतिक स्रोत र साधनको समुचित प्रयोगसहितको श्रम र रोजगारीका लागि सरकारले योजना बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।
कर्णाली प्रदेशमा रहेका जडिबुटीहरूलाई प्रशोधन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गरेर बजार व्यवस्थापन गर्नुपर्ने सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकले बताए । नीति बनाउँदा व्यवहारिक बनाउनुपर्ने उनको भनाइ थियो । विकले कर्णाली प्रदेशले रोजगार र व्यापारको बजार क्षेत्र खोज्नुपर्नेसमेत बताए ।
अर्धदक्ष कामदारलाई दक्ष बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै यसका लागि राज्यले सीपलाई सहकारीसँग जोडेर लैजानु पर्नेमा जोड दिएका थिए । अन्तरक्रियामा औद्योगिक क्षेत्र विकास कार्यालयका जीवनारायण बञ्जाडेले कर्णाली प्रदेशको औद्योगिक क्षेत्रका उद्योगहरूमा समस्या परेको समेत बताए । उनले साना तथा मझौला उद्योगहरूको स्थापना गरी रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्न सकिनेमा समेत जोड दिए ।
यस्तै अखिल नेपाल ट्रेड युनियन सुर्खेतका जिल्ला सचिव श्रीपाल सारुले योगदानका आधारमा लागू हुने सामाजिक सुरक्षा कोषको बारेमा सबै श्रमिकहरूलाई जानकारी गराउनुपर्ने बताए । अन्तरक्रियामा सामाजिक विकास मन्त्रालयका विष्णुप्रसाद अधिकारले कार्यपत्र प्रस्तुत गरेका थिए ।
साझा बिसौनी ।