सहमतिपछि बन्द फिर्ता

साझा बिसौनी संवाददाता
सुर्खेत, १० मंसिर ।
सुर्खेत चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरूले बजार बन्दको कार्यक्रम फिर्ता लिएका छन् । आयोजक, बन्दकर्ता, स्थानीय प्रशासन र वीरेन्द्रनगर नगरपालिकाबीच भएको छलफलबाट सहमति जुटेपछि बन्द फिर्ता लिइएको हो ।
दुवै पक्षबीच पाँच बुँदे सहमति भएको छ । वीरेन्द्रनगर क्षेत्रभित्र विभिन्न पक्षहरूबाट सञ्चालन गर्ने मेला तथा महोत्सवका सम्बन्धमा सम्बन्धित स्थानीय तहले कानुन तथा कार्यविधि निर्माण गर्ने, सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गर्न लागिएको कर्णाली महोत्सव २०७५ एक महिना स्थगित गर्ने सहमति भएको जनाइएको छ ।
वीरेन्द्रनगरमा सुरु गर्न लागिएको महोत्सवको विरोधमा व्यापारीहरूले सोमवार बिहानैदेखि बजार बन्द गरेका थिए । महोत्सव लगाएर स्थानीय व्यापारीहरूलाई मर्कामा पारेको भन्दै उनीहरूले विरोध जनाएका थिए । आइतवार व्यापारीहरूले महोत्सव स्थल खुलामञ्चमा लगाएको टिनको बारसमेत भत्काएका थिए । प्रहरीले हटाउन नदिएपछि व्यापारीहरूले सोमवार बिहानैदेखि बजार बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मितिः   ११ मंसिर २०७५, मंगलवार १५:५२