आफन्तबाटै हिंसा र बलात्कार

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ मंसिर ।
गत असार २८ गते राती गुर्भाकोट नगरपालिकाका ५२ वर्षीय लोकबहादुर कामीले आफन्तकै ११ वर्षीय छोरीलाई बलात्कार गरे । त्यसको एक महिना बित्न नपाउँदै साउन १९ गते गुर्भाकोटसँग सीमाना जोडिएको भेरीगंगा नगरपालिकाकी एक बालिका आफ्नै बुबाबाट बलात्कृत भइन् । कोठा सफा गर्ने बहानामा बोलाएर बुबाले नै छोरीलाई जबरजस्ती करणी गरेका हुन् । बुबाले आफूमाथि पटक–पटक बलात्कार गरेको ती बालिकाले प्रहरीसामु बयान दिएकी छिन् ।

dav

महिला तथा बालिकाहरूलाई घरभित्रै र आफन्तबाटै कतिसम्म जोखिम छ भन्ने बुझ्न यिनै दुई वटा दृष्टान्त पर्याप्त छन् । आफ्नै बाबु, हजुरबा, दाजु, काका, मामा र छरछिमेकीबाट बलात्कार, यौनजन्य हिंसा र बलात्कारको प्रयास भएका यस्ता कैयौं घटना छन् जसले समाजको हिंस्रक चरित्र उदांगो पारेको छ । समाजमा अहिले यस्ता घटना भइरहेका छन् जहाँ महिला घरभित्र आफ्ना आफन्तबाटै सुरक्षित छैनन् । छोरीहरू घरबाहिर हिँड्दा डराउनुपर्ने अवस्था छ । महिलामाथि हुने हिंसासँग व्यक्ति, परिवार, छरछिमेक, कार्यस्थल, समाज र समाजले आत्मसात् गरेका सांस्कृतिक मूल्य मान्यताहरू पनि जिम्मेवार हुने अधिवक्ता शेरबहादुर खत्री बताउँछन् ।
बलात्कारको बर्बरता
सुर्खेत जिल्लामा पछिल्लो समय बलात्कारका घटनाहरू धमाधम सार्वजनिक भइरहेका छन् । बलात्कार र अन्य यौनजन्य हिंसाबाट पीडितहरू न्यायका लागि प्रहरी र अदालतसम्म आउनुले पनि महिला हिंसाको अवस्था चित्रित गर्दछ । बलात्कार जस्तो जघन्य अपराधको सिकार हुने महिला र बालिबालिकाको संख्या पनि बढ्दै गइरहेको पाइएको छ । केही महिना यता भएका घटना मात्र होइन पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने पनि जिल्लामा बलात्कारका घटना डरलाग्दो रूपमा देखिएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३८ वटा जबरजस्ती करणका मुद्दा दर्ता भएका थिए भने त्यसको पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७३÷०७४ मा ३५ वटा र गत आर्थिक वर्ष २०७४÷०७५ मा ३६ वटा बलात्कार सम्बन्धीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा पनि उल्लेख्य संख्यामा यस्ता उजुरी प्रहरीमा पुगेका छन् ।
कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ४० वटा बलात्कारका घटना भएका छन् । यी त सार्वजनिक भइ उजुरी तथा मुद्दा दर्ता भएका बलात्कारका घटना मात्र हुन् । त्यसबाहेक घर–समाजको डर, धाकधम्की, ज्यानकै जोखिम हुने, बेइज्जतिको डर आदिका कारण धेरै पीडित महिला, किशोरी तथा बालिकाले आफूमाथिको अत्याचार सार्वजनिक गर्न सकेका छैनन् । दर्ता भएका घटनालाई हेर्ने हो भने पनि बलात्कारका धेरै घटना आफन्तबाटै भएका छन् । बलात्कारका केही घटना अदालतसम्म पुगेका छन् भने केही अनुसन्धानकै क्रममा रहेका छन् । बलात्कारका कतिपय घटना भने प्रहरी कार्यालयसम्म पुग्दैनन् । बलात्कार जस्तो जघन्य अपराध पनि लेनदेनका आधारमा मिलापत्रमा टुंगिने गरेका छन् । विशेष गरी आफन्तबाट हुने बलात्कारका घटना प्रहरीसम्म आइनपुग्ने गरेको प्रहरीको भनाइ छ ।
हिंसाविरुद्ध अभियान
यसैबीच महिला हिंसाविरुद्धको १६ दिने अभियान सोमवारदेखि सुरु भएको छ । महिलामाथि हुने हिंसा रोक्न हरेक वर्ष संसारभर यो अभियान सञ्चालन गर्ने गरिन्छ । सोही अभियानको अवसरमा आइतवार वीरेन्द्रनगरमा दीप प्रज्वलन गरिएको छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले महिलाहरूलाई काम गर्ने मेशिनको रूपमा मात्रै हेर्न नहुने बताएका छन् । उनले भने, ‘हाम्रो समाजले महिलाहरूलाई काम गर्ने मेशिनको रूपमा मात्रै हेर्ने गरेको छ । यसको अन्त्य हुनु जरुरी छ । विभिन्न धर्म, संस्कार र सम्पत्तिका नाममा महिलाहरूमाथि हिंसा भएको छ ।’ हिंसाबाट पीडित महिलाहरूका लागी प्रत्यक्ष लाभ पुग्नेगरी कर्णाली प्रदेश सरकारले काम गर्नेसमेत उनले बताएका छन् । जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरूको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रूपमा महिला हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने गरिन्छ ।

प्रकाशित मितिः   १० मंसिर २०७५, सोमबार १५:४६