खानेपानीको अभाव टार्न स्रोत थपिदै

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ मंसिर ।
सुर्खेत उपत्यकाको खानेपानी समस्या टार्न स्रोत थप गरिने भएको छ । सुख्खायाममा खानेपानी अभाव हुन नदिन सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले स्रोत बढाउने योजना बनाएको छ । वर्षेनी खानेपानीको हाहाकार खेप्दै आएको उपत्यकामा वैकल्पिक स्रोत थप गर्न लागिएको हो ।


बढ्दो जनसंख्याको चापलाई मध्यनजर गरी तत्कालका लागि संस्थाले वीरेन्द्रनगर–१६ मा रहेको दमाई खोलाको पानी उपत्यकामा ल्याउने भएको छ । जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । दमाई खोलाको खानेपानी उपत्यकामा आएमा सात हजार धारा थप गर्न सकिने जनाइएको छ । सुख्खायाममा प्रतिसेकेण्ड १५ लिटर पानी दमाई खोलाबाट आपूर्ति गर्न सकिनेछ । उक्त पानीलाई करैखोलास्थित प्रशोधन केन्द्रमा मिसाइनेछ । जसका लागि साढे ६ किलोमिटर पाइप लाइन विस्तार गर्ने संस्थाले जनाएको छ । खरी र बोरीखोलाको पानी उपत्यकामा थप गरेको संस्थाले साढे ४ करोड लागतमा दमाई खोलाको पानी थप गर्ने तयारी गरेको छ ।
उक्त मुहान थप भएसँगै प्रतिसेकेण्ड एक सय ४० लिटर पानी वितरण हुने संस्थाले जनाएको छ । जसबाट तत्कालीन समस्या समाधान हुने र खानेपानीको हाहाकार उपत्यकावासीले बेहोर्नु नपर्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । हाल सुर्खेत उपत्यकामा दैनिक रूपमा १५ हजार पाँच सय ३१ निजी, एक सय १८ सामूहिक, तीन सय नौ वटा कार्यालय र संघ–संस्था गरी १५ हजार नौ सय ५८ धारामा पानी वितरण भइरहेको छ । संस्थाले तीन हजार आठ सय ८३ धारा जडान गर्न बाँकी रहेको जनाएको छ । वर्तमान अवस्थामा ३३ हजार घरधुरीमा बसोबास गर्ने एक लाख ८१ हजार ५ सय जनाले दैनिक रूपमा खानेपानी उपभोग गर्दै आएका छन् ।
वीरेन्द्रनगर प्रदेश राजधानी तोकिएसँगै जनसंख्या वृद्धि हुँदा खानेपानीको माग बढ्नु, विभिन्न निकायले समन्वय नगरी विकास निर्माणका काम गर्दा संरचनामा क्षति पुग्नुले खानेपानी वितरणमा चुनौती थपिएको अध्यक्ष देवकोटाले बताए । हाल पानी वितरणमा समस्या देखिएको भन्दै संस्थाले वीरेन्द्रनगरमा सबै वडाहरूमा सुरक्षित रूपमा पानीका पाइप विस्तार गर्ने योजना बनाएको छ । खरीखोला र बोरीखोलाको पानी थप भएसँगै ३३ प्रतिशत सेवा सञ्चालनमा सुधार भएको उनको दावी छ । न्यूनतम महशुल दर, व्यवस्थापन, सेवा विस्तार, मर्मत सम्भार, ऋण भुक्तानीलगायतका कार्य गरी सेवास्तर वृद्धि गर्न कठिनाइ भएको उनले जानकारी दिए ।
अहिलेलाई विभिन्न खोलाबाट स्रोत थप गरिए पनि दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्न संस्थाले लिफ्टमार्फत् भेरी नदीको पानी उपत्यकामा ल्याउने तयारी थालेकोे छ । तत्काल खानेपानी सञ्चालन भइरहेका मुहानबाट अपुग हुने भएकाले भेरीको पानी उपत्यकामा ल्याउने तयारी थालिएको हो । खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र खानेपानी आयोजना अन्तर्गत भेरीको पानी ल्याउन बजेट विनियोजन गरेको छ । पाँच वर्षमा आयोजना सम्पन्न गर्नेगरी विभागले चालु आर्थिक वर्षमा १० करोड रूपैयाँ विनियोजन गरेको छ । आयोजना निर्माणका लागि कुल २ अर्ब ९१ करोड रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।
उक्त आयोजना निर्माणका लागि विभागले टेण्डर आव्हानको तयारी गरेको अध्यक्ष देवकोटाले जानकारी दिए । उनका अनुसार आयोजना दुई भागमा विभाजन गरेर निर्माण गरिने भएको छ । भेरीदेखि वीरेन्द्रनगरको अमृत डाँडासम्म पहिलो चरणमा र अमृत डाँडादेखि उपत्यकाको वितरण ट्यांकीसम्म दोस्रो चरणमा आयोजना निर्माण गरिनेछ । भेरीबाट प्रति सेकेण्ड तीन सय ५० लिटर पानी उपत्यकामा वितरण हुनेछ । हाल १० वटा स्किमबाट उपत्यकामा खानेपानी वितरण गरेको संस्थाले थप ट्यांकी निर्माण गर्नेछ । प्रतिदिन उपत्यकामा १५ हजार चार सय २७ घनमिटर पानी आवश्यक छ । तर, १२ हजार आठ सय ७३ घनमिटर पानी उत्पादन हुने गरेको छ । यसरी हेर्दा दुई हजार पाँच सय ४८ घनमिटर पानी अपुग देखिएको संस्थाको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मितिः   ९ मंसिर २०७५, आईतवार १४:५२