जहाज भित्रै यात्रुको मृत्यु

साझा बिसौनी संवाददाता
मुगु, ८ मंसिर ।
रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ । शनिवार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कल साइनकलको उडान नम्बर ७१६ जहाजमा यात्रुको मृत्यु भएको हो ।
मुगु सोरु गाँउपालिका–८ गिलाहाँ गाउँका अन्दाजी ३८ वर्षीय धीरबहादुर शाहीको जहाजमै मृत्यु भएको आफन्तले बताएका छन् । यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेदीले भने यात्रु जहाजभित्र अचेत भएको खबर आएपछि तत्काल उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको बताएका छन् । रारा विमानस्थल तारा एयरका स्टेशन इन्चार्ज शेरबहादुर भामले बिरामीलाई प्राथमिकता दिने प्रावधान अनुसार मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरीपत्रमा हस्ताक्षर गराई तारा एअरको उडानबाट पठाइएको बताए । उता मृतकका दाइ नन्दबहादुर शाहीले भाइलाई जहाजमा पठाएर आफू घर फर्किदै गर्दा फेरि बोलाएर कागज गराइएको बताएका छन् ।
नन्दबहादुरका अनुसार घर फर्कदै गर्दा बीच बाटोमा तारा एअरलाइन्सका दुई कर्मचारी र दुई प्रहरीले नेपालगञ्ज जानुपर्ने भयो भनेर फेरि रारा विमास्थल पु¥याएर कागज गर्न लगाए । पोस्टमार्टमका लागि शव भेरी अस्पतालमा पु¥याइएको छ । आफन्तले भने यात्रु बीमा रकम नपाएसम्म शव नबुझ्ने बताएका छन् । रारा नागरिक उड्डयन कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि नेपालगन्जस्थित राँझा विमानस्थलमा जहाज अवतरण गर्ने बित्तिकै बिरामीलाई अस्पतालतर्फ लगेकोसम्मको खबर आफूले पाएको बताए । तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ यात्रु थिए । आफन्तले बिरामीको जहाजभित्र मृत्यु भएको बताए पनि तारा एयरले विमानस्थलबाट अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको दावी गरेको छ । बिरामी मञ्जुरीपत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ति दिनुपर्ने प्रावधान नागरिक उड्डयन ऐनमा उल्लेख छ ।

प्रकाशित मितिः   ९ मंसिर २०७५, आईतवार १४:५१