परीक्षाकेन्द्रमै झाडापखाला फैलियो

जाजरकोट, २२ चैत । एसएलसी(प्रवेशिका) परीक्षा सञ्चालन भइरहेको जाजरकोटस्थित एक परीक्षा केन्द्रमा झाडापखाला फैलिएको छ । जिल्लाको जनप्रिय उच्च माध्यमिक विद्यालय दशेरा परीक्षा केन्द्रमा दुइ दिनदेखि झाडा पखाला फैलिदा २ दर्जन बिरामी परेका छन् । 
झाडापखालाका कारण एसएलसी परीक्षामा खटीएका शिक्षक र परीक्षार्थी बिरामी परेका छन । बिरामीलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने गरेको जनाइएको छ ।
पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनबहादुर थापा र कल्पना गिरी समेत गरी डेढ दर्जन परीक्षार्थी बिरामी परेका छन । सबै बिरामीमा भाइरल ज्वरो र झाडापखालाको लक्षण देखा परेको स्वास्थ्यकर्मीहरुले बताएका छन । परीक्षाकेन्द्रमै पखालाका बिरामीको उपचार भैरहेको उनले बताए । 
झाडापखाला फैलिदा परीक्षार्थीलाई उत्तर लेख्न बाधा पुगेको छ ।  परीक्षाकेन्द्र आसपासमा दुषित पानी, सुरक्षित खानाको अभाव, जथाभावी दिसापिसाव गर्ने, परीक्षार्थी तथा अभिभावकको भीड लगाएत कारण रोग फैलिएको  बुझिएको छ । 
प्रकाशित मितिः   २२ चैत्र २०७२, सोमबार १२:०४