रजिस्ट्रारको कार्यशैलीप्रति असन्तुष्टि
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ मंसिर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा देखिएको विवादका विषयमा छलफल गरिएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संयुक्त आयोजनामा छलफल गरिएको हो ।
छलफलमा विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रबहादुर मल्लको कार्यशैलीका कारण विश्वविद्यालयमा तनाव उत्पन्न भएको भन्दै सहभागीहरूले आलोचना गरेका थिए । ‘रजिस्ट्रारको निर्देशनमा विगत २ महिनादेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ’ वार्ता समितिका संयोजक समेत रहेका डीन डा. मस्तबहादुर गरञ्जाले भने, ‘मलाई नेविसंघ सम्बद्ध विद्यार्थीहरूले अपहरणको शैलीमा नियन्त्रणमा लिएपछि वार्ता समेत हुन सकेन ।’
कार्यक्रममा नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कँडेलले विश्वविद्यालयभित्रको समस्या समाधान गर्ने जिम्मेवारी त्यहाँ कार्यरत शिक्षक तथा विद्यार्थीहरूकै भएको बताए । विद्यार्थीहरूलाई निर्माण कार्यको ठेक्का दिने, लिने प्रवृत्तिले विश्वविद्यालयको विकास नहुने उनले बताए । उनले भने, ‘सबै इमान्दार र सदाचार बन्नुपर्छ ।’ नेकपाका नेता मोहन बडुवालले विश्वविद्यालयमा भएको अभद्र, अमानवीय र शत्रुवत व्यवहारको भत्र्सना गर्दै समस्या समाधानका लागि पहल गर्न सम्बन्धित सबैलाई आग्रह गरे । रजिस्ट्रारको क्रियाकलापले शैक्षिक क्षेत्रमा गुण्डागर्दी स्थापित भएको उपप्राध्यापक कमलेश डिसीले आरोप लगाए ।
कार्यक्रममा विद्यार्थी नेताहरूले म्याद सकिएको स्ववियूको कुनै औचित्य नभएकोले स्ववियुका नाममा भइरहेका अवाञ्छित क्रियाकलाप अस्वीकार्य रहेको बताए । अनेरास्ववियू मप विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष गगनसिंह ठकुरीले स्ववियुको निर्वाचनको नयाँ मिति अविलम्ब घोषणा गर्नुपर्ने बताए । नेकपाका नेता रत्नबहादुर गाहाले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्ने जोड दिए ।
साझा बिसौनी ।