जोखिममा दुर्गमका आमाहरू

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ मंसिर ।
गत भदौ १५ गते मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ की जलदेवी रोकायाको सुत्केरी हुन नसकेर मृत्यु भयो । सुत्केरी व्यथाले च्यापेपछि उनलाई स्वास्थ्य चौकी नार्थुप पु¥याइएको थियो । तर, त्यहाँ सुरक्षित सुत्केरी गराउने व्यवस्था नभएपछि उनलाई जिल्ला अस्पताल लैजान भनियो । आफन्तले उनलाई सुरुमा घर लगे । जिल्ला अस्पताल लैजाने तयारी हुँदै थियो । तर, उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो ।


यस्तै गत जेठ १३ गते जुम्लाको तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी ज्ञानु भट्टराईको पनि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भयो । २७ वर्षीया भट्टराईको सुत्केरीका क्रममा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । त्यसैगरी कालिकोटको खाँडाचक्र नगरपालिकाकी चन्द्रा शाहीले पनि सुत्केरी अवस्थामै ज्यान गुमाइन् । सुत्केरी व्यथाले च्यापेपछि आफन्तले अस्पताल पु¥याए पनि अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गुम्यो । जिल्ला अस्पताल कालिकोट पु¥याइएकी उनलाई अस्पतालका चिकित्सकले तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए तर समयमै उनलाई सुविधायुक्त अस्पतालमा पु¥याउन नसक्दा ज्यान नै गुमाउनु परेको हो ।
उपचारको अभावमा सुत्केरीका क्रममा बाटोमै ज्यान गुमाउनु परेका यी प्रतिनिधि पात्र मात्र हुन् । कर्णाली प्रदेशका ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै आमाहरू सुत्केरीका क्रममा अत्याधिक रक्तश्राव तथा अन्य जटिलताका कारण ज्यान गुमाउन बाध्य छन् । ग्रामीण क्षेत्रमा भइरहेका यस्ता धेरै आमाहरूको मृत्यु त सार्वजनिक समेत हुन सकिरहेका छैनन् । दुर्गम क्षेत्रका महिलाहरूले हरेक वर्ष यसैगरी सुत्केरी अवस्थामा ज्यान गुमाइरहेका छन् । यहाँका गर्भवती र सुत्केरी महिलाहरूलाई समयमै अस्पताल पु¥याउन नसक्दा उनीहरूको अकालमै मृत्यु हुने गरेको हो ।
सरकारले मातृशिशु मृत्यु कम गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । नियमित गर्भ जाँच गर्नेदेखि संस्थागत सुत्केरी, सुत्केरी प्रोत्साहन भत्ता, न्यायो लुगा उपहार जस्ता विभिन्न कार्यक्रम भएपनि कर्णालीमा मातृशिशु मृत्युदर कम भएको छैन । यहाँका अधिकांश महिलाहरू असुरक्षित रूपमा घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ । यसकारण पनि महिलाहरूको ज्यान जोखिममा पर्ने गरेको छ ।
अर्कोतर्फ कर्णालीको अधिकांश जिल्लाहरू भौगोलिक रूपमा विकट छन् । विकासका पूर्वाधार अत्यन्तै न्यून छन् । सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । भएका स्वास्थ्य संस्थामा पनि दक्ष जनशक्ति र आवश्यक उपकरणहरूको अभाव छ । सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा पुगेका महिलाहरूले पनि ज्यान गुमाइरहेका छन् । भौगोलिक विकटताकै कारण यहाँको दुर्गमका आमाहरूको ज्यान जोखिममा परेको हो ।
सडकको सहज पहुँच नहुँदा सुत्केरी व्यथाले च्यापेपछि तत्काल सुविधायुक्त अस्पतालसम्म पु¥याउने माध्यम भनेकै हेलिकोप्टर हो । तर हेलिकोप्टर सबै नागरिकको पहुँचमा हुँदैन । कतिपय अवस्थामा हेलिकोप्टर बोलाउँदा बोलाउँदै पनि अत्यधिक रक्तश्रावका कारण गर्भवती र सुत्केरी महिलाहरूको ज्यान जाने गरेको छ । कर्णालीका दुर्गम गाउँमा दक्ष डाक्टर बस्न मान्दैनन् । सदरमुकाममा रहेका अस्पतालमा पनि आवश्यक उपकरणहरू छैनन् । जसले गर्दा पनि सुत्केरीलाई उपचारका लागि कम्तीमा सुर्खेत, नेपालगन्ज वा काठमाडौंसम्म लैजानुपर्ने बाध्यता छ । यही दुर्गमताका कारण वर्षेनी कर्णालीका आमाहरूले ज्यान गुमाइरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा दक्ष चिकित्सकको अभाव र भौगोलिक विकटताका कारण समयमै अस्पतालमा पु¥याउन नसक्दा पनि वर्षेनी गर्भवती महिलाहरूको बाटोमै ज्यान जाने गरेको छ ।
गाउँमा स्वास्थ्य संस्था नहुनु, दुर्गमका स्वास्थ्य संस्थामा पनि डाक्टर नै नबस्ने र सुरक्षित प्रसूतिका लागि सदरमुकामसम्म बोकेरै पु¥याउनुपर्ने बाध्यताका कारण पनि कर्णाली प्रदेशमा यस्ता समस्या दाहोरिने गरेका छन् । ग्रामीण क्षेत्रबाट जिल्ला अस्पतालसम्म पुग्न दुईदेखि चार दिनसम्म लाग्ने गरेको छ । लामो बाटोका कारण सुत्केरी व्यथा लागेको बेला अस्पतालसम्म पु¥याउनै समस्या हुने गरेको स्थानीयको गुनासो छ । जसले गर्दा हरेक वर्ष कैयौं गर्भवती महिलाहरूले अस्पतालको मुख देख्नै नपाएर बाटोमै ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७५, शनिबार १४:४२