सडक अवरुद्ध हुँदा सास्ती

साझा बिसौनी संवाददाता
डोल्पा, ७ मंसिर ।
डोल्पाको दुनै–जुफाल–सूँपानी सडक खण्ड अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । गत कार्तिक १९ गते बतासे डाँडामा जीप दुर्घटना भएपछि बन्द गरिएको सडक हालसम्म नखुल्दा स्थानीयले पैदल यात्रा गर्नुपर्ने बाध्यता बनेको छ ।
स्थानीय प्रशासनले सडक जोखिमपूर्ण भएको भन्दै यातायात सञ्चालनमा रोक लगाएको थियो । २० दिन बितिसक्दा पनि प्रशासनले सडक सञ्चालन गर्न अनुमति दिएको छैन । दुनै–जुफाल १२ किलोमिटर, दुनै–सूँपानी १६ किलोमिटर गरी करिव २८ किलोमिटर सडकमा विगत पाँच वर्षदेखि स्थानीयले जीपमा यात्रा गर्दै आएका थिए ।
अधिकतम तीन मिटर ट्रयाक निर्माण रहेको सडकमा यात्रा जोखिमपूर्ण भएको भन्दै जीप दुर्घटना पछि बन्द गरिएको हो । हाल बन्द गरिएको सडक मर्मत पश्चात मात्रै खोल्ने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको
छ । त्रिपूरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय र सुरक्षाबीच छलफल पश्चात दुनै–जुफाल सडक मर्मत गर्ने काम थालिएको छ । मर्मतको कार्य सकिए लगत्तै यातायात सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । सुरक्षाका हिसाबले निकै जोखिम रहेकाले स्थानीय तहसँग सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।
‘जनताका बाध्यतालाई मध्यनजर गर्दै मर्मतको काम तीव्र पारिएको छ’ उनले भने, ‘अब केही दिनमा जीपहरू सञ्चालनमा आउँछन् ।’ बतासे डाँडामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । एक जना हालसम्म पनि बेपत्ता छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७५, शनिबार १४:४०