यूट्युब हेरेर ‘बग्गी’ कार

जगतदल जनाला बिक
सुर्खेत, ७ मंसिर ।
सामाजिक सञ्जाल यूट्युबको सदुुपयोग गरेर सुर्खेतका एक युवकले कार बनाएका छन् । मोटरसाइकलको इन्जिन प्रयोग गरी सुर्खेतको पञ्चपुरी नगरपालिका–९ विद्यापुरका दर्पण खरालले कार गुडाएका हुन् । कक्षा १० मा अध्ययनरत दर्पणले कारको नाम ‘बग्गी’ दिएका छन् ।


‘यूट्युब हेर्दै, सामग्री जोड्दै कार बनाउने प्रयास गरें’ उनले भने, ‘आगामी दिनमा सबैको सहयोग पाएमा प्यारामोटर (उड्ने गाडी) बनाउने योजना छ ।’ उनले निर्माण गरेको कारको उद्घाटन प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उद्घाटन गरे । बाल्यकालदेखि नै प्राविधिमा चासो राख्ने दर्पणले यसअघि पनि विभिन्न सामग्री निर्माण गरेको बताएका छन् । केही महिनाअघि रिमोट कन्ट्रोलर कार, अटो अनअफ लाइट (रातीमा आफैं बल्ने र दिउँसोमा अफै निभ्ने बत्ती) र पानीको उचाइ नाप्ने यन्त्रसमेत बनाएका थिए । उनी अहिले कक्षा दशमा अध्ययन गर्छन् । ‘ग्यारेजले फालिएका सामान र मानिकेज सुर्खेतबाट सामान ल्याएर कार बनाएको उनले बताए । तीन लाख रूपैयाँ लागतमा निर्माण भएको कार दुई सिटेछ । त्यसको पछाडि पट्टि जोडे पछि पाँच सीटसम्म राख्न सकिनेछ ।
मोटरसाइकलका इन्जिनहरू, पुराना टायरहरू, फलामका सामग्रीहरू प्रयोग गरिएर निर्माण गरिएको कारले पूर्ण आकार भने पाइसकेको छैन । पुरानो मोटरसाइकलको इन्जिनमा अन्य सामग्री जडान गरेर कारको निर्माण गरेका उनले सबै इन्जिन नेपालमै उपलब्ध भए ११ लाखमै कार निर्माण गर्न सकिने दाबी गरे । मन्त्री बुढाले दर्पण जस्ता क्षमतावान प्रतिभालाई सरकारले लोप हुन नदिने बताए । उनले उक्त कार प्रदेश सरकारले खरिद गर्ने बताए । ‘कार निर्माणमा लागेको मूल्य प्रदेश सरकारले बेहोरेर यो कारलाई संग्रहालयमा राख्छ’ मन्त्री बुढाले भने, ‘सफल परीक्षणपछि प्रदेश सरकारले दर्पणलाई सहयोग गर्छ ।’

प्रकाशित मितिः   ८ मंसिर २०७५, शनिबार १४:३७