गाउँको सेवा गर्ने लक्ष्य
पलाता गाउँपालिका–७ कालिकोटका रतन विष्ट वि.सं. २०५७ साल वैशाख ४ गते घरको माइलो छोराको रुपमा जन्मिएका हुन् । बुबा दलबहादुर विष्ट र आमा जना विष्टको कोखबाट जन्मिएका रतन पढाइको शिलशिलामा वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका छन् । राष्ट्रिय प्राविधिक शिक्षालय सुर्खेतमा आयुर्वेदिक अहेब अध्ययन गर्दै गरेका उनी प्राविधिक शिक्षा नै जीवन उपयोगी भएको बताउँछन् । कलेज जीवनलाई उद्देश्यमूलक बनाउनको लागि खम्बा भएको बताउने रतन विष्टले आफ्नो कलेज लाईफको कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाएः
मेरो बुबाआमाले मलाई डाक्टर भएको हेर्न चाहानुहुन्छ । त्यसैले मैले स्वास्थ्य क्षेत्र पढ्न थालेको हुँ । मलाई नि स्वाथ्य क्षेत्र एकदमै राम्रो लाग्ने । मैले वि.सं. २०७२ सालमा एसएलसी पास गरें । श्री दुधेशिल्लो माध्यमिक विद्यालय बिसैनकोट कालिकोटबाट मैले एसएलसी पास गरेपछि सीएमए पढ्ने रुची थियो । सीएमए पढ्नका लागि म सुर्खेत आएँ तर प्रवेशिका परीक्षामा दुई पटकसम्म पास भइनँ र अन्त्यमा आयुर्वेदिक अहेबमा नाम निकालेपछि यही विषय पढ्न थालेको हुँ ।
मेरो बुबा–आमाको पनि सपना छोरो सीएमए पढोस् भन्ने नै थियो । जे भए पनि स्वास्थ्य क्षेत्र पढेर छोरो डाक्टर बनोस् भन्ने मेरो बुबा–आमाको सपना छ ।
मेरो कलेजको पहिलो दिन खासै रमाइलो भएन । किनभने म कालिकोटको एउटा गाउँबाट आएको मान्छे, यहाँको वातावरण एकैदिनमा घुलमिल हुन निकै अप्ठ्यारो थियो । साथीहरू पनि सबै नयाँ नै थिए र ठाउँ पनि नयाँ भएकोले मलाई एकदमै अप्ठ्यारो भयो । कलेजबाट फर्कंदा पनि खासै रमाइलो महसुस भएन । किनभने भोलि पनि एक्लै पर्ने डर मनमा भइरह्यो ।
जे भए पनि प्राविधिक क्षेत्र जीवन उपयोगी छ । म कलेज बाहेकका समय अधिकांश घरमा पढेरै बिताउने गर्दछु । कलेजको पढाइ र विद्यालयको पढाइमा मलाई धेरै भिन्नता लाग्यो । विद्यालयमा जबरजस्ती मन नपरेको विषय पनि पढ्न पर्ने तर कलेजमा आफूले रोजेको विषय पढ्न पाइने रहेछ । आफूले रोजेको विषय पढ्न पाईने भएकोले मलाई कलेजको सबल पक्ष यहि लाग्यो ।
कलेजको दुर्वल पक्ष भन्नुपर्दा एका बिहानै उठेर जानुपर्ने त्यो मलाई अली राम्रो लागेन । त्यो पनी कलेजबाट फर्किए पछि आफै खाना पकाएर खानुपर्ने हामी जिल्ला छोडेकाहरू विद्यार्थीहरूको बाध्यता पनि हो ।
विद्यालय पढ्ने समयमा बिहानै घरबाट खाना खायो विद्यालय नपुग्दै भोक लागिहाल्थ्यो । भौगोलिक विकटता भएको क्षेत्रमा त विद्यालय पुग्नै दुई घण्टा लाग्ने त्यसैले धेरै भोक लागेको बेलामा बाटोमा काँक्रा खुब चोरिन्थ्यो । कति पटक त विद्यालयमा र घरमासमेत काँक्रा चोरेको भनेर सजाय पनि पाइयो । तर कलेजमा भने समयले नै अुनशासित बनाएको छ ।
पढ्नकै लागि भनेर जिल्ला नै छोडेर आइएको छ । बुबा–आमाले जेनतेन कृषि गरेर प्राविधिक शिक्षा पढाइ दिनुभएको छ । यहाँ अुनशासनमा बस्न सकिएन भने भविष्य बिग्रन्छ ।
मैले कलेजमा क्लास बंक कहिल्यै गरेको छैन । फिल्म पनी कहिले काहीं साथीहरूको करमा गइन्छ त्यो पनि बिदाको समयमा । धेरै जसो पढाइमा नै व्यस्त हुने गरेको छु ।
प्रेमको परिभाषा मलाई आउँदैन । कसैसँग प्रेम पनि गरेको छैन । यो उमेर पढ्ने उमेर हो त्यसैले पनि अहिले नै प्रेममा लागियो भने भविष्यमा सोचे जस्तो उपलब्धि हुँदैन त्यसैले पढाइलाई मात्रै मैले महŒव दिएको छु ।
म र मेरो बुबा–आमाको सपना स्वास्थ्य क्षेत्रबाटै केही गर्नुपर्छ भन्ने हो । त्यसैले मेरो बुवाआमाले पनि आफूले खेतीपाती गरेरै भए पनि प्राविधिक शिक्षा पढाउनु भएको छ । मेरो भविष्यमा असल स्वास्थ्यकर्मी बन्ने रहर छ । त्यो पनी सरकारी सेवामा प्रवेश गरेर । सकेसम्म आफ्नै गाउँमा गएर सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
साझा बिसौनी ।