विप्लवको निशानामा स्थानीय सरकार
साझा बिसौनी संवाददाता
सुर्खेत, २ मंसिर ।
गत मंसिर १० गते डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा तोडफोड भयो । कार्यालयमा राखिएका बोर्डहरू फालियो । गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले पार्टीको नाम अंकित साइनबोर्ड टाँगेर कब्जा गरे । दुईवटा गाउँपालिकाका मुख्य कार्यालयमा विप्लवको झण्डा र गाउँपालिकास्तरीय जनसत्ताको कार्यालय लेखिएका ब्यानर राखियो ।
विप्लव समूहले स्थानीय सरकारमा निशाना साँधेको यो पहिलो घटना भने होइन । त्यसअघि र पछि पनि कर्णालीका विभिन्न स्थानीय तहमा तोडफोड, आगजनी लगायतका घटना भइरहेका छन् । तर कतिपय घटनामा विप्लव समूहको प्रत्यक्ष संलग्नता देखिए पनि कतिपयको भने अझै खुल्न सकेको छैन । यद्यपि स्थानीय प्रशासनले भने स्थानीय सरकार विप्लव समूहको निशानामा रहेको आशंका गर्दै आएको छ । यसअघि विज्ञप्ती नै निकालेर स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई निशानामा पार्ने जनाएको विप्लव समूहले यतिबेला कर्णालीका विभिन्न स्थानमा आफ्नो गतिविधि बढाइरहेको छ ।
शनिवार राती जुम्लाको दुई वटा स्थानीय तहमा आगजनी र तोडफोड भएको छ । जसमा पनि विप्लव समूहकै संलग्नता रहेको आशंका प्रशासनको छ । चन्दनाथ नगरपालिका र गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड भएको हो । आगजनीबाट नगरपालिकाको गाडी पूर्णरूपमा क्षति भएको छ भने तोडफोडबाट कार्यालयमा राखिएको सम्पूर्ण सामग्री ध्वस्त पारिएको छ । नगरपालिकामा ४० लाखको गाडी र गाउँपालिकामा १५ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । ‘कार्यालयमा राखिएको सम्पूर्ण सामग्रीमा क्षति पुगेको छ’ गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले भने, ‘आगलागीबाट क्षति हुँदा गाउँपालिकाको काम प्रभावित भएको छ, तोडफोडमा विप्लव समूहका व्यक्तिको संलग्नता रहेको अनुमान छ ।’ शनिवार राती १० बजे कार्यालयमा अज्ञात समूहले कब्जा गरेका थिए । समूहमा आएका व्यक्तिहरूले कार्यालयको सुरक्षाका लागि बसेका कविराज खत्रीलाई धम्काएका थिए । ‘राती कार्यालयमा हल्ला भएपछि चौकीदारले गाली गरेछन्’ खत्रीलाई उद्धृत गर्दै अध्यक्ष भण्डारीले भने, ‘केही समय विवाद पछि कार्यालय ध्वस्त बनाउने धम्की दिएर चौकीदारलाई नियन्त्रणमा लिइएछ ।’
चौकीदार खत्रीले कार्यालय तोडफोड गर्दा आफूलाई नियन्त्रणमा लिएको बताएको उनले जानकारी
दिए । कार्यालयमा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्न राखिएको सीसी क्यामेरासमेत फुटालिएको छ । समूहमा आएका व्यक्तिहरूमध्ये एक जनालाई चिनेको बयान चौकीदारले प्रहरीलाई दिएका छन् । बयानका आधारमा विप्लव समूहका ती व्यक्तिको नाम गोप्य राखेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चन्दनाथ नगरपालिका परिसरमा राखिएको क १ झ १ नम्बरको गाडीमा आगजनी भएको छ । नगरपालिकाका चौकीदार विष्णुप्रसाद न्यौपाने निदाइरहेका बेला अज्ञात समूहले गाडीमा आगजनी गरेका थिए । अज्ञात समूहले नै गेट ढकढक्याएपछि आगजनी भएको थाहा पाएको बयान चौकीदार न्यौपानेले दिएका छन् । नगरपालिका कार्यालय परिसरमा भरपर्दाे पर्खाल छैन । बालबालिका समेतले चढ्नसक्ने सामान्य पर्खाल छ ।
अगाडि गेटबाट कार्यालय परिसरभित्र पस्न सक्ने वातावरण नभए पनि अन्य ठाउँबाट भने खुल्ला जस्तै छ । आगजनी पछि अज्ञात समूहले नै चौकीदारलाई उठाएका थिए । चौकीदार न्यौपानेले गाडीमा आगलागी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगजनीबाट गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ । तारवार र भरपर्दाे सुरक्षा व्यवस्थापन नहुँदा गाडीमा आगजनी भएको जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हालसम्म दुवै घटनाको दोषी को हो भन्नेबारेमा खुल्न सकेको छैन । तर स्थानीय प्रशासनले पनि विप्लव नेतृत्वका पार्टीलाई शंकाको घेरामा राख्दै आएको छ ।
जनप्रतिनिधि निर्वाचित भएपछि स्थानीय तह विप्लवको निशानामा छन् । अर्धभूमिगत शैलीमा रहेको विप्लव समूहका कार्यकर्ताबाट तोडफोड र आगजनी भएको आशंकामा जनप्रतिनिधि त्रसित बनेका छन् । एकैराती जुम्लाका दुई स्थानीय तहमा आगजनी
र तोडफोड भएपछि गाउँपालिका महासंघले ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तह अज्ञात समूहको निशानामा रहेकाले तत्काल सुरक्षा व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने गाउँपालिका महासंघ कर्णाली प्रदेश अध्यक्ष कविन्द्रकुमार केसीले बताए । ‘स्थानीय तहका कार्यालय र सवारी साधन माथि तोडफोड र आगजनी हुनुले दुःखी तुल्याएको छ’ अध्यक्ष केसीले भने, ‘भौतिक संरचनामाथि भएको त्रासपूर्ण कार्यले जनप्रतिनिधिले पनि असुरक्षा महसुस गरेका छौं ।’ स्थानीय प्रशासनले सुरक्षा व्यवस्थापनबारे छलफल गरेको छ । स्थानीय तहमा भएका घटनाहरूबारे प्रशासनलाई थप सुरक्षा चुनौती थपिएको निश्कर्ष सुरक्षा समिति जुम्लाको बैठकले निकालेको छ ।
साझा बिसौनी ।